26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

बलियामा महिलाको सामूहिक बलात्कारः यौनाङ्ग क्षतविक्षत, अवस्था गम्भीर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ ९, २०७८  

महिलालाई लिएर यही गाडीभित्र राखेर सामूहिक बलात्कार गरिएको थियो

मोरङ ।

मोरङको बलियामा अपराधको परकाष्टा नाघ्ने गरी एउटा सामूहिक बलात्कारको घटना भएको छ । बेलबारी नगरपालिका–४ की ३० वर्षीया महिला सामूहिक बलात्कारको सिकार भएकी हुन् ।

अमानवीय एवम् क्रुर घटनाको सिकार बनेकी उनको अवस्था गम्भीर छ । पीडितको उपचार विराटनगरस्थित कोसी अस्पतालमा भइरहेको छ । सुन्दरहरैँचा नगरपालिका–४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमीली लजको एउटा कोठामा बन्धक बनाएर महिलामाथि तीन जनाले शुक्रबार राति सामूहिक बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपसी मञ्जील मुकारुङले जानकारी दिए ।

मुकारुङका अनुसार होटल सञ्चालक सुन्दरहरैँचा–४ का ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर बताउने रामबहादुर नेपालीले होटलमा राखेर रातभर सामूहिक बलात्कार गर्दा महिलाको अवस्था चिन्ताजनक बनेको हो ।

अत्यधिक रक्तश्राव भएका कारण महिलाको अवस्था निक्कै गम्भीर बनेर गएको उपचारमा संलग्न चिकित्सकलाई उद्रित गर्दै प्रहरीले जनाएको छ । चिकित्सकका अनुसार बलात्कार गरेर उनको यौनाङ्ग क्षतिविक्षत बनाइएको छ ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएकी महिलाले शुक्रबारदेखि नै सुनसरीको इटहरीस्थित एउटा घरमा काम गर्न थालेकी थिइन् । काम सकेर सुन्दरहरैँचाकै गछियास्थित बहिनीको घरमा फर्कदै गरेको अवस्थामा उनलाई बलात्कारमा संलग्नमध्ये रामबहादुरले शुक्रबार साँझ ६ बजेतिर गाडीमा राखेर गछियाबाट लगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार इटहरीबाट गाडीमा आएर गछियामा ओर्लिएपछि उनले बहिनीको घरको लोकेसन अर्को गाडीमा रहेका रामबहादुरलाई सोधिन् । बहिनीको घर पुर्याइदिन्छुभन्दै गाडीमा राखेर होटलमा लगेको पाइएको डिएसपी मुकारुङले बताए । घटनापछि रामबहादुर फरार छन् । प्रहरीले उनको नाम रामबहादुर नेपाली हो कि हैन भनेर यकिन हुन भने बाँकी रहेको जनाएको छ । उनीसँगै बलात्कारमा संलग्न मनोज पनि फरार थिए । उनलाई भने प्रहरीले शनिबार साँझ पक्राउ गरिसकेको छ ।

बलात्कार पीडित महिलालाई उपचारका लागि कोसी अस्पताल लिएर आएका होटल सञ्चालक अर्जुनलाई प्रहरीले शनिबार दिउँसो विराटनगरबाटै पक्राउ गरेको थियो । उनले महिलालाई प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर उपचारका लागि कोसी अस्पताल ल्याएका थिए । महिलालाई शुक्रबार साँझ गछिया पुलबाट त्यही गाडीमा राखेर रामबहादुरले होटलसम्म लगेको पाइएको प्रहरीले जनाएको छ ।

बलात्कार गर्न नदिएर महिलाले प्रतिकार गरेपछि अर्जुनले हात भित्र छिएर महिलाको यौनाङ्ग नै क्षतिविक्षत बनाइदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार अत्यधिक रक्तश्राव भएकी महिलाको यौनाङ्ग क्षतिविक्षत हुनुका साथै शरीरभरि नीलडाम र चोटपटक छ । डिएसपी मुकारुङले प्रतिकार गर्न थालेपछि महिलालाई यातना दिने र कुटपिट गर्ने कामसमेत भएको बताए । प्रहरीले अर्जुनको होटलमा काम गर्ने आरती श्रेष्ठ नाम गरेकी युवतीलाई पनि नियन्त्रणमा लिएको छ ।

डिएसपी मुकारुङका अनुसार सामूहिक बलात्कार भएको घटना प्रत्यक्ष देखेकी युवतीले पीडित महिलाले चिच्याएर हारगुहार गर्दा पनि प्रहरीलाई खबर नगरेको पाइएपछि उनलाई समेत पक्राउ गरिएको छ । बलात्कार गरिएको होटलमा पुग्दा आरती र बलात्कारमा संलग्न अर्जुनका भाइ मनोजले पीडित महिलाकी बहिनीलाई दुव्र्यवहारसमेत गरेको पाइएको उनले बताए । गम्भीर ढङ्गले घटनाको अनुसन्धान थालेर फरार रहेका रामबहादुरको खोजी तीव्र पारिएको मुकारुङले बताए ।

महिलाका ४ वर्ष र १७ महिनाका दुई जना छोरी छन् । पीडित महिला सपरिवार खोटाङबाट गत असोजमा मोरङको बेलबारी बसाइँ सरेकी हुन् । श्रीमान २ महीनाअघि पहाड घर खोटाङ गएका थिए । दुई जना कलिला नानीहरुलाई गछियास्थित बहिनीको घरमा छाडेर काम गर्न गएकी उनलाई कामबाट फर्कने क्रममा अपहरण शैलीमा लगेर बलात्कार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुरुमा रामबहादुरले र त्यसपछि मनोज तथा अर्जुनले पालैपालो बलात्कार गरेको पाइएको छ ।

शुक्रबार राति बलात्कार भए पनि पीडितलाई उपचारका लागि भर्ना गरिएपछि शनिबार दिउँसो मात्रै प्रहरीले घटना थाहा पाएको हो । प्रहरीका अनुसार महिलालाई बेहोस बनाउने वस्तु सुँघाएर र खुवाएर लठ्याएपछि बलात्कार गरिएको हुनसक्छ ।

पीडितकी बहिनीले घटनाका बारेमा आफूहरुलाई शनिबार बिहान ८ बजे मात्रै थाहा भएको बताइन् । भनिन्, ‘घटना थाहा पाएर पुग्दा बलात्कार गरिएको कोठा र ओछ्यान रक्ताम्य थियो ।’ दिदीलाई बेहोस भएर रगतको आहालमा डुबेको देखेपछि आफूले केही सोच्न नसकेको उनले बताइन् । उपचारका लागि लैजानलाई हारगुहार गर्दा आफूमाथि नै दुव्र्यवहार भएको गुनासो उनको छ । प्रहरीलाई खबर गर्छु भनेपछि मात्रै उपचारका लागि लैजान होटल सञ्चालक तयार भएको उनले बताइन् ।

उनले उपचारका लागि ल्याउने क्रममा रक्तश्राव नरोकिएकाले गाडीको सिट नै सबै रक्ताम्य भएको जानकारी दिइन् । घर नफर्किएपछि खोजी गर्ने क्रममा आफूले दिदीलाई बलात्कारबाट पीडित भएर जीवन र मरणको दोसाँधमा छटपटाइरहेको अवस्थामा पाएको उनको भनाइ छ । उनले बलात्कारमा संलग्नले घटना सार्वजनिक गरेमा मारिदिनेसम्मको धम्की दिएको गुनासो पोखिन् । बलात्कारमा संलग्नसँग पुरानो चिनजान नरहेको उनले बताइन् ।

उपचारमा संलग्न प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा। रिभा केसीले अत्यधिक रक्तश्रावका कारण महिलाको स्वास्थ्य अवस्था जटिल बनेको बताइन् । ‘अवस्था अन्तिम बनिसकेपछि मात्रै उपचारका लागि ल्याइएको रहेछ,’ उनले भनिन्, ‘अस्पताल ल्याउन केही ढिला भएको पाइयो ।’

उनले चिन्ताजनक अवस्थाकी बलात्कार पीडित महिलाको उपचार जारी राखिएको जानकारी दिइन् । डा। केसीका अनुसार पीडित महिलाको यौनाङ्ग क्षतिविक्षत छ । शरीरका विभिन्न भागमा चोटपटक छ । अरु थप समस्या भने परीक्षण गरिसकेपछि मात्रै पत्ता लाग्ने डा। केसीको भनाइ छ ।

बलात्कारबाट पीडित बनेकी महिलाका आफन्तले अमानवीय एवम् क्रुर घटनाका दोषीमाथि कारबाही हुनुपर्ने माग राखेका छन् । पीडितका काकाले सम्झनै नसक्ने र आङ् सिरिङ्ग हुने घटनाका दोषीलाई जतिसक्दो चाँडो प्रहरीले कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । प्रहरीले घटनाका दोषीविरुद्ध जबरजस्ती करणी लगायतका मुद्दा चलाउने भएको छ ।

www.purbelinews.com

प्रकाशित मितिः आइतवार, माघ ९, २०७८     10:22:03 AM  |