16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

दुर्गमका महिलाको अकालमै जान्छ ज्यान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज ३१, २०७९  

नेपालगन्ज (बाँके) ।

कर्णालीस्थित मुगुको छायाँनाथ रारा नगरपालिका–१०, जिउलागाउँकी ३५ वर्षीया धनरूपा विकले गत पुसमा पाँचौं सन्तानको रुपमा छोरीलाई जन्माइन् । तर, गर्भवती अवस्थामा आइलागेको जटिलताको कारण आफ्नो ज्यान भने जोगाउन सकिनन् । लामो सुत्केरी व्यथाले च्यापेपछि जिल्ला अस्पताल लैजाने क्रममा उनी बाटोमै सुत्केरी भएकी थिइन् ।

गर्भवती र सुत्केरी अवस्थामा आइलाग्ने जटिलताको कारण अकालमा ज्यान गुमाउने धनरूपा एक्ली महिला होइनन् । कर्णालीमा बर्सेनि उनीजस्ता थुप्रै गर्भवती र सुत्केरी महिलाले ज्यान गुमाउने गरेका छन् । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ७ वर्षयता एक सय २८ जनाको ज्यान यससम्बन्धी समस्याका कारण गएको छ । अघिल्लो आर्थिक वर्षमा मात्र १५ जना गर्भवती तथा सुत्केरीको मृत्यु भएको निर्देशनालयको भनाइ छ ।

त्यस्तैमध्येकी एक हुन्, ‘कालीकोटकी ३० वर्षीया देवी सहकारी ।’ नरहरिनाथ गाउँपालिका–४, रुप्साकी उनको गत वर्ष अत्यधिक रक्तश्रावको कारण मृत्यु भएको थियो । कालीकोट जिल्ला अस्पतालमा भर्ना भएकी सहकारीको स्वास्थ्यमा जटिलता देखिएपछि उपचारका लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको थियो ।

२०७६ असारमा जाजरकोट, जुनीचाँदे–३ कि ३४ वर्षीया सिंह पुरीको अवस्था पनि देवीको जस्तै भयो । सुत्केरी व्यथा लागेपछि बच्चा जन्माएलगत्तै रक्तश्रावका कारण उनको ज्यान गएको थियो । गाउँदेखि टाढा रहेको स्वास्थ्य संस्थामा लैजाने मान्छेसमेत नहुँदा उनको मृत्यु भएको थियो ।

सरकारले कर्णालीका जटिल अवस्थाका गर्भवती र सुत्केरीको उद्दारको लागि हेलिकोप्टर सेवा सञ्चालन गरे पनि समयमै उद्दार हुन नसक्दा मृत्यु हुने क्रम रोकिएको छैन । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार अनुसार आर्थिक वर्ष २०७०/७१ मा ३३ जना, २०७१/७२ मा १४ जना, २०७२/७३ मा १३ जना, २०७३/७४ मा २२ जना, २०७४/७५ मा १९ जना र २०७५/७६ मा १२ जना सुत्केरीको मृत्यु भएको छ ।

ग्रामीण क्षेत्रका महिलाहरुका जीवन हत्केलामा देखिन्छ । घाँस काट्न गएकी मुगुकी ५६ वर्षीया सुन्तला मल्लको २०७३ सालमा मृत्यु भयो । भिरालो जमिनमा घाँस काट्दै गर्दा खुट्टा चिप्लिएर उनको मृत्यु भएको थियो । त्यस्तै दैलेखस्थित भगवतीमाई गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षीया रुपा विकको पनि घाँस काट्ने क्रममा भिरबाट खसेर मृत्यु भयो ।

घरदेखि केही टाढाको दुरीमा रहेको पाखोवाडा घाँस काट्दै गर्दा भिरबाट खसेर मृत्यु भएको थियो । यसरी अकालमै ज्यान गुमाउने महिलाको एकिन तथ्यांक छैन । ‘दुर्गमका महिलाहरु अकालमै ज्यान गुमाउन बाध्य छन्,’ रुकुम पश्चिमकी महिला अधिकारकर्मी तथा अधिवक्त मनिषा भण्डारीले भनिन्, ‘कतिपय महिला त घाइते भएपछि समयमै उपचार नपाउँदा ज्यान गुमाउँछन् ।’

‘एयर लिफ्टिङ’ ले थेग्दैन जोखिम

नेपाल सरकारले आर्थिक वर्ष २०७५/०७६ देखि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हिमाली जिल्लाका गम्भीर सुत्केरी तथा गर्भवतीको हेलिकोप्टर (एयर लिफ्ङि) बाट उद्दार गरिरहेको छ ।

त्यसअघि स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य महाशाखाले एयर लिफ्टिङबाट उद्दार गर्ने गरेको थियो । तर, मौसमी प्रतिकूलता र समयमै उद्दार हुन नसक्दा महिलाको ज्यान भने जोखिममुक्त हुन सकेको छैन ।

प्रकाशित मितिः सोमवार, अशोज ३१, २०७९     10:16:51 AM  |