घरबाहिर निस्कन नसकेकी सुहाना



अभिनेत्री सुहाना थापा निर्माता सुनिल कुमार थापा तथा अभिनेत्री झरना थापाकी छोरी हुन्। उनले होमप्राडक्सनका दुई चलचित्रमा अभिनय गरिन्। सुहानाले अभिनय गरेका दुवै चलचित्र उनकी आमा झरनाले निर्देशन गरिन्।

‘ए मेरो हजुर ३’बाट रजतपटमा डेब्यु गरेकी सुहानाले दोस्रो चलचित्र ‘ए मेरो हजुर ४’मा अभिनय गर्दासम्म आफूलाई निकै निखारिन्।

अभिनयमा उनले गरेको मेहनतको निखारता दोस्रो चलचित्रमा देखिएको छ। दुई चलचित्रमा अभिनय गरेर पनि राम्रो फ्यान फलोइङ कमाएकी सुहाना तेस्रो चलचित्रको तयारीमा छिन्।

सुहानाको शीर्ष भूमिका रहने चलचित्र ‘भागवत गीता’को जनकपुरमा पुगेर टिजर छायांकन भएको। तेस्रो फिल्मको तयारी गर्दै गर्दा पनि सुहाना होमप्रोडक्सनबाट बाहिर निस्कन सकेकी छैनन्।

‘ए मेरो हजुर ४’को प्रचार प्रसारका क्रममा सुहानाले घर बाहिरको फिल्ममा पनि काम गर्ने बताएकी थिइन। तेस्रो चलचित्र पनि घर भित्रबाटै थालेपछि सुहानालाई बाहिर निस्कन अझै समय लाग्ने देखिएको छ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख २१ गते बुधबार