चुनावमा आफ्नो पार्टीप्रति अन्याय गरियोः एमाले बाँके



नेपालगन्ज ।

नेकपा एमाले बाँकेले विभिन्न ११ बुँदे सवाल उठाउँदै तत्काल समाधान गर्न माग गरेको छ ।

एमालेका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयहरु आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै एमालेले जनजीविका समस्या समाधानको मागसँगै चुनावमा आफ्नो पार्टीप्रति अन्याय गरिएको सम्मका आरोप लगाएको छ । एमाले बाँकेले उठाइएका मुद्दाको समाधान नभए आन्दोलन गर्नेसम्मको चेतावनी दिएको छ ।

एमाले बाँकेका अध्यक्ष कक्षपतिले तत्काल सहज र सस्तोमा धानको बिउ र मल उपलब्ध गराउन, गतवर्ष बेमौसमी वर्षाका कारण धानबालीको क्षति व्यहोरेका किसानलाई एक हप्ताभित्र राहत रकम दिन, कृषि सिंचाईका लागि नियमित रुपमा विद्युत आपूर्ति गर्न, अघोषित लोडसेडिङ बन्द गर्न माग गरे ।

यसैगरी सरकारले मनपरी, स्वेच्छाचारी, अस्वभाविक रुपमा गरेको पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य बस्तुको मूल्य फिर्ता गर्न, एसपीपी सम्झौता नगर्न, अर्थमन्त्रीले राजीनामा दिन माग गरेको छ ।

यसैगरी स्थानीय तहको निर्वाचनमा बाँकेमा मुख्य निर्वाचन अधिकृत, जिल्ला प्रहरी प्रमुखलगायतले एमालेका उम्मेदवारप्रति ठाडो हस्तक्षेप गरेको आरोप पनि लगाएको छ । नेपालगन्ज १७ का वडाध्यक्षका उम्मेदवारको उम्मेदवारी खारेजीदेखि नतिजा घोषणामा अन्यायपूर्ण व्यवहार मुख्य निर्वाचन अधिकृत र राज्यपक्षबाट भएको अध्यक्ष कक्षपतिले आरोप लगाए ।

अहिले पनि स्थानीय प्रशासनले आफ्ना पार्टीका नेता तथा कार्यकर्तामाथिको धरपकड जारी राखेकोले त्यसलार्य तत्काल बन्द गर्न पनि उनले माग गरे । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यहरु सूर्य ढकाल, मो. हारुन, दिपा शर्मालगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार ६ गते सोमबार