कोहलपुरको न्युरोडमा चक्काजाम, सुरक्षाकर्मी परिचालन



कोहलपुर  : कोहलपुर नगरपालिका वडा नम्बर ११ को न्युरोड चोकमा चक्काजाम भइरहेको छ । बुधबार नेपालगन्ज मेडिकल कलेजको बसले ठक्कर एक जनाको मृत्यु भएपछि आफन्तहरुले दोषीमाथि कारबाहीको माग गर्दै चक्काजाम गरेका हुन् ।

बुधबार साँझ न्यू रोडको होटेल अतिथि नजिकैको चोकमा भे १ क १२५ नम्बरको बसले भे ४ प ३२५३ नम्बरको मोटरसाइकल चालकलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकल चालक कोहलपुर नगरपालिका– ११ एनटिभीका ६० वर्षीय रामबहादुर थापाको मृत्यु भएको थियो । दक्षिणबाट उत्तरतर्फ गइरहेका थापालाई पूर्वबाट पश्चिमतर्फ गइरहेको नेपालगन्ज मेडिकल कलेजको बसले ठक्कर दिएको थियो । बसका चालक बैजनाथ गाउँपालिका– १ का पदमबहादुर बुढा र बसलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

बस चालकसँग लाइसेन्स नभएको बुझिएको छ । मृतक थापाका आफन्तहरुले दोषीमाथि कारबाहीसहित पिडितलाई राहत दिनुपर्ने माग गरेका छन् । विवाद समाधानको लागि बिहीबार विहानैदेखि वार्ता भइरहेको थियो, मेडिकल कलेजमा वार्ता भइरहेको बेला बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

पछि इलाका प्रहरी कार्यालयमा वार्ता भएपनि सहमति हुन सकेन । सहमति नभएपछि घटनाको विरोधमा चक्काजाम गरिएको हो । न्युरोड क्षेत्रमा अहिले सुरक्षाकर्मी परिचालित छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार ३० गते बिहीबार