‘विकासको नक्सा बनाएको छुँ‘ भीमप्रसाद देवकोटा



भीमप्रसाद देवकोटा राष्ट्रिय जनमोर्चाको तर्फबाट कोहलपुरको प्रमुख पदमा उम्मेदवार बनेका छन् । पार्टीको जिल्ला अध्यक्षसमेत रहेका देवकोटा यसअघि दोस्रो संविधानसभाको चुनावमा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए । हाल सत्ता गठबन्धनको एक घटक दलबाट उनले कोहलपुरको मेयरमा एकल उम्मेदवारी दिएका हुन् ।

२०३५ सालदेखि राजनीति सुरु गरेका देवकोटा विगत ५ वर्षयता जनमोर्चामा आबद्ध छन् । नेपालका पुराना कम्युनिस्ट नेता मोहनविक्रम सिंहको राजनीतिक प्रशिक्षणको प्रेरणाले राजनीतिमा होमिएका उनले लामो कालखण्ड बिताएका छन् । दलगतरुपमा भने देवकोटाले नेकपा मसालबाट राजनीति सुरु गरेका हुन् ।

२०४१ मा मोटो मसालमा आबद्ध भए । पुँजीवाद साम्यवादी पार्टी नेपालका केन्द्रीय अध्यक्षसमेत भइसकेका व्यक्ति हुन्, देवकोटा । ६ वर्ष यो पार्टी राष्ट्रिय जनमोर्चासँग गाँभिएको थियो । कोहलपुरको प्रमुखमा उम्मेदवारी दिएका देवकोटासँग उनका योजनाबारे गरिएको संक्षिप्त कुराकानी ः

तपाईंको उम्मेदवारी किन ?

अरु पार्टीहरुले गरिरहेको परम्परागत विकासलाई तोड्न मेरो उम्मेदवारी हो । अहिलेसम्म कोहलपुरमा बिना योजना अन्धाधुन्ध विकास भइरहेको छ । मेैले कोहलपुरलाई नयाँ परिचय दिन खोजिरहेको छुँ । नयाँ नक्सासहितको कोहलपुरको लागि चुनावमा मेरो उम्मेदवारी हो ।

जुन २१औँ शताब्दिको अत्यावश्यक विकास हो । त्यसैले मैले धेरैको घोषणापत्र हेरे । मेरो अरुभन्दा पृथक छ । कोहलपुर विकासको लागि मेरो बुझाइ र उम्मेदवारीसमेत भिन्न हो । मैले नक्सासहित बनाएको कोहलपुर विकासको योजना तत्कालको लागि होइन दीर्घकालीन योजना हो । अबको ५० वर्षमा कोहलपुर कस्तो हुन्छ भन्ने मैले नक्सा बनाएको छुँ । दीर्घकालीन सोचसहित कोहलपुर बनाउनको लागि मेरो उम्मेदवारी हो ।

तपाईंका योजना के–के छन् ?

हाम्रो नारा नै स्वच्छ, स्वस्थ र समृद्ध कोहलपुरको निर्माण गरौँ नै छ । कोहलपुर निर्माणको लागि विकेन्द्रियता र सन्तुलित नीति लागू गर्ने, स्रोत संरक्षण तथा सवद्र्धन गर्ने, कृषि तथा कृषिजन्य उद्योगको विकास गर्ने, विपद व्यवस्थापनको व्यवस्थापन गर्ने, भ्रष्टाचारको रोकथाम गर्दै अन्त्य गर्ने योजना लिएको छुँ । स्वदेशी उत्पादनलाई संरक्षण गर्दै विदेशी आयात नियन्त्रण, शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने, प्राकृतिक स्रोतसाधनको समूचित उपभोग नीति लिइने, पर्यटन निर्माण जोड दिइने योजना छन् ।

एकीकृत बस्ती विकास, पुरातात्विक सम्पदाको संरक्षण गर्ने, भू–उपायोग नीति लागू गर्ने, छाडा पशुचौपायाको नियन्त्रणको लागि कार्यविधि निर्माण, उल्लेखित कार्ययोजना लागू गर्न कोहलपुर नगरपालिकाको वैज्ञानिक तवरको नक्सा तयार गर्ने गरिने मेरो प्रतिबद्धता छ । सोहीअनुसार अव्यवस्थित बजार, कृषि उत्पादन, उद्योग, बाटो, ढल निकास, पिउने पानी र बिजुलीलाई वैज्ञानिक नक्साभित्र समेटिनेछ ।

मैले कोहलपुर नगरपालिकाको ५६ किलोमिटर चक्रपथ निर्माण गर्ने, ५६ किलोमिटर चक्रपथभित्र आठ ब्लग निर्माण गर्न  (७०-३०) को अवधारणा लागू गर्ने नीति लिएको छुँ । सुकुम्बासी र हुकुमवासीको पहिचान गरी ऐलानीप्रतिमा बसोबास गर्ने साथै अव्यवस्थित र सुकुम्बासीको पहिचान गरी उचित व्यवस्थापन गरिने रहेको छ । यस्तै दक्ष जनशक्ति निर्माण र बेरोजगारीको अन्त्यको लागि पहल गर्ने र यातायात ढुवानीको उपयुक्त व्यवस्थापनमा जोड दिइनेछ ।

योजनाहरु कसरी पूरा गर्नुहुन्छ ?

मैले मेरा हरेक योजनाका नक्सा बनाएको छुँ । कुन योजना कसरी लागू गर्ने भन्ने कुराको मसँग लिखित र नक्सांकन गरिएको चित्र छ । अरुले कागजमा आश्वासन दिएका छन् । मैले कागजमा चित्र कोरेको छुँ कसरी योजना छनोट गर्ने भनेर ।

त्यसैले मैले कोहलपुरको प्रमुखमा जिते भने सबैभन्दा पहिला कुन योजना कसरी निर्माण सम्पन्न गर्ने, सम्बन्धित क्षेत्रमा लागू गर्ने र कार्यान्वयनको विधि के हुने भनेर नगरवासीको सुझाव माग्ने छुँ । जनताले दिएको सुझावअनुसार अघि बढ्ने हो ।

म जनप्रतिनिधि नभइ जनताको सेवकका रुपमा काम गर्नेछुँ । मेरो हरेक कामको अगाडि जनता हुने छन् । उनीहरुको हकहितलाई केन्द्रमा राखेर काम गरिने छ । कुनै पनि जनप्रतिनिधिलाई जनताको सेवाका नाममा अतिरिक्त सेवा सुविधा दिइने छैन । कोहलपुर एउटा उदाउँदो सहरको यस क्षेत्रको विकास र योजना कार्यान्वयनका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना छनोट गरिनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख २७ गते मंगलबार