सुर्खेत ।
नदी, खोलानाला तथा अन्य जलाशयमा डुबेर हुने दुर्घटना कर्णाली प्रदेशका लागि गम्भीर जनस्वास्थ्य तथा विपद् व्यवस्थापनको चुनौतीका रूपमा देखिएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकअनुसार कर्णालीमा डुबेर १५२ जनाले ज्यान गुमाएका छन् भने ४२ जना घाइते भएका छन् । सोही अवधिमा डुबेर ४७ जनाको बेपत्ता छन् । यसले डुबेर हुने दुर्घटना रोकथामका लागि सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वित प्रयास अपरिहार्य रहेको देखाएको छ ।
सामाजिक विकास मन्त्रालयको आयोजनामा सरोकारवाला निकायसँग भएको छलफल कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयले यस्तो तथ्यांक प्रस्तुुत गरेको हो । कार्यालयका प्रहरी निरीक्षक व्यापकचन्द्र शाहका अनुसार आर्थिक वर्ष २०८०–८१ मा ६४, २०८१–८२ मा ४४ र २०८२–८३ मा ४४ जना गरी तीन वर्षमा १५२ जनाको डुबेर मृत्यु भएको छ । जसमा सबैभन्दा बढी जोखिम पुरुष र बालबालिकामा देखिएको उनले बताए ।
उनका अनुसार तीन वर्षमा मृत्यु हुनेमध्ये पुरुष २९, महिला ७, बालक १६ र बालिका ११ जना रहेका छन् । यसबाट विशेषगरी बालबालिकाको सुरक्षा सबैभन्दा ठूलो चुनौती बनेको स्पष्ट हुन्छ । त्यस्तै, यही अवधिमा डुबेर ४२ जना घाइते भएका छन् । घाइतेमध्ये पुरुष ११, महिला ७, बालक १२ र बालिका १२ जना छन् । यस्तै ४७ जना बेपत्ता भएको तथ्यांकले देखाएको छ । बेपत्तामध्ये पुरुष २४, महिला ३, बालक १५ र बालिका ५ जना रहेका छन् ।
मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले डुबेर हुने दुर्घटना रोकथामलाई दिगो विकास लक्ष्यसँग प्रत्यक्ष रूपमा जोडेर सबै सरोकारवाला निकाय एकजुट हुनुपर्नेमा बताइन् । विशेषगरी बालबालिकालाई डुबानबाट जोगाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती भएको उनको भनाइ छ । ‘विद्यार्थी, अभिभावक र समुदायको सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता छ,’ उनले भनिन्, ‘आपत्कालीन सेवाका नम्बरहरू सबै नागरिकसम्म सहज रूपमा पुग्ने व्यवस्था गरिनुपर्छ । र मौसमअनुसारको जोखिम पहिचान गरी पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ ।’
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुुसार विश्वभर हरेक वर्ष करिब तीन लाख मानिस पानीमा डुबेर ज्यान गुमाउने गरेका छन् । नेपालमा मात्रै आर्थिक वर्ष २०८०–८१ मा ८६७ जनाको डुबेर मृत्यु भएका छन् । यो तथ्यांकले समस्या राष्ट्रियस्तरमै गम्भीर रहेको पुष्टि गरेको छ । विज्ञहरूका अनुसार वर्षायाममा नदी, खोला तथा बाढी प्रभावित क्षेत्रमा अनावश्यक प्रवेश नगर्ने, बालबालिकालाई जलाशय नजिक एक्लै नछाड्ने, पौडी सिकाउने र चेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।
साथै उद्धार संयन्त्रलाई चुस्त बनाउने हो भने डुबेर हुने अधिकांश दुर्घटना रोक्न सकिने विज्ञहरु बताउँछन् । कर्णालीमा पछिल्ला तीन वर्षको तथ्यांकले डुबेर हुने घटनाले अझै पनि ठूलो मानवीय क्षति पु¥याइरहेको देखाएको छ । त्यसैले सरकारी निकाय, स्थानीय तह, विद्यालय, समुदाय र नागरिक सबैले जोखिम न्यूनीकरणका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न जरुरी छ । जसले दुःखद घटनामा उल्लेखनीय कमी ल्याउन सकिने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्