अन्तर्राष्ट्रिय बजारमा कालीमार्सी चामल



जुम्ला ।

जुम्लाको कालीमार्सी चामलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा व्यापक माग हुन थालेपछि मार्सी धानलाई सुरक्षित गर्न यहाँका किसानले बीमा गर्न थालेका छन् । पातारासी–३ का किसान कृष्णबहादुर महताराले दुई हजार सात सय २५ वर्गमिटर जग्गामा मार्सी धान रोपेका छन् ।

दुई साताअघि मात्रै प्रिमियमबापत् तीन सय ३५ रुपैयाँ तिरेर उहाँले धानखेतको बीमा गरेका छन् । अब उक्त मार्सी धान नभित्र्याउँदासम्म केही क्षति भए बीमाबापत २६ हजार पाँच सय उनले प्राप्त गर्नेछन् ।

सोही वडाका पदमबहादुर महताराले पनि ३.८४ रोपनी जग्गामा लगाएको मार्सीधानको बीमा गरेका छन् । दुई सय ६० प्रिमियम रकम तिरेर बीमा गरेका किसानले धानमा केही क्षति भए १९ हजार ९९ रुपैयाँ क्षतिपूर्ति पाउनेछन् । मार्सी धान मुख्य रूपमा कर्णाली प्रदेशको जुम्लामा मात्रै उत्पादन हुनेगर्छ ।

केही वर्षयता मुलुकभित्र र बाहिरसमेत माग बढेपछि यसको उत्पादन बढाउन र किसानलाई खेतीतर्फ आकर्षण गर्न पहिलो पटक बीमा कार्यक्रम ल्याइएको हो । मार्सी धानमा रोगकीराको संक्रमण हुनुका साथै प्राकृतिक प्रकोपका कारण उत्पादनमासमेत कमी आउन थालेको किसान बताउँछन् ।

बीमा सुरु भएपछि किसानले ढुक्कसँग खेती गर्न सक्ने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख दिपदर्शन फडेराले जानकारी दिए । कम्पनीका अनुसार धान फल्ने विश्वकै उच्च स्थान छुमचौर जिउलोका किसानले मार्सी धानको बीमा गरेका छन् ।

छुमचौरमा कृषि अनुसन्धान केन्द्र विजयनगरले ६ जातको मार्सी धान रोपेको छ । दुई हजार आठ सय ५० मिटर उचाइमा फल्ने सो धानको पहिचान बचाउन पनि बीमा थालिएको कम्पनीले जनाएको छ । कृषि क्षेत्रको बीमाको लागि सरकारले ८० प्रतिशत रकम व्यहोर्दै आइरहेको छ । बाँकी २० प्रतिशत रकम व्यहोर्ने गरी छुमचौरका १६ जनाले मार्सी धान खेतीको बीमा गरेको शिखर बीमाले जनाएको छ ।

मार्सीधान जुम्लाको पहिचान भएकाले बीमा कार्यक्रम सुरुवात गरिएको छ । जिल्लामा प्रतिरोपनी मार्सी धानखेती गर्न किसानको चार हजार नौ सय ६५ खर्च हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

बीमाबापत किसानले सरकारले व्यहोर्ने रकम कटाएर प्रतिरोपनी ५० का दरले प्रिमियम तिरिरहेको कृषि विकास कार्यालयका निमित्त प्रमुख गणेश अधिकारीले जानकारी दिए । जिल्लाभर झन्डै तीन हजार हेक्टर खेतीयोग्य जमिनमध्ये करिब एक हजार पाँच सय हेक्टरमा कालीमार्सी धानको खेती हुने गरेको कार्यालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन १ गते आइतबार