प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइँदै



सुर्खेत ।

प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्ने प्रक्रिया थालनीको तयारी भएको छ । सोहीअनुरुप प्रदेश अस्पतालले प्रदेश अस्पताललाई ‘सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउनका लागि बनाइएको ऐनको मस्यौदामाथि छलफल सुरु गरेको हो ।

अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था, भौतिक संरचना विस्तार, आधुनिक र प्रविधिमैत्री चिकित्सा उपकरणसहितको विशेषज्ञ चिकित्सकीय स्वास्थ्य सेवा उपलब्ध गराउन पाँच सय शैयाको अस्पताल बनाउने प्रदेश सरकारको लक्ष्य छ । प्रदेश अस्पतालले अहिले दुई सय ९७ शैयासहितको स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।

कर्णाली प्रदेश सरकारले पनि आर्थिक वर्ष २०७९/०८० को बजेटमा समेत ‘प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने’ लक्ष्यसहित प्राथमिकतामा राखेको छ ।

प्रदेश सरकारको मुख्य र संघीय सरकारको केहि आर्थिक सहयोगमा विशेषज्ञ सेवासहित सञ्चालन भइरहेको यो अस्पताल तत्कालिन मध्यपश्चिम क्षेत्रीय अस्पतालबाट २०७५ कात्तिक १३ गते प्रदेश अस्पतालका रुपमा रुपान्तरण भएको हो ।

अस्पतालमा हालको जनशक्ति क्षमता, भौतिक पूर्वाधार, सेवाग्राहीको चाप, सेवाप्रवाहको अवस्था तथा भावी योजनाले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न सम्भावना बढाएको अस्पताल निर्देशक प्रा.डा. डम्बर खड्काको भनाई छ ।

कर्णाली प्रदेशलाई स्वास्थ्य तथा शैक्षिक क्षेत्रलगायतमा समृद्व बनाउन अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो । कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न तथा सेवा क्षेत्रलाई विस्तार गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठानको आवश्यकता परेको भन्दै उनले दक्ष स्वास्थ्यकर्मीको उत्पादन तथा विकास, स्वास्थ्य अनुसन्धान तथा त्यसका नवीनता र स्वास्थ्य सेवा क्षमता सुदृढिकरण गर्न प्रतिष्ठानको आवश्यकता औँल्याए ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज ६ गते बिहीबार