कोहलपुरमा विकराल बन्दै कुपोषण



गणेश रावत । कोहलपुर ।

कोहलपुर नगरपालिकामा कुपोषण दर विकराल बन्दै गएको छ । स्थानीय सरकारले कुपोषण न्यूनीकरणमा प्रभावकारी भूमिका निर्वाह नगर्दा यहाँको कुपोषण विकराल बन्दै गएको हो । पछिल्लो समय कोहलपुर नगरपालिकाभित्रमा कुपोषण हुने बालबालिकाको संख्या बढ्दै गएको स्वास्थ्यचौकी कोहलपुरका अहेब राजकुमार थारुले बताए ।

उनका अनुसार अहिले नगरभित्र एक वडा एक स्वास्थ्य चौकी छन् । तर, पनि कुपोषण न्यूनीकरण हुन नसक्नु दुखदायी भएको उनी बताउँछन् । गर्भावस्थामा के–के कुरा खाने ? कस्तो कुरामा ध्यान दिने ज्ञान नहुँदा उक्त संख्या बढेको उनले बताए । तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २०७७/०७८ एकजना महिला र चारजना पुरुष गेर जम्मा पाँचजना मात्र कडाखाले कुपोषण थियो ।

त्यस्तै २०७८/०७९ मा यो संख्या ७० पुग्यो । जसमा ४५ जना महिला छन् भने २५ जना पुरुष छन् । यसमध्ये ३५ जना महिला र १८ जना पुरुषमा नरमखाले कुपोषण देखिएको स्वास्थ्यचौकीले जनाएको छ । २०७७/०७८ कडाखाले मात्र कुपोषण परीक्षण हुँदै आएको थियो ।

त्यसपश्चात २०७८/०७९ मा कोभिड–१९ (कोरोना भाइरस)का बेला बालबालिकाहरुलाई पनि संक्रमण हुने संख्या बढ्दै जाँदा सबैखालका कुपोषण परीक्षण गर्न थालिएको स्वास्थ्यचौकीले जनाएको छ । अहिले कडा, मध्यम, नरम गरी तीन प्रकारका कुपोषण परीक्षण हुँदै आएका छन् । अहिले सबैखाले कुपोषण परीक्षण हुँदा संख्यामा पनि बढी देखिएको अहेब थारुले बताए ।

‘कडा कुपोषण बच्चालाई १५ दिनको तयारी खाना दिन्छौं,’ उनले भने, ‘१५ दिनपछि पुनः चेकजाँच गर्छाैं ।’ उमेर नपुग्दै विवाह गर्ने, जन्मिँदै तौल कम हुने, बच्चाको रेखदेख राम्रोसँग नर्गदा पोषणयुक्त खानको कमीले कुपोषण हुने गरेको उनको भनाइ छ । त्यस्तै मध्यम र नरम र पाँच वर्षमुनिका सबै बच्चालाई बालभिटा दिएर पठाउने गरिएको छ । उनका अनुसार अहिले २६ जनाले बालभिटा प्रयोग गर्दै आएका छन् ।

महिलालाई गर्भावस्थामा कुपोषणसम्बन्धी शिक्षा नदिँदा पनि यो समस्या विकराल हुँदै गएको कुपोषणको क्षेत्रमा काम गर्नेहरु बताउँछन् । यसतर्फ स्थानीय सरकार र आमाले चासो दिएको पाइँदैन । ‘हरेक बार, खाना चार’को ज्ञानको कमीले कुपोषण बढेको उनीहरुको भनाइ छ ।

बच्चालाई के कस्तो खान खुवाउने भन्ने जानकारी नभएको सपना शाहनीले बताइन् । उनले भनिन्, ‘मलाई थाहा थिएन, स्वास्थ्यचौकी आएर राम्रोसँग जानकारी पाएँ,’ उनले भनिन्, ‘पहिला यस्तो कार्यक्रम थिएन, थाहा हुँदैन्थ्यो ।’ ‘घर नजिकै स्वास्थ्यचौकी छ मात्र तर, हामीलाई केही थाहा छैन,’ उनले भनिन् ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ १३ गते सोमबार