दोहोरो कर असुली प्रकरण: कसैको नाममा छैन नेपालगन्जको ‘चाइना बजार’ को जग्गा



वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालगन्जको त्रिवेणीमोडस्थित शान्ति स्मारकको ठीक पूर्वपट्टि रहेको ‘चाइना बजार’का नामले चिनिने घुम्ती पसलहरु रहेको क्षेत्रको जग्गा अहिलेसम्म कसैको नाममा पनि नरहेको पाइएको छ ।

उक्त जमिन पहिले गाउँब्लकको घरबास जमिन रहेको नापी कार्यालय बाँकेको रेकर्डमा देखिन्छ । तर, अहिले सोही ठाउँको जमिन व्यक्तिहरुले आफ्नो बहाल बिटौरीको जग्गा भएको दाबी गर्दै आएका छन् ।

वडा नम्बर ३ निवासी घनश्याम बनियाँले उक्त बजारको जमिन आफ्नो भएकाले अबदेखि पसलेहरुले भाडा पनि आफूलाई बुझाउनुपर्ने भन्दै आएका छन् ।

जबकी उनले कसैसँग किनेको प्रमाण भएको बहाल बिटौरीको जमिन त्यही बजार भएको ठाउँको जमिन हो भन्ने कुरा प्रमाणित भएको छैन । नगरपालिकाले पनि उक्त ठाउँमा भएका पसलहरुमा असुल्दै आएको भाडा बनियाँलाई नै दिनु भनेर पसलेहरुलाई भन्दै आएको छ ।

ती पसलहरु भएको क्षेत्रको जमिन नापी कार्यालयमा २५ नम्बर कित्ताका रुपमा रेकर्डेट छ । क्षेत्रफल करिब पौने दुई कठ्टा रहेको देखिन्छ । नेपालगन्ज उपमहानगरपालिकाले कसैको पनि नाममा नरहेको २५ नम्बर कित्तामा सञ्चालनमा रहेका घुम्ती पसलहरुबाट १० वर्षसम्म भाडा असुल गरेको पाइएको छ भने अर्काेतिर घनश्याम बनियाँसँग कित्ता नम्बर १७३÷३ को राजस्व पनि असुल गरिरहेको पाइएको छ ।

गत वर्ष २०७८ साल पुस १३ गते उपमहानगरपालिकाको नगर कार्यपालिकाको बैठकले ती घुम्ती पसलहरु रहेको जमिनको एक हिस्सा नै बनियाँको भएको आशयको निर्णय ग¥यो ।

उक्त निर्णयमा भनिएको छ, ‘निवेदक नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ हालको वडा नम्बर ३ बस्ने घनश्याम बनियाँको नाममा दर्ता रहेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ हालको वडा नम्बर ३ विस्कोरियन टोल १७३/३ को जग्गाको हालसम्मको भाडा दाबी नगर्ने गरी कानुनी सल्लाहकारको मिति २०७८ मंसीर २८ गतेको कानुनी रायअनुसार हकभोग गर्न दिने निर्णय गरियो…।’

यसै निर्णयलाई आधार मानेर बनियाँले २५ नम्बर कित्तामा सञ्चालनमा रहेका पसलहरुबाट भाडा आफूलाई दिनुपर्ने भन्दै दबाब दिइरहेका छन् ।

यस निर्णयपछि उपमहानगरपालिकाले पसलेहरुसँग भाडा पनि लिन बन्द गरेको छ । २५ नम्बर कित्ताको जमिन तत्कालीन नगर विकास समितिले न्यूरोड योजनाका समयमा रोक्का पनि राखेको पाइएको छ ।

जमिनको हकदार नभएकोले नगर विकास समितिले न्यूरोड योजनाका लागि उक्त नमिनको मुआब्जा पनि कसैलाई नदिएको र सडकलाई चाहिने जति मात्रै प्रयोग गरेर बाँकी जमिन त्यसै छोडिदिएको नगर विकास समितिका नायब सुब्बा सुरेन्द्र गुप्ता बताउँछन् ।

नगर विकास समितिले रोक्का राखेपछि उक्त जमिन आफ्नो भएकाले पास गरिदिन भन्दै नापी कार्यालयमा करिब सातजनाले निवेदन दिएको पाइएको छ ।

तर, नापी कार्यालयले दाबी गर्नेहरुसँग पर्याप्त प्रमाण नपुगेको भन्दै कसैको नाममा गर्न नसकेको देखिएको नापी कार्यालय बाँकेका सूचना अधिकारी नापी अधिकृत रनबहादुर विकले जानकारी दिए । उक्त जमिन नापी कार्यालयमा घरबासको उल्लेख भएको र नेपालगन्जमा बोलिचालीमा त्यसैलाई बहाल बिटौरीको जग्गा भनेर भन्ने गरेको विकले बताए ।

नापी अधिकृत विकका अनुसार तत्कालीन समयमा जोतभोग र उपभोगका आधारमा जग्गालाई घरबासको रुपमा उल्लेख गर्ने गरिएको र १५ वर्ष उपभोग गरेको प्रमाण पु¥याएमा, घर निर्माण गरेर बसोबास गरेको भएमा र उसको दाबीमा कसैले दाबीविरोध नगरेमा नापीले व्यक्तिको नाममा गरिदिने व्यवस्था रहेको छ ।

तर, कसैको दाबी बाँझिनेबित्तिकै नापी कार्यालयले प्रमाणका आधारमा निर्णय गरेर कित्ता छुट्याइदिने गर्दछ । यदि नापीले निर्णय गर्न नसकेमा वा उसको निर्णयमा चित्त नबुझेमा सम्बन्धित पक्ष अदालतमा निवेदन दिन सक्छ । अदालतले दिएको निर्णय नै अन्तिम हुन्छ । अहिलेसम्म कुनै पनि व्यक्तिले उक्त जमिनमा हकभोगको प्रमाण पु¥याउन नसकेको नापी कार्यालयले जनाएको छ ।

तर, नेपालगन्ज उपमहानगरपालिकाले दाबीका आधारमा उक्त जमिनको एक हिस्सा बनियाँको भएको आशयको निर्णय गरेको छ । बनियाँको नाममा नगरपालिकामा दर्ता रहेको कित्ता नम्बर १७३/३ को १.२५ धुर जमिन २५ नम्बर कित्ताको कुन ठाउँमा छ भनेर वडा कार्यालयले चार किल्ला प्रमाणित पनि गरेको छैन । बनियाँ भने त्यहाँ रहेका सबै पसलहरुको भाडा आफूलाई दिनुपर्ने बताउँदै आएका पसलेहरु बताउँछन् ।

त्यसपछि त्यहाँका पसले र बनियाँबीच टकरावको स्थिति उत्पन्न भएको छ । बनियाँले उपमहानगरपालिकामा यस विषयको विवाद सुल्झाइदिन निवेदन पनि दिएका पाइएको छ । उक्त विषय छलफलकै क्रममा रहेको नगरपालिका स्रोतले जानकारी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन ३१ गते मंगलबार