टिकटकमा भाइरल कच्चा बदामको वास्तविकता



यतिबेला सामाजिक सञ्जाल प्रयोगकर्ताहरू नाच्दै काँचो बदाम बेच्न व्यस्त छन्। इन्ष्टाग्रामदेखि टिकटकका हरेक स्क्रोलमा कच्चा बदाम बोलको सङ्गीतमा पुठो हल्लाएका भिडियोले पक्कै यस गीतप्रति चासो लाग्न सक्छ।

गीतमा भनेका कुरा के होला? कहाँबाट आयो होला? कसरी भाइरल भयो होला जस्ता प्रश्नहरूको जवाफ दिइएको छ। कच्चा बदाम, एक बदाम व्यापारीले गाएको गीत हो। भारत पश्चिम बङ्गालको बिरभुम जिल्लामा जन्मेका भुवन बड्याकरले बदाम बेच्दै हिँड्दा गाएको गीतमा यतिबेला झुमेको हो। यो गीत इन्ष्टा हुँदै टिकटकमा भाइरल हुन पुगेको हो।

एक गरिब परिवारमा जन्मेका भुवन घरमा श्रीमती र तीन बच्चाका साथमा छन्। सानैदेखि गीत सङ्गीतमा रुचि भएका उनी गायक बन्न चाहन्थे तर आर्थिक अभावका कारण बदाम व्यापारी बने।

भारतीय सञ्चार माध्यमहरूका अनुसार उनी दिनको तीन देखि चार किलोसम्म बदाम यही गीत गाएर बेच्छन् र दिनमा २ सयदेखि २५० रुपैयाँसम्म कमाइ गर्छन्।

पाँच जनाको परिवार पाल्नका लागि उनी मोटर साइकलमा बदाम बेच्न गाउँ गाउँ पुग्थे। १० वर्षदेखि गर्दै आएका थिए उनले यो काम। कुनै नयाँ गाउँमा पुगेर उनी कच्चा बदाम वाला जिंगल गाएर मानिसलाई आकर्षित गर्थे। उनको यो जिंगल बल लोक धुनसँग प्रभावित छ।

उनी पैसासँग मात्रै हैन, टुटेफुटेका सामान, गरगहना लगायतसँग पनि बदाम साँट्थे। भाइरल भएको जिंगलमा बिग्रिएका मोबाइल, काम नलाग्ने चुरा पोते लगायतका सामानसँग काँचो बदाम लिएर जाऊ भनेका छन् उनले।

कसरी भयो भाइरल

यो गीत नोभेम्बर २०२१ मा इन्टरनेटको पहुँचमा पुग्यो। भुवनलाई यो गीत कसले भाइरल गरिदियो भन्ने थाहा छैन। इन्डिया टुडेलाई दिएको अन्तरवार्तामा उनले भनेका छन्, ‘एक मानिस आए, उनको गीतको तारिफ गरे। तिनै मानिसले उनको गीतको भिडियो बनाए।’ भुवनले उक्त मानिसको नाम समेत सोधेनन्।

ती मानिसले गीत इन्टरनेटमा राखिदिए। त्यसैलाई भारतीय गायक तथा सङ्गीतकार नज्मु रिचेकले बिट राखेर एरेन्ज गरे र फेरि सामाजिक सञ्जालमा पोस्ट गरिदिए। त्यही रिमेक गीतमा इन्ष्टाग्राम प्रयोगकर्ताले कोरियोग्राफी गरिदिए। त्यसैलाई पछ्याउँदै अहिले विश्वभर मान्छे काँचो बदाम बेच्ने प्रतिस्पर्धामा छन्।

सुरुमा भाइरलले डराए भुवन

भुवन सामान्य मानिस हुन्। उनलाई सामाजिक सञ्जालको बारेमा खासै जानकारी छैन। उनको गीत भाइरल हुने बित्तिकै युट्युबवर तथा सोसल मिडिया इन्फ्लोइन्सरहरुको लाइन लाग्यो। कोही उनीसँग अन्तरवार्ता लिन चाहन्थे त कोही गीत रेकर्ड गराउन।

यो सबै देखेर भुवन डराए। इन्डिया टुडेलाई उनले प्रहरी चौकीसम्म जाने सोच बनाएको अन्तर्वार्ता दिएका छन्। ‘मेरो गीत सबैले चोरेर गाए तर क्रेडिट, पैसा केही दिएनन्,’उनले भनेका छन्,‘ मलाई प्रहरीकोमा जान अरूले रोके।’ उनले अहिले भने गीतमा आफ्नो नाम र गाँस बास कपासको व्यवस्था गर्न भनेका छन्।

अहिले उनी बदाम बेच्न छाडेर विभिन्न टेलिभिजन सोहरूमा पाहुनाका रूपमा देखिइरहेका छन्। उनको कच्चा बदाम नाममा गीत समेत रेकर्ड भइसकेको छ।

उनले गाएको जिंगलको नेपाली उल्था यस्तो छ:

यदि तपाइसँग खुइलिएको सुनौलो चुरा, सिक्री, बटम सहितको पुराना मोबाइल छ? यदि छ भने तपाइ मलाई फोन पाँच रुपैयाँमा बेच्न सक्नुहुन्छ। यदि तपाइसँग खुइलिएको सुनौलो पाउजु, चुरा, सिक्री छन् भने त्यसबापत काँचो बदाम लैजान सक्नुहुन्छ। तर म पाकेको बदाम भने बेच्दिन। केवल बेच्छु काँचो बदाम।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २५ गते मंगलबार