चारैतिर सेताम्य हिमाल, बीचमा सम्म परेका हिउँमय फाँट ! देख्दा आहा लागे पनि त्यो क्षणभरमै पीडामा रुपान्तरित हुने गर्छ ।
घुम्नका लागि रमाइलो र मनोरम दृश्यका लागि सबैको रोजाइमा पर्ने भए पनि बर्सेनी उपल्लो डोल्पामा बसिरहेका सर्वसाधारणको पीडा थपिँदै गएको छ । असमान आर्थिक बाँडफाँड प्रणालीका कारण उपल्लो डोल्पामा राज्यको अनुभूति गराउन नसकेको स्थानीयको गुनासो छ ।
मध्यपहाड र तराई क्षेत्रमा तीन प्रकारको मौसम पाइए पनि उपल्लो डोल्पामा सधैँ एकै नासको हुने गर्छ । झण्डै चार महिना हिउँले ढाकेको अवस्थामा रहने उपल्लो डोल्पा बाँकी दिनमा समेत चिसो मौसमकै रूपमा आफ्नो परिचय बनाउँदै आएको छ ।
‘पशुचौपायालाई उवाको जम्मा गरिराखेको पराल खुवाउने र सर्वसाधारण घरभित्र थुनिएर बस्नुपर्ने बाध्यता छ’, डोल्पोबुद्ध गाउँपालिका–१ धो मा बस्दै आएकी पेमा गुरुङले भनिन्, ‘छिमेकी गाउँमा जान सक्ने अवस्था छैन, हिउँले बाटो बन्द गरेको छ । भारी हिमपातले बाटोको निसाना नै पुरिदिएकाले अन्य ठाउँमा जाने सम्भावना देखिँदैन ।
यहाँका सर्वसाधारण बिरामी भएमा डोकोमा बोकेर अस्पताल लैजानुपर्ने अवस्था छ ।’ चिसोका कारण उपल्लो डोल्पाका सात वटा प्रहरी चौकीसमेत सदरमुकाम दुनै सारिएको छ । चिसोसँग मुकाबिला गर्नका लागि आवश्यक सामग्री व्यवस्थापन नहुँदा प्रहरी चौकी दुनै सारिएको हो । उपल्लो डोल्पा अहिले सुरक्षाविहीन अवस्थामा रहेको पेमाले बताइन् । ‘हुने खानेहरू सदरमुकाम दुनैसहित देशका विभिन्न ठाउँमा झरिसकेका छन्, गरिबहरू मात्र हिउँको खालमा बस्न बाध्य भएका छन् ।’
गर्भवती, सुत्केरी र बालबालिकालाई चिसोले भारी समस्या बनाउने गरेको छ । सञ्चार सम्पर्कसमेत मुस्किलले हुने उपल्लो डोल्पामा बिरामी भएको समयमा उपचार पाउन मुस्किल छ । हिमपातकै कारण उपल्लो डोल्पामा चार महिना नियमित लगाउने खोप सेवासमेत बन्द हुने गरेको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमख सिंहराज शाहीले बताए ।
उनले भने, ‘हिउँले बाटो बन्द छ, हेलिकप्टरमा खोप लिन सक्ने हाम्रो क्षमता छैन । कम्तीमा चार महिना त पूरै खोप बन्द हुने गर्छ।’ चिसो मौसममा पुग्ने गरी खाना जम्मा गरेर यहाँका स्थानीयवासी राख्ने गर्छ । उपल्लो डोल्पामा सञ्चालनमा रहेका सरकारी कार्यालय र स्थानीय तहका कर्मचारीसमेत दुनै झरेर चिसो मौसम कटाएर उपल्लो डोल्पा जाने गर्छन् ।
उपल्लो डोल्पाका तीन पालिकालाई छुट्टै क्षेत्र बनाएर राज्यले सेवासुविधा दिनुपर्ने त्यहाँका नागरिकले केही दिनअघि डोल्पा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग माग गरेका थिए । त्यो बेला उनले आफूले सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए ।
उपल्लो डोल्पा सधैँ चिसो र हिउँले सेताम्य हुन्छ । मध्यडोल्पामा मध्यखालको मौसम हुने गर्छ भने तल्लो डोल्पाको मौसम जाजरकोटसँग मिल्दोजुल्दो रहेको छ । यहाँको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा समेत चिसो मौसममा वन्यजन्तुको सुरक्षा गर्न मुस्किल हुँदै आएको छ । उपल्लो डोल्पामा रहेका सुरक्षा पोष्टसमेत चिसोले प्रभावित हुने गरेका छन् ।
सुरक्षाका कारण देखाउँदै सुलिगाडमा झारिएको कार्यालय अहिलेसम्म उपल्लो डोल्पामा सार्न नसकिएको निकुञ्जले जनाएको छ । चिसो मौसमका कारण स्वास्थ्य संस्थासम्म बिरामी जान नसक्दा स्थानीय आम्चीद्वारा उपचार हुने गरेको स्थानीयले बताएका छन् ।
स्थानीय जडीबुटी मिलाएर बुद्धिष्ट मन्त्रको आधारणमा गरिने यो उपचार विधिमा स्थानीय तहले समेत सहयोग गर्दै आएका छन् । सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पा भारी मात्रामा जडीबुटी पाइने क्षेत्रका रूपमा स्थापित छ । हिउँचितुवालगायत संरक्षित जनावर उपल्लो डोल्पामै पाइन्छ । –रासस
प्रतिक्रिया दिनुहोस्