किन बढे उम्मेदवार ? चेतना कि राजनीतिक बदला



सुर्खेत ।

२०७४ को स्थानीय तहको निर्वाचनभन्दा यसपटक कर्णालीमा पाँच सय १० जना बढीले उम्मेदवारी दिएका छन् । २०७४ को स्थानीय निर्वाचनमा १२ हजार आठ सय ९३ जनाको मनोनयन परेका थिए । त्यसमध्ये चार सय ८६ जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।

तीनजनाको उम्मेदवारी रद्द भएको थियो । वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा प्रदेशका ७९ पालिकामा १३ हजार बढीले उम्मेदवारी दिएका छन् । प्रदेशभरि प्रमुुख, अध्यक्ष, उपप्रमुुख, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य गरी १३ हजार चार सय तीनजनाले उम्मेदवारी दिएका छन् ।

आइतबार र सोमबार दुई दिन भएको मनोनयन दर्तामा प्रमुुख पदमा दशवटै जिल्लामा एक सय ७६ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी, अध्यक्ष पदका लागि प्रदेशभर तीन सय आठजनाले मनोनयन दर्ता गराएका छन् । उपप्रमुुख पदमा एक सय ६० र उपाध्यक्षमा दुुई सय ८८ जना उम्मेदवार बनेका हुन् । कर्णालीमा ५४ गाउँपालिका र २५ नगरपालिका छन् ।

प्रदेशभरि सात सय १८ वटा वडा छन् । वडाध्यक्षका लागि तीन हजार दुुई सय सातजनाको उम्मेदवारी परेको छ । वडाहरूमा दुुई हजार तीन सय २८ जनाले महिला सदस्यमा उम्मेदवारी दिएको आयोगले जनाएको छ । दलित महिला सदस्यमा भने एक हजार नौ सय ९८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवार बढ्नुमा चेतना र राजनीतिक बदला लिन खोज्ने प्रवृत्तिले पनि अहिले उम्मेदवारहरु धेरै उठेको राजनीति विश्लेषकहरुको भनाइ छ । त्यसैगरी स्थानीय तहमा भएको स्रोत साधन तथा प्राप्त अधिकारप्रति अहिले सबैको आर्कषण बढेको उनीहरुको भनाइ छ । नजिकको सरकारको नेतृत्व गर्ने अवसर पाउने भएकाले धेरैको रोजाइमा परेको शिक्षक चन्द्रकला खत्री बताउँछिन् । ‘स्थानीय तहमा धेरै अधिकार दिएको छ र स्रोत साधन पनि त्यही छ,’ उनी भन्छिन्, ‘स्रोत साधनको आफैँ परिचालन गर्न पाउने भएकाले पनि धेरैको रोजाइमा परेको हो ।’

राजनीतिक विश्लेषक पीताम्बर ढकालले चेतनाको विकास भएकाले पनि उम्मेदवारी दर्ताको संख्या धेरै भएको बताउँछन् । ‘यसमा एउटा स्थानीय तहमा भएको पावरको आर्कषण हो भने अर्काे चाहिँ बदलाको भावनाले पनि यस्तो अवस्था आएको हो,’ ढकाल भन्छन्, ‘एक व्यक्ति चुनावमा उठ्यो र उसलाई हराउनका लागि पनि अर्काे व्यक्तिले उम्मेदवार दिएको अवस्था छ ।’

मात्रात्मकरुपमा उम्मेदवारी बढ्नुलाई सकारात्मकरुपमा लिनुपर्ने उनको भनाइ छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक कमल लम्सालले स्थानीय तह भनेको काम देखाउन सकिने स्थान र सबैलाई समेट्न सकिने रहेछ भन्ने कुरा बुझेपछि यसतर्फ आर्कषण भएको बताउँछन् । ‘लामो समयसम्म स्थानीय निकायको निर्वाचन नभएकोले पनि धेरै नेताहरु थुप्रिरहेका थिए’ उनी भन्छन्, ‘धेरै नेताहरु उत्पादन भए थुप्रिरहे यसले पनि प्रभाव पारेको हो ।’

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख १८ गते आइतबार