‘जुम्ला–रारा अल्ट्रा म्याराथन’ चैत २६ मा हुने



कोहलपुर ।

चैत २६ गते ४९ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८’ हुने भएको छ । कर्णाली खेलकुद क्लबको आयोजनामा आगामी चैत २६ गते म्याराथन हुने भएको हो । जुम्लादेखि मुगुको रारा ताल जाने पद मार्गको प्रबद्र्धन गर्ने उद्देश्य म्याराथन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथन आयोजना गरिएको अध्यक्ष सरोज शाहीले बताए । काठमाडौँमा पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष शाहीले म्याराथनका लागि खेलाडी दर्ता खुला भएको जानकारी दिए ।

यसअघि २०७५ मा पहिलो र २०७६ मा दोस्रा संस्करणको खेल आयोजना गरिएको थियो । कोभिड–१९ (कोरोना भाइरस) का कारण २०७७ मा सञ्चालन हुन नसकेको म्याराथन यसपटक पुनः आयोजना गरिएको उनले बताए ।

समुन्द्री सतहबाट दुई हजार तीन सय मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलंगाबाट सुरु हुने म्याराथन तीन हजार तीन सय मिटरको उचाइमा रहेको डाँफे लेक, चार हजार एक सय मिटरको उचाइमा रहेको चुच्चेमारा लेक हुँदै दुई हजार आठ सय ९० मिटरको उचाइमा रहेको रारा ताल छेउमा समापन हुने जनाइएको छ ।

जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुटमा व्यावसायिक खेलाडी पाँचदेखि सात घण्टामा पार गर्छन् । विगतमा पुरुष र महिला गरी तीन सय ४७ खेलाडीसम्मको सहभागिता रहेको यस खेलको यसपालिको संस्करणमा पनि सोही हाराहारीमा सहभागिता हुने अपेक्षा राखिएको छ ।
आयोजकका अनुसार अघिल्ला वर्षमा विजयी खेलाडीलाई एक लाख पुरस्कार दिइएकामा यसपालि सोभन्दा बढीको पुरस्कार राशि राखिने भए पनि घोषणा हुन भने बाँकी रहेको जनाइएको छ ।

यसपालि उत्कृष्ट १० खेलाडी पुरस्कृत हुने छन् । म्याराथन सम्पन्न गर्न ५० लाख लाग्ने अनुमान गरिएको छ । म्याराथनमा सहभागी हुन विदेशीले चार हजार पाँच सय र नेपालीले एक हजार ६ सय शुल्क तिर्नु पर्नेछ । सो रकमबाट रारा तालको बाससहित टिसर्ट तथा खाजाखानाको प्रबन्ध गरिएको छ । आगामी चैत २४ गतेसम्म खेलाडीले नाम दर्ता गर्न सक्ने जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २२ गते आइतबार