कर्णालीमा मन्त्री फेरबदल हुँदै



सुर्खेत ।

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका दुईजना मन्त्रीलाई फिर्ता बोलाएको छ । माओवादीबाट हाल प्रदेश सरकारमा रहेका तीनजनामध्ये दुईजनालाई फिर्ता बोलाइएको नेकपा माओवादीको कर्णाली प्रदेश कमिटीले जनाएको छ ।

समावेशी सिद्धान्तअनुसार महिला सहभागिता गराउने उद्देश्यसहित मन्त्री फिर्ता बोलाइएको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् । ‘अहिले आलोचना भइरहेको विषय समावेशी सिद्धान्तलाई कार्यान्वयन गर्ने कुरा पनि हो, यो माथिको निर्देशनअनुसार यहाँ अगाडि बढेको कुरा हो,’ उनले भनिन् ।

स्रोतका अनुसार माओवादीबाट कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको हो ।

उनीहरूको ठाउँमा जाजरकोटकी कृष्णा शाह र रूकुम पश्चिमका रातो कामी मन्त्री बन्ने स्रोतले बताएको छ । स्रोतका अनुसार उनीहरूमध्ये को कुन मन्त्री हुने भन्ने टुंगो भने लागेको छैन । कर्णाली प्रदेशसभामा रहेका माओवादीका ११ जना सांसदमध्ये यी दुईजना मात्र मन्त्री बन्न बाँकी थिए । डोल्पाका वीरबहादुर शाही केही दिनअघि मात्र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ ११ गते शनिबार