शिवु खनाल । दाङ ।
सुनसान सडक र घना वन जंगल । छेवैमा भारतीय क्षेत्रमा रहेको सोइलवा राष्ट्रिय निकुञ्ज । विभिन्न जंगली वन्यजन्तु बाघ भालुको डरत्रास । राजपुर गाउँपालिका वडा नम्बर ६ कल्याणपुर नाका निवासी सञ्जिता घर्ती मगर खांग्रानाकास्थित बाल कल्याण माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्छिन् । उनलाई विद्यालय भेटाउन करिब दुई घण्टा पैदल हिँड्नु पर्ने बाध्यता छ । सीमावर्ती क्षेत्रका प्रायः सबै विद्यार्थीले घण्टौं पैदल विद्यालय जान बाध्य छन् ।
गाउँमा मावि तहका विद्यालय नहुँदा सीमा नाकाका विद्यार्थीहरू घना जंगलको बाटो हुँदै करिब पाँच किलोमिटर पैदल हिँडेर अध्ययन गर्न बाध्य भएका हुन । अझ बर्खामा त जोखिमपूर्ण यात्रा हुने सञ्जिताले बताइन् । ‘अहिले बिहान एक घण्टा ओरालो र बेलुका एक घण्टा उकालो हिँड्दा विद्यार्थीहरुलाई हैरानी हुने गरेको छ,’ उनले भनिन् । यता राजपुर गाउँपालिका वडा नम्बर ६ कल्याणपुर नाकाका रविना पुनले बाघभालुको डरत्रासमा विद्यालय जानुपरेको दुखेसो सुनाइन् । उनी सोही विद्यालयमा ६ कक्षामा पढ्छिन् । स्कुल जाँदा बाघभालुको डरसँगै भारतीय नागरिकको डरत्रास लाग्ने उनको भनाइ छ ।
‘विद्यालय जाँदा एक्लै कहिल्यै हिँड्दैनौं,’ उनले भनिन्, ‘सधैं १२/१५ जनाको समूह बनाएर जान्छौं ।’ यो कुरा विद्यार्थीको रहर नभएर बाध्यता भएको उनले बताइन् । त्यसैगरी राजपुर गाउँपालिका वडा नम्बर ६ अडबरुवा, बैरहवा, गौरियानाका र वडा नम्बर ७ बाट गन्धैला, छेगरीया, डगमारा, गम्भीरालगायतका विभिन्न सीमा नाकाका गाउँहरुबाट विद्यार्थीहरु पढ्नका लागि सीमावर्ती विद्यालयमा आउने गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर रोकाले जनाए ।
बर्खामा गर्मी छल्न लेकको बस्तीमा बस्दा केही वर्ष अगाडि घुम्ती विद्यालय सञ्चालनमा आएको भए पनि अहिले उक्त पाँच कोठे भवन जीर्ण भएको विद्यालयका प्रधानाध्याक रामसुरेश यादवले जनाए । उनका अनुसार नाकाबाट ३६ जनाभन्दा बढी विद्यार्थी दैनिक दुईघण्टा समय लगाएर विद्यालयमा आउजाउ गर्नुपर्ने अवस्था रहेको बाल कल्याणपुर माविका प्रधानध्यापक रामसुरेश बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्