कौशलकुमार धोबी
नवनिर्वाचित वडाध्यक्ष, नेपालगन्ज–२०
सर्वप्रथम त यहाँलाई बधाई छ ?
धन्यवाद ।
यसअघि एमालेको नेतृत्व रहेको वडामा यहाँले विजय हासिल गर्नुभएको छ । कस्तो अनुभूति भइरहेको छ ?
एकदमै तपाईंले सही ठाउँबाट कुरा उठाउनुभयो । हामीले यो पाँच वर्षमा एमालेको नेतृत्वमा रहेको वडाको नेतृत्वबाट आशा गरेअनुसार काम भएको पाएनौं । मैले सुरुका दिनदेखि सुझाव सल्लाह दिँदै आएँ ।
तर त्यसअनुसार काम नभएपछि मैले जनतासँग उहाँको विकल्प खोज्नुपर्ने भन्दै मत मागे । जनता यतिसम्म आजित भइसकेका थिए कि उहाँले सरकारले दिने सामाजिक सुरक्षा भत्ता पनि टोलमै दिलाउन सक्नु भएन ।
ज्येष्ठ नागरिकहरु बैंक बाहिर घण्टौँ कुरेर सामाजिक सुरक्षा भत्ता लिन बाध्य भए । त्यस कारण मेरो जितले यहाँका वडावासी सबै एकदमै खुसी भएका छन् । म पनि खुसी छुँ । अब जनताको अपेक्षा पूरा गर्नूपर्ने दायित्वको महसुस भइरहेको छ ।
तपाईंले वडामा देख्नु भएका मुख्यमुख्य समस्या के–के हुन् ?
सबभन्दा ठूलो समस्या त हाम्रो वडाले उपमहानगरपालिकाको महसुुस नै गर्न पाएन । पछि जोडिएका ११ वडामध्ये हाम्रो वडा पनि एक हो । तर यी वडाले जसरी विकासमा प्राथमिकता पाउनुपथ्र्याे त्यो पाएन ।
मैले कार्यपालिका बैठकमा पनि पटकपटक यी कुराहरु उठाएको थिएँ । तर सुनुवाइ भएन । अब हामीले नेपालगन्जमा पछाडि परेका र पछि जोडिएका वडाहरुलाई उपमहानगरपालिकाको महसुस गराउने गरी काम गर्नुपर्नेछ ।
यहाँ अहिले पनि कतिपय बस्तीमा पुग्न कच्ची बाटो छ । वर्षामा नागरिकहरुले दुःख पाइरहेका छन् । पाँच वर्षमा धवलशमशेर राणाले सहरको भित्री क्षेत्रलाई मात्रै ध्यान दिनुभयो । त्यो पनि पहिले चल्दै आएका योजनाहरुमा मात्रै ।
हाम्रो वडाजस्तो पछि परेको क्षेत्रको विकासका लागि कुनै ठोस काम हुन सकेन । बनेका सडक र ढलहरु गुणस्तरीय र प्रभावकारी भएनन् । हाम्रा वडामा अर्काे समस्या भनको अव्यवस्थित बसोबासीहरुको पनि हो । यीनै समस्या समाधानका लागि भनेर मैले वडाध्यक्षमा उम्मेदवारी दिएको हुँ ।
तपाईंका तत्कालीन योजनाहरु के–के छन् त ?
अब उपमहानगरपालिकामा हाम्रा नेतृत्व आउँदै छ । मेयर उपमेयर हाम्रो पक्षकै आउँदै हुनुहुन्छ । हिजो हाम्रो कुरै नसुन्ने समस्या थियो । जति भने पनि हाम्रो कुरा लागू हुन सक्दैनथ्यो । अब भने हामीले चाहेअनुसारका योजनाहरु अघि बढाउन सक्छौं । सर्वप्रथम त हामी वडाका सेवाहरु सहज र घरआँगनमै दिनेतिर अघि बढ्छौं । त्यसपछि बाटोघाटो नपुगेका ठाउँमा बाटो निर्माणको योजना अघि सार्छाैं ।
ढल निकास नभएको ठाउँमा ढल निकास पु¥याएर यस वडालाई उपमहानगरपालिकाको दाँजोमा पु¥याउँछौं । कतिपय ठाउँमा नालाहरुको स्तर नै राम्रो छैन । त्यसको सुधार गर्छाैं । यसैगरी पछाडि परेका समुदायका विकासका लागि पनि योजना ल्याउछौं । गाउँ र बस्तीस्तरबाट आएका योजनाहरुलाई पनि प्राथमिकता दिन्छौं ।
तपाईंको वडामा रहेको अव्यवस्थित बसोबासीको समस्या कसरी अन्त्य गर्नुहुन्छ ?
यो समस्यालाई अहिलेसम्म राजनीति गर्ने माध्यम मात्रै बनाइयो । अब यसको अन्त्य गरिन्छ । अहिले जिल्लामा अव्यवस्थित बसोबासी समस्या समाधान आयोगमा पनि हाम्रै नेतृत्व छ । यस कारण हामी यसलाई दु्रत गतिमा अघि बढाउँछौं ।
म तपाईंको मिडियामार्फत बाचा गर्छुँ कि यस वर्षको दसैंभित्रै म अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा दिलाएर उनीहरुलाई जमिनको मालिक बनाउँछु । यसमा पनि प्रतिबद्ध भएर लाग्नेछुँ ।
अन्तमा वडावासीहरुलाई के भन्न चाहनुुहन्छ ?
म भर्खरै निर्वाचित भएर आएकोले सबै वडावासीहरुलाई भेट्न पनि पाएको छैन । अब बिस्तारै सबैलाई भेटेर उहाँहरुलाई आभार व्यक्त गर्नेछुँ भने उहाँहरुको सुझाव पनि लिनेछुँ । तपाईंको मिडियामार्फत पनि सबै वडावासीहरुलाई हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छुँ । तपाईंहरुले गरेको अपेक्षामा खरो उत्रने बाचा गर्न चाहन्छुँ ।









प्रतिक्रिया दिनुहोस्