एक दशकअघि गरिएको अघिल्लो जनगणनामा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो । त्यतिबेला वार्षिक वृद्धिदर १.३५ प्रतिशत थियो । १९८७ सालपछि जनसंख्याको वृद्धिदर घटेर एक प्रतिशतभन्दा कम भएको यो पहिलोपटक हो ।
१९७८ र १९८८ सालमा भने जनसंख्याको वार्षिक वृद्धिदर नै नकारात्मक भएको थियो । २०२८ देखि २०६८ सालसम्म हरेक वर्ष औसतमा जनसंख्याको वार्षिक वृद्धिदर दुई प्रतिशतभन्दा धेरै थियो ।
जनगणनाले पुरुषभन्दा महिलाको संख्या ६ लाखभन्दा बढी रहेको देखाएको छ । कुल जनसंख्यामा एक करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष (४८.९६ प्रतिशत) र एक करोड ४९ लाख एक हजार १६९ जना महिला (५१.०४ प्रतिशत) छन् ।
यद्यपि, एक दशकअघिको तुलनामा महिलाको अनुपात घटेको र पुरुषको बढेको देखिएको छ । दश वर्षअघि २०६८ सालको जनगणनामा कुल जनसंख्यामध्ये पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५ र ५१.५ प्रतिशत थियो ।
केन्द्रीय तथ्यांक विभागले बुधबार नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार यसपटक जनसङ्ख्या वृद्धिदर पनि घटेको छ । अहिले जनसङ्ख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ ।
यो जनगणना अनुसार नेपालको जनसङ्ख्या वृद्धिदर ८० वर्षयताकै कम हो । अहिले पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार ३११ र महिलाको संख्या एक करोड ४९ लाख एक हजार १६९ गरी नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।
जनसंख्याको वृद्धिदर घट्नुमा प्रमुख कारण प्रजननदर कम हुनु हो । पछिल्ला वर्षमा प्रजननदर निकै घटिरहेको जनसंख्याविद् बताउँछन् । नेपालको अर्थ–सामाजिक कारण र वैदेशिक रोजगारीले गर्दा प्रजननदर घटिरहेको र जसको असर जनसंख्याको वृद्धिदरमा परेको देखिन्छ ।
विश्व ब्यांकको तथ्यांकअनुसार ३० वर्षअघि एकजना महिलाले औसतमा पाँचजना बच्चा जन्माउने गरेकोमा अहिले त्यो घटेर दुईभन्दा तल आइपुगिसकेको छ । केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले यो वर्षको जनगणनाको जन्मदरको विवरण नआइसकेको भए पनि यो प्रतिस्थापन दरतिरै झरिसकेको हुन सक्ने अनुमान गरे । दम्पतीले दुई बच्चा जन्माएमा त्यसलाई प्रतिस्थापन दर मानिन्छ ।
वैदेशिक रोजगारी प्रमुख कारण
प्रजननदर घट्नुमा वैदेशिक रोजगारी प्रमुख कारण हो । वैदेशिक रोजगारीका लागि युवा विदेशिने कारणले गर्दा बच्चा जन्माउने दर घटेको देखिन्छ । आर्थिक सर्वेक्षणका अनुसार करिब ५० लाखभन्दा बढी नेपाली विभिन्न समयमा वैदेशिक रोजगारीमा गइसकेका छन् ।
त्यसमाथि, शिक्षा र चेतनास्तर बढ्दै गएकाले धेरै संख्यामा बच्चा जन्माउने भन्दा एक वा दुई मात्रै बच्चा जन्माउने प्रवृत्ति बढिरहेको छ । बाबुआमाको सीमित कमाइ र कामधामका कारण धेरै बच्चा जन्माउने आम्दानी र फुर्सद दुवै हुँदैन । बच्चा हुर्काउन र शिक्षादीक्षा दिन महँगो पर्ने कारणले गर्दा थोरै मात्र बच्चा जन्माउने प्रवृत्ति सहरदेखि गाउँसम्मै विस्तार भएको छ ।
एकल परिवार संख्या बढ्दो
जनगणनाले परिवार संख्या भने बढिरहेको देखाएको छ । जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालमा बसोबास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ रहेको छ र ती परिवार जम्मा ५६ लाख ४३ हजार ९४५ वटा घरमा बसेका देखिएको छ ।
अर्थात्, १० वटा घरमा औसतमा १२ वटा परिवार बसोबास गरेको देखिन्छ । खास गरी सहरी क्षेत्रमा एकै घरमा धेरै परिवार बस्ने कारणले गर्दा यस्तो देखिएको हो ।










प्रतिक्रिया दिनुहोस्