16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

लेखन–एक युद्ध !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, पुस १७, २०७८  

पुस्तक आफैमा जटिल प्रक्रिया हो ,सोचलाई साँचोमा ढाल्ने साधन पो त । एउटा यस्तो पुस्तक जसभित्र एउटा पाठक र एउटा लेखक सँगै युद्दरत हुन्छन् । पढिरहदा लेखक सक्रिय हुन्छ । पढ्न छोडेर पाठकले लेखक मार्छ । आफू सक्रिय हुन्छ । घरी लेखक मर्छ घरी पाठक मर्छ । पाठकले लेखक र लेखकले पाठक मार्ने खेल अन्त्यसम्म चलिरहन्छ । जहाँ लेखन होइन यथार्थमा सबै कुरा भैरहेको हुन्छ । विगत वर्तमान र भविष्यको त्रिकोणात्मक समयको मिश्रणमा आफू विजयी हुँदा दुई कोण गायब हुन्छन् ।


समयको अर्को एउटा कोण हुन्छ, जहाँ बसेर तिनै कोण नियालेर एउटा वर्गमा खेल हुन्छ । अन्तमा वर्ग पनि एउटा वृत्त बनेको हुन्छ । लेखक , एक कुनामा बसेर समयका तीन आयामलाई गुडिया बनाएर खेलाइ रहन्छ । समय , युग र चेतना सँग खेल्नु चानचुने कुरा नै होइन । त्यसैले पटकपटक लेखक मर्छ,पटकपटक पाठक मर्छ । यो खेल हो । बेदले सबै पाठक मारेर आफूलाई स्थापित ग¥यो धर्मको नाममा । आजसम्म जति कुरा लेखिए पढिए चेतनाको त्यही एउटा घर भित्रको खेल हुन् ।

जिब्रो वाला याद मस्तिष्कमा हुनाले बेलाबेला जिब्रो मार्नुपर्छ । मस्तिष्कको जिब्रो बचाउँन आफू बाँचि रहनपर्छ । कहिले पाठक जिब्रो भैदिन्छ । कहिले लेखक मस्तिष्क । कहिले फेरि लेखक जिब्रो भैदिन्छ कहिले पाठक मस्तिष्क भैदिन्छ ।
संसार अस्तित्वको लडाइ अनि जितको उपज हो । एउटा चिज देखिनु अर्को लोप हुनु हो । उपस्थितिलाई विज्ञानले प्रमाणित ग¥यो । बस्तुको उपस्थिति पछिको प्रतिक्रिया नै मानवीय सोचाइको आधारशिला हो । अँध्यारो किन हुन्छ, उज्यालो किन ? अँध्यारोले उज्यालोलाई र उज्यालोले अँध्यारोलाई विस्थापित गर्छ । उज्यालोको भिन्न गुण र अँध्यारोको भिन्न गुण छन् । यहाँनेर हामी गुणको पछि आँखा चिम्लेर लागिदिन्छौ । हामी निसर्त उज्यालोको पक्षमा भोट हाल्छौं । यो राजनीतिक चुनावको भोटको जिजुबुवा हो । आँखाले देखेको कुरा अर्थात ‘फ्राइ’ भैसकेका हाम्रा पञ्च इन्द्रिय ज्ञानेन्दृयहरुले निर्देशन गरेका कुरा सही अरु सब खराब भन्ने कुराको ‘भोटिङ्ग’ यति छिटो र सजिलोसँग हुन्छ हामीलाई कुनै निर्वाचन आयोगको खाँचो पर्दैन ।

एकले अर्कोको अस्तित्व प्राकृतिक रूपमा स्वीकार हुँदैन,भएको छैन । पानीले आगो र आगोले पानी सकाउन नै उत्पति भएका हुन् जस्तो । विपरीत अस्तित्व आगो र पानीका । सस्तो बस्तुका उपभोक्ता हामी तिर्खामा पानी ठिक भन्छौँ । भोक लाग्दा र चिसो हुँदा आगो ठिक भन्छौं । बुद्धिले आगोमा पानी उमालेर भोक नास भएको प्राकृतिक राजनीति बुझ्न कठिन हुन्छ ।
लेखक त्यो भान्से हो । उसले बिष हालेर खाना पकाएको भए पनि ख्वाउनु छ । पाकेको सामान सकाउनु जो छ । आफ्नो कर्तव्यबोधले लेखक छताछुल्ल छ । बाढीको बहावले के कति हानी नोक्सानी ग¥यो त भनेर थाहा पाउन सङलिनु जरुरी छ । त्यो बेलासम्म पाठक जागिसकेको हुन्छ । पाठक उठिसकेको हुन्छ । पाठक उठ्दा लेखक नतमस्तक हुन्छ । पाठकले लेखकलाई के कति बचाउँने या के कसरी कति पटक मार्ने भन्ने स्वतन्त्रताको बिनम्र कर्तव्य बोधले थिचिएको छ । थिचिएकै हुन्छ ।

पुस्तक पनि चरम युद्ध मैदान हो । त्यहाँ हत्याहिंसाको यो निर्मम खेल चलिरहेको हुन्छ । पाइला पाइलामा हत्या हिंसा छ । पलपलमा रगतको रंग फेरिन्छ । वातावरण फेरिने क्रम यति तिब्र छ की दर्शकलाई कुनै बिग्रेको सिनेमा फास्ट फवार्डमा हेरेको झै लाग्छ । यसको तत्वगत रूपमा बुझ्न कि मेरो पाठक छ की मेरो लेखक की म मात्रै ।
यहाँनेर तपाई त्रिकोण देख्नु हुन्छ । यहीनेर म चौथो कोण कल्पना गरिहाल्छु । म त्यहीबाट यो सब नियाल्छु । मेरो नियाल्ने क्रम अर्थात चक्र नै दुनियाँ भनेर बुझ्नुहुन्न्छ तपाईं । संसार भनेर परिचित हुनुहुन्छ तपाईं । याद गर्नुस् तपाईं एउटा पुस्तक पढ्दै हुनुहुन्छ । त्यो दृश्य तपाईं आफै देख्दै हुनुहुन्छ । यो फगत कल्पना होइन । यो अदृश्य यथार्थ हो । कति अदृश्य यथार्थलाई हामी स्वीकार गर्न सक्दैनौं तर हामी भोग्न विवश हुन्छौं ।

तपाईं एकठाउँमा उभिनु भएको छ । त्यहाँदेखि तपाईं केही देख्दै हुनुहुन्छ । त्यो देखेको चिज वस्तु या स्थानले तपाईंलाई देखेको छ बीचमा एउटा दुरि छ यो सब देख्ने अर्को छ । तपाईं हुनुहुन्छ तपाईंको तल एउटा माथि एउटा स्थान छ । तपाईं यसरी नै अडिनु भएको छ देख्ने अर्को छ । तपाईं आफुलाई देख्नु हुन्छ अघिल्लो या पछिल्लो पुस्ता छ यो यथार्थ हो । यी सबै यथार्थ देख्ने अर्को एउटा छ । जसलाई यहाँ आजसम्म आजभन्दा धेरै अघिदेखि ईश्वरको उपाधिमा उठाइयो । कहिले राम उम्मेदवार थिए, कहिले कृष्ण, कहिले बुद्ध त कहिले मोहम्मद पैगम्बर । तिनीहरु पनि हामी जस्तै तपाईं जस्तै अथवा म जस्तै थिए । अस्तित्वबोधको चेतनाले उनीहरुको व्यापार आज पर्यन्त चलिरहेको छ, दैनिक फस्टाउँदै । उसलाई राम्रोसँग थाहा छ, फलाम भनेजस्तो बनाउन कुन मोड कुन तापक्रम कसरी उपयोगमा ल्याउने । तपाई हामी खिइने बर्ग हुनाले फलाम भन्दिएँ मैले । उसो त सुनको पनि हविगत उहीँ हो । चाँदी पनि मख्ख नपरे हुन्छ । हिरा त बाँकी राख्दैन । समय आफुसँग खेल्नेहरुलाई सफल देख्छ दुनियाँ । गोल हुन पोस्टको बिम समेत नछोएर छिर्छ नि बल । स्लो मोसनमा हेर्न सकिन्छ नि । हो त्यसरी समयलाई रोकेर राख्छ त्यो लेखक एउटा पाठकलाई । मानौँ लेखक जेलर हो पाठक बन्दी ।

जहाँनेर यो पद र हैसियत सिर्जना हुन सक्दैन । मान्नुस, यो फ्लप पुस्तक हो । फ्लप फ्लिम जस्तो । उसो त फ्लप फ्लिम पनि चलाइन्छ र बक्स अफिसमा हिट भएको प्रमाणित गरिन्छ । जहाँ केही ठूलो टीका र प्रसादको पुरस्कारको माला पनि पहिराइन्छ । कलाकार र निर्देशकको भुमिका एकातिर हुन्छ । युद्ध र संघर्षको कथा छायामा हुन्छ ।पाठक अर्थात एउटा दर्शक फगत ब्यापारको सिँढी मात्र भैदिन्छ ।
तपाईं देख्दै हुनुहुन्छ । सुन्दै हुनुहुन्छ । मनन गर्दै हुनुहुन्छ ।

बोझ थोपर्ने वाइहात लेखक,चार कुरा गुगल गरेर एक कुरा मन देखि थप्ने कामचोर को के किताब पढ्नु । एउटा पुस्तकले मन अड्याउन्न । पानामा आँखा अडिन्न । एक अनुच्छेद पढ्दा नै अत्यास लाग्छ । आँखा फड्किन्छन् शब्द र वाक्यका दिक्क लाग्दा गौडा र गल्छिहरु । आगो बाल्दिन्छ पन्ना पन्ना च्यातेर जो कोहिले । गीता कुरान बाइबल अनि त्रिपिटक समेत जलाउन हैसियत राख्ने तँ मुला लेखक मलाई के सम्झिन्छस् । तँलाई पढ्दा पढ्दै म सकिए । मेरा बा अनि मेरो छोरो सकियो । साला मेरो तन मन धन सकाउन साम दाम दण्ड भेद प्रयोग गरेको छ्स् । म बुझ्दिन र । पाठक जहिल्यै हाबी हुन्छ जित्छ तपाईंको नजरमा । तपाईंलाई पाठक प्रती एकरत्ती सहानुभूति पैदा हुँदैन र ?
जब लेखकको पल्लामा चढ्नु हुन्छ । विचारको चेतक चढेर जब लेखकको आँगनमा पुग्नु हुन्छ नि तपाईं लेखकको शक्तिको भक्त भैदिइ हाल्नु हुन्छ । उसको नयाँ प्रयोग । अघिल्लो अनुभव । हिजोको भन्दा स्तरीय । जसरी पनि पढिनु पर्ने । प्रकाशनको नेतृत्वमा युद्ध छेड्नु नै छ । एउटा पाठक जाबो त जसरी पनि ढाल्न सकिन्छ । चाहिए जति लैजानुहोस भनिएको ढाल न सकिन्छ न रोग र अनावश्यक गर्भपतन र गर्भ निरोध । ढाल्न सक्ने भनेको फगत युद्धमा हो । पाठक सँगको युद्धमा । लेखकले जित्यो भने बत्तिको पुतली हुन थप पुतली आफै बोलाउँछ त्यो सुधो पाठक । जसले एक पटक पढ्न पनि खुन पसिना बगाएर गास कटाएर जोगाउनु पर्छ । उसलाई मारेर लेखक पाटी खान्छ । रमाइलो गर्छ । बिज्ञापन गर्छ पाठक हत्या अभियानको । तेरीमा साहित्यको खेलो ।

वाइहात न आय न आम्दानी, पैसा न सैसा टिको ठ्याँस ठ्याँस भने झैँ कोमल मन कोप्न दुखपिर ब्यथाको गहिराईमा हुत्याउँछ बलियो लेखक । बिचरो निरीह पाठकलाई । संबेदनसिलताको हतियारले मुटु कलेजो निकालेर राखिदिन्छ त्यो पाठकको एउटा अपराधि तानाशाह पाठकले ।
यत्रो बेर तपाईं लेखकको कोडमा हुनुहुन्छ । ल बधाई छ । तपाईंको लेखकले जित्यो । तपाईंको आँखामा । युद्ध जारी छ । योद्धाहरु कोहि भन्दा कोहि कम देख्दिन म । यहाँ भाषा भूगोल प्रविधि र शैली अनि अभिव्यक्ति भनेका सब तपशिलका कुरा हुन् । चेतनाको युद्ध सायद उच्च स्तरको युद्ध हुनुपर्छ । तर युद्धमा नियमहरु समान हुने गर्छन् । संसारमा आएका पुस्तकको बाढी बाट संग्रह गर्न र पठन योग्य पुस्तक छान्न राजहास हुनुपर्ने स्थितिमा पुस्तक र पाठकबीचको आन्तरिक सम्बन्ध यस्तै देखिन्छ ।
तपाईं पाठक नभई लेखक हुन सक्नु हुन्न । कसै न कसैको प्रभाव तपाईंमा परेकै हुन्छ । यो कुराको अस्वीकार गर्ने लेखक ढवाङ्ग रच्दै हुन्छ आफै माथि । आफ्नो आलोचना खप्न दुखाइ भन्दा गार्हो काम हो । आलोचना स्विकार गर्दै अघि बढ्ने लेखक स्थायी लेखक हुन सक्छ । उसको अध्ययनको दायरा भित्र कुनै पाठक पर्छन् पर्दैनन् यो आजको अहं प्रश्न हो ।

– विष्णु पादुका कोहलपुर –४ , बाँके 

प्रकाशित मितिः शनिबार, पुस १७, २०७८     4:11:12 PM  |