सूर्यबहादुर खत्री प्रमुख जिल्ला अधिकारी, बाँके
बाँकेको सुरक्षा अवस्था कस्तो छ ?
आजको दिनसम्म त सुरक्षा अवस्था राम्रै छ । मतदानको दिन पनि राम्रो सुरक्षाको व्यवस्था गरेका छौं । यसअघिसमेत सानातिना गुनासाबाहेक झैझगडा केही भएन, तपाईंहरुले पनि अनुभूति गरिहाल्नुभयो । यही तरिकाले निर्वाचनको दिन मतदान सम्पन्न गर्ने तयारी गरिरहेका छौं ।
मतपेटिका सुरक्षित रहने विश्वास कसरी दिलाउनु हुन्छ ?
अहिले गाउँगाउँमा तीनै सुरक्षा निकायका सुरक्षाकर्मी खटिसकेका छन् । सुरक्षाकर्मीको गाउँगाउँमा बाक्लो उपस्थिति छ । नियमित गस्ती भइरहेको छ । सुरक्षा अवस्था बलियो छ भनेर मतदाताहरुले अनुभूति गरेका छन् । भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेछ भन्ने प्रत्याभूति गराउन हामीले व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरेका छौं ।
मतदान केन्द्रको सुरक्षा व्यवस्था कसरी मिलाउनु भएको छ ?
मतदान केन्द्रभित्र नेपाल प्रहरी र म्यादी प्रहरी खटिन्छन् । त्यसभन्दा बाहिर दोस्रो घेरामा सशस्त्र प्रहरी परिचालन हुनेछ । तेस्रो घेरामा नेपाली सेना रहन्छ ।
निर्वाचनमा कसरी परिचालन हुने भनेर एकीकृत सुरक्षा योजना बनाएका छौं । सोहीअनुसार नै मतदान केन्द्रको सुरक्षाका लागि तीनै निकायका सुरक्षाकर्मी परिचालन हुन्छन् ।