कर्णालीका पर्यटन मन्त्री कार्चेनविरुद्ध मुद्दा



सुर्खेत ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ्ग डम्डोल (कार्चेन) लामाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

मूर्ति चोरी आरोपमा फौजदारी अभियोगमा दोषी ठहरिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै सोमबार उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको हो । मध्यपश्चिम विश्वविद्यालयकी कानून विद्यार्थी विनिता बोगटीले केहीदिन अघिमात्र मन्त्री बनेका लामाविरुद्ध मुद्धा दर्ता गरेकी हुन् ।

उनको रिटमा प्रदेश प्रमुखको कार्यालय, कर्णाली सरकार र मन्त्री लामालाई विपक्षी बनाइएको छ । गैरसांसद समेत रहेका लामाको मन्त्री पद खारेजी गर्न माग समेत गरिएको छ । लामा नेकपा (माओवादी केन्द्र) हुम्लाका नेता हुन् ।

उनलाई ताक्लाकोटको खोच्यारनाथ गुम्बाबाट मूर्ति चोरेको आरोपमा अदालतले २०५१ मंसिर २५ गते दुई वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो । रिटमा बोगटीले संविधानको बर्खिलाप हुने गरि लामालाई मन्त्री बनाइएको जिकिर गरेकी छन् ।

साथै मन्त्रीमण्डललाई समावेशी बनाउनुपर्ने पनि माग गरिएको छ । अहिले कर्णालीमा महिला दलित समुदायको प्रतिनिधित्व छैन । कर्णालीको मन्त्रीपरिषद् समावेशी नभएको भन्दै समावेशी बनाउन माग गर्दै यसअघि पनि उच्च अदालत सुर्खेतमा रिट दायर भइसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ३ गते मंगलबार