मानव मूल्यको तराजुमा ‘स्वस्पर्श’ले समेटेका सवालहरू



जीतबहादुर शाह

डा. नवराज केसीकृत स्वस्पर्श पुस्तक मलाई पूर्ण रुपले पढेर सिध्याउन एक महिना लाग्यो । त्यसो त पानाहरु धेरै पनि छैनन् । पढ्नै पर्ने पानाहरु दुई सय सत्तरी मात्रै छन्। मलाई किताब पढ्न मन नलागेर ढिलो भएको पनि होइन । स्वस्पर्शले वाक्यपिच्छे र अनुच्छेदपिच्छे स्पर्श गर्न थालेपछि मेरो पढाइको यात्रा लम्बिएको हो । घरैपिच्छे पाहुनालाई आमन्त्रण गरेर स्वागत गर्न थालेपछि एउटै गाउँ र एउटै टोलमा एकजना पाहुनालाई महिनादिन बितेको अत्तोपत्तो नभएझैँ भयो मलाई । हरेक वाक्य, हरफ र अनुच्छेदहरुले मलाई पढ्नेबित्तिकै त्यहीनेर अडिएर घोत्लिन बाध्य बनाएपछि म त्योभन्दा अघि बढ्नै सकिन । मन र मुटु त्यहीँनेर रोकिएपछि मेरा आँखाहरुले अर्को अनुच्छेद र पानातिर यात्रा गर्नु भनेको मन र मुटुमाथि अन्याय हुन्छ भन्ने ठहर गरेर त्यहीँ रोकिए । कति वाक्य र अनुच्छेद एवम् शीर्षकहरु पढेपछि मैले दिनभर त्यसैको बारेमा चिन्तन गर्दै घण्टौँ बिताएका अवस्थाहरु पनि छन् । के छन् त त्यस्ता घटना र परिघटनाहरु मैले पढेको डा. नवराज केसीको स्वस्पर्शमा ? त्यो स्वस्पर्शमा भएको के कुराले सोच्न बाध्य बनाए त यो मान्छेलाई ? यस्तै विचार र तरङगहरुलाई मुठो पारेर पस्किने जमर्को गरिएको छ यो छोटो आलेखमा । लेखकले किताबको सुरुमै जाजरकोटको दुर्गम गाउँमा जन्मिएका जङ्गबहादुरको कथा छ । जसलाई पत्रकार प्रकाश पन्तको पहलमा सुर्खेत अस्पतालसम्म ल्याएर लेखक (चिकित्सक)लाई देखाउने काम गरिन्छ । हातखुट्टा जिउ केही नचल्ने जङ्गबहादुर नामको उक्त बालकको हात चलेको दिन उसको आमाको आँखाबाट हर्षका आँसु बगेको लेखकले देख्छन् र लेख्छन् ः ‘दुःखमा बग्न बनेको आँसु सबैभन्दा धेरै खुसीमा बगाउने गर्छ मान्छे ।’ तीन महिनाको लागि औषधि र पोषण बोकेर गएकी आमा त्यसपछि भने छ महिना नाघिसक्दा पनि सम्पर्कमा आउँदिनन् । लेखक जाजरकोट भूकम्पको समयमा जाजरकोट पुगेको समयमा उकालो र जङ्गलको बाटो पार गरेर उक्त बच्चालाई भेट्न उसको घरसम्म पुग्छन् आफैँले औषधि बोकेर । अफशोच, जङगबहादुरको बाबालाई डाक्टर आफ्नो छोराको निम्ति ओखति ल्याएर घरसम्म आएको भने भित्रभित्र मन परिरहेको हुँदैन । कारण उनको छोरा हिँडडुल गर्ने भयो भने सरकारले दिने अपाङ्गतावापतको भत्ता उनको छोरालाई दिन बन्द गर्दो रहेछ । जुन भत्ताले उनलाई रक्सी खानका लागि सहयोग गरेको थियो ।

स्वस्पर्शमा यो कुरा पढिसकेपछि मेरो मन र मस्तिष्क केही दिन किताबको त्यो पानाभन्दा अघि बढ्नै मानेन् । मैले एउटा चिकित्सकले जन्मदिने बाबाआमाले भन्दा पनि नजिकको मान्छे भएर काम गर्न सक्दोरहेछ भन्ने कुराले अन्तर्दृष्टिमा रजगज ग¥यो । यस्तैमा लेखकले लेख्छन् ः ‘एउटा चिकित्सकको डाक्टरी जीवन जागिर मात्र होइन रहेछ, विद्या मात्र होइन रहेछ, यो त आफैँमा एउटा नाता पनि रहेछ ।’ उनको यस्तै सोच र व्यवहारको कारण उनलाई बिरामी भएर आउने केटाकेटीहरुले डाक्टर मामा भनेर बोलाउने गर्दछन् भने आमाहरुले डाक्टरलाई भेट्दा माइतीलाई भेटेको अनुभूत गर्दछन् । अर्कोतिर छोरालाई अपाङ्ग नै रहोस् भनेर मनको भगवानसँग पूजा गर्दै उसको निम्ति आउने भत्ताले बिजुली पानी पिएर मात्तिने अभिभावकको ध्येय पढेर भने हजारपटक उसको मुखमै थुक्न मन लाग्यो । परिकल्पना गरे कि यस्तै चिकित्सकको बढोत्तरी हुँदै जाने र यस्ता अभिभावकलाई स्रष्टाले अभिभावक हुने अवसरबाट समेत वञ्चित गरिदिने हो भने यो दुनियाँ मानवता, हार्दिकता र हर्षका आँसुले बनेको खुसीको चुचुरो त सगरमाथाभन्दा पनि अग्लो हुन्थ्यो होला ! जङ्गबहादुरको कथापछि कालीकोट घर भएको अर्को जिन्दगीको कथा सुरु हुन्छ । लेखक आफू बालरोग विशेषज्ञ हुन् भने उनकी पत्नी डा. अर्चना कुष्ठरोग विशेषज्ञ हुन् । उनीहरु दुवै एक बिहान देउतीबज्यैको मन्दिरबाट फर्किँदै गर्दा माग्नेहरुको लाइनमा एकजना तन्नेरीजस्तै देखिने मान्छेलाई पनि देख्छन् । किन माग्न बसेको भनेर उक्त तन्नेरीलाई डाक्टर दम्पत्तिले सोध्ने क्रममा उसले कुष्ठरोगको कारणले झर्न थालेका हातका औँलाहरु देखाउँछ । डा. अर्चनाले भोलि अस्पताल आउनु सब ठिक हुन्छ, पैसा पनि लाग्दैन भनेपछि उक्त तन्नेरी भोलिपल्ट अस्पताल पुग्छ । सोध्दै जाँदा उसको नाम गर्वे हुन्छ । अझ अघि बढ्दै जाँदा उनी पहिले शिक्षक पनि रहेछन् । एकदिन विद्यालयमा स्वास्थ्य शिविर सञ्चालनको क्रममा उनको स्वास्थ्य परीक्षण गर्दा स्वास्थ्यकर्मीले कुष्ठरोग लागेको भनेपछि गाउँलेहरु मिलेर उनलाई गाउँमा बस्न नदिने निर्णय गरेछन् । त्यसपछि गर्वे दाई अर्धबेहोस जस्तो भएर गाउँबाट मान्मतिर लाग्छन् । लामो बाटो हिँडेर मान्म पुग्नै लाग्दा पछाडितिर फर्केर हेर्दा त उनकी सानी छोरी पनि पछिपछि आइरहेको देख्छन् ।

छोरीलाई देखेपछि गर्वेले छोरीलाई अलि परै रोकेर घर फर्किन आग्रह गर्छन । आफूसँग हिँडेपछि यो रोग तिमीलाई पनि सर्छ भनेर कत्ति भन्दा पनि छोरी बाबालाई छोडेर जान मान्दिन । अन्तिममा गर्वेले छोरीलाई ‘म उपचार गर्न भारत जान्छु, उपचार गरी निको भएपछि घर फर्किन्छु भनेपछि छोरी रुँदैरुँदै घर फर्किन्छिन् । यो गर्वे दाइले डाक्टरलाई सुनाएको कथा हो । आफ्नो अभिभावक अर्थात् बाबालाई सारा गाउँलेले लखेटेर गाउँनिकाला गर्दा पनि छोरीले छोड्न नसकेर पछिपछि लागेर आएको घटनाले पनि मलाई किताबका थप पाना पल्टाउन नदिएर त्यहीँनेर घोत्लिन बाध्य बनायो । आँखा रसाए । लेखकले यही घटनालाई शिरोधार्य गर्दै निष्कर्ष वाक्य लेखेका छन् ः ‘जीवनमा कहिल्यै एक्लो हुनु नपरोस् भनी भाकल गर्नेहरुलाई देवताले छोरी दिँदा रहेछन् ।’ लेखकको अनुभवमा पनि डाक्टरी पेसा गर्दैगर्दा बिरामी अभिभावकलाई उपचार गर्न र कुर्नका लागि आउने आफन्तहरुमध्ये छोरीको सङ्ख्या अत्यधिक हुने गर्दछ । मलाई पनि यस्तै लाग्छ, कतै आमा, कतै छोरी, कतै प्रेमिका त कतै अर्धाङ्गिनीको भूमिका निर्वाह गर्दै मानवतालाई बचाइराख्ने जिम्मेवारी काँधमा बोक्नेहरु यो धर्तीमा नारी जाति नै अधिक रहेछन् । कृतिकारसँग सम्पर्कमा आएको अर्को व्यक्ति हुन् दैलेख घर भएको मन्दिरे । जसको एउटा हात थिएन । भारतमा काम गर्ने क्रममा उनको हात करेन्ट लागेर गुमाउनु परेको थियो । जीवनप्रति जन्मजात र प्राकृतिक हिसाबले खुसी हुने मान्छे । डाक्टरसँग उनले भन्ने गर्थे ः ‘एउटा हात काटियो र त मैले आफ्नो जिन्दगी जोड्न सिकेँ । उनी एउटा भारी बोकेर जीवन धानिरहेको मान्छे । लेखक आफू डाक्टर भएर पनि आफूभन्दा दशौँ गुना खुसी भरिएको देखेपछि लेखकले खुसी हुनका लागि समेत मन्दिरेलाई आफ्नो कार्यकक्षमा बोलाएर सँगै चिया पिउन बानी परे । लेखकले मन्दिरेको अनुहार पढेर लेखका छन् ः ‘कस्तो दुर्लभ अनुहार, जसमा कसैले मुस्कानको स्वीच अन गरेर छोडिदिएको छ । अफ गर्नै बिर्सिएछ ।’ मन्दिरेले समेत लेखकको अगाडि सधैँ भन्ने गर्थे –‘मलाई भगवानले खुब हे¥या छन्, सबकुछ दिया छन् । ७२ वर्ष पुगेँ । कहिलेकाहीँ लाग्छ, कतै मर्दै नमर्ने मान्छे त हुनेहोइन म । त्यसैले नाम पनि भगवानको घर जस्तोजस्तो छ मेरो ।’ लेखकले मन्दिरेलाई दुःख महसुस गर्ने यन्त्र हराएको मान्छे भनेर पनि सम्बोधन गरेका छन् । मानवता प्रवर्धनका लागि मन्दिरेजस्तै सकारात्मक सोच भएको मानिस हुनु पनि त्यत्तिकै आवश्यक छ भन्ने लाग्छ मलाई यो धर्तीमा ।

कृतिको अर्को चर्चामा लेखककै नामसँग मिल्ने अर्को साथी भेटाउछन् जसले आफूलाई भेडा (सिधासाधा प्राणी) उपनामले चिनाउँन रुचाउछन् । भेडाले सबै मोटाउने राजधानीमा एउटा कुकुर हाडछालाको मात्रै भएर फोहरको थुप्रोमा मरेका जिउँदो पहिचान नहुने गरी पल्टिरहेको भेट्छन् । नजिकै गएर हेर्छन, उसलाई कसैले खान नमिल्ने गरी डोरीले मुख बाँधिदिएको हुन्छ । त्यसकारण कुकुरले खाना नपाएर मर्ने अवस्थामा हुन्छ । भेडा गएर उसको मुख खोलिदिन्छन् । दिएको खाना खान्छ । भेडालाई माया गर्न थाल्छ, कुकरले । नेपालगन्जको राँझा चोकमा भेटिएको घाइते बाच्छीलाई भेटनरीमा लिएर उपचार गराउँछन् । पशु चिकित्सकले छाडा गाइगोरुलाई उपचार गर्ने हाम्रो जागिर होइन भनेपछि भेडाको प्रतिक्रिया हुन्छ ः ‘जागिर नहोला तर धर्म त होला नि ! धर्म मारेर गरेको जागिरले के गर्ने विचार छ ?’ उनको यो भनाइले पनि निकैबेर घोत्लिनु प¥यो मैले । सुर्खेत सिद्धपाइलाको डाँडाको जङ्गलमा भेटिएको गिद्धलाई भेडाले निकै मेहेनत गरेर उपचार गरेपछि चितवन सौराहासम्म लिएर छोड्ने काम गरे । पशुपन्छीहरुको उपचार र सेवा गर्दागर्दै अब त भेडाले मानिस भन्दा पशुपन्छी नै बढी मन पराउँछन् । उनलाई पनि पशुपन्छीले नै मन पराउँछन् । आफ्नै कारणले अरुलाई खुसी देख्दादेख्दै डिप्रेसन, सुगर, प्रेसर लगायतका रोगबाट ग्रसित भेडा हिजोआज कुनै ओखति खान नपर्ने गरी स्वस्थ भइसकेको कुरा लेखक आफ्नो कृतिमा लेख्छन् । मलाई भने शिक्षाले मानिसलाई चलाख र टाठोबाठो बनाउनु भन्दा यस्तै भेडाजस्तो बनाउने भए कति जाति हुन्थ्यो होला भन्ने लागिरह्यो र लागिरहेको छ । कर्णाली चिसापानीको पुलमा गएर मर्ने निर्णय गरी अन्तिम पटक कृतिकारलाई फोन गरेकी सुर्खेत चिङ्गाडकी पोलियोको कारण एउटा खुट्टा गुमाएकी नानीलाई लेखकले ‘आज नै त्यस्तो निर्णय नगरिहाल्नु’ भन्दै भेट्न मन भएको कुरा गर्छन् । ती नानीले ‘किन भेट्ने ?’ भनेर प्रतिप्रश्न गर्दा लेखकको जवाफ हुन्छ ः ‘सानैमा पोलियो भएर अपाङ्गता भएकी । मामामाइजुसँग हुर्किएर दैलेखबाट सुर्खेतसम्म आएर विश्वविद्यालयसम्म पढ्न सक्षम तपाईँको जीवन प्रेरणादायी लाग्यो, त्यसैले ।’ लेखक अर्थात् डाक्टरको यत्ति शब्द सुनेपछि उनले फोन काट्छिन् । फोनमात्र काट्दिनन् । बाँच्ने आशाका साथ भोलिपल्ट लेखकलाई भेट्न जान्छिन् ।

किताबमा आमा मरेपछि खाना नखाएर मृत्युको मुखमा पर्न थालेकी जाजरकोट ध्यारगाउँकी सानी दुधे नानीलाई उनकै आमाको मोबाइल खोजेर आमाले बनाएको टिकटक देखाएपछि खाना खान थालेको र स्वस्थ हुँदै गएको घतलाग्दो घटना उल्लेख छ । किताबमा एसओएसमा अध्यापन गरेर निवृत्त भएकी निसन्तान शिक्षिकाले आफ्ना विद्यार्थीहरूले आफ्ना सन्तानले भन्दा औधी माया गरेको कुरा उल्लेख छ । हरेक घटनाहरु जब किताबमा आरम्भ हुन्छन्, अन्त्य नहुँदासम्म पटकपटक रोकिएर घोत्लिन बाध्य बनाउने गरी लेखिएका छन् । कृतिमा चर्चा गरिएका उल्लिखित घटनाहरु परिकल्पना गरिएका होइनन् बरु कृतिकारले भोगेर लेखिएका हुन् । जब मानिसले कर्म गर्दा जागिरको मात्र ख्याल नगरी धर्म (परोपकार, सेवा)को पनि ख्याल गर्छ, अनि एउटा चिकित्सक पनि वरिष्ठ साहित्यकारको रुपमा जन्म हुन सम्भव हुन्छ भन्ने कुरा डा. नवराज केसीको प्रस्तुत कृति पढेपछि आभास भयो । भाषा, शब्द र शैली पनि डाक्टरको जस्तो नभइ सिद्धहस्त साहित्यकारको उचाइमा पुगेका छन् । कुडा कर्णालीमा कृतिकारको कुरा सुनेर मैले सुर्खेतमा जागिरे हुँदा ‘एउटा चिरपरिचित चिकित्सकको चर्चा’ शीर्षकमा एउटा आलेख लेखेर पत्रिकामा समेत प्रकाशित भएको थियो र त्यो आलेख मेरो पुस्तक ‘समय एक सन्दर्भ अनेक’मा पनि सङ्कलित छ । कृतिकारको अघिल्लो कृति शून्यको मूल्य पनि पठनीय कृति मात्र नभइ कर्णालीको अमूल्य सम्पत्ति पनि हो जसलाई पढ्दा पनि यस्तै महसुस भएको थियो मलाई, जस्तो महसुस स्वस्पर्श पढ्दा भयो । जीवनमा खुसी र सकारात्मक हुन चाहने हरेकले यस कृतिलाई ओखतिकै रुपमा प्रयोग गर्न सकिने गरी लेखिएको छ । झनै खुसीको कुरा त, प्रस्तुत कृति यस वर्षको मदन पुरस्कारका लागि दशमध्येमा पनि परेको छ । मलाई त लाग्छ, यो किताब पुरस्कारका लागि दशमध्येमा पनि एकमा छनोट हुनेछ । हओस् । शुभकामना ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १४ गते बिहीबार