एमालेको १० औं महाधिवेशनः बाँकेका एक दर्जन केन्द्रीय सदस्यका आंकाक्षी



शुभाकर विश्वकर्मा । कोहलपुर ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १० औं महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशन सुरु हुन केही घण्टामात्र बाँकी हुँदा विभिन्न पदमा उम्मेदवारी दाबी गर्नेहरुको लर्को लाग्न थालेको छ । भर्खरै सत्ता बर्हिगमन र पार्टी विभाजन व्यहोरेको एमालेको आजदेखि मंसिर १२ गतेसम्म चितवनमा महाधिवेशन हुँदैछ ।

विधान महाधिवेशनबाट टोलदेखि केन्द्रसम्म सहमतीय पद्धतीबाट नेतृत्व छनौट गरिने भनिएपनि निर्वाचन हुने संकेत देखिएको छ । एमालेको केन्द्रीय अध्यक्षमा वर्तमान उपाध्यक्ष भीम बहादुर रावलले उम्मेदवारी घोषणा गरेका छन् । यसले सर्वसहमत अध्यक्ष चुनिने वर्तमान अध्यक्ष केपी शर्मा ओलीको आकांक्षामा धक्का पुगेको छ ।

मंगलबार पार्टीले आयोजना गरेको पत्रकार सम्मलेनमा अध्यक्ष ओलीले नेतृत्वको लागि चुनाव हुन सक्ने संकेत गरेका थिए । यस्तै बाँकेका नेताहरुले समेत महाधिवेशनमा केन्द्रीय सदस्यको लागि आंकाक्षा देखाएका छन् । प्रत्यक्ष रुपमा बाँकेमा करिब एक दर्जन बढी नेताहरुले केन्द्रीय सदस्यको आंकाक्षा देखाएका छन् ।

नेताहरुको क्रियाशिलता, पार्टीमा गरेको योगदान, समुदाय र भूगोल समेत समेटिने गरी उम्मेदवारी घोषणा भएको हो । केन्द्रीय सदस्यका लागि केहीले औपचारिक घोषणा नै गरेका छन् । भने केहीले अप्रत्यक्ष रुपमा केन्द्रीय सदस्यको लागि आकांक्षा देखाएका हुन् ।

उम्मेदवारी घोषणा गर्नेहरुमा संविधानसभा सदस्य, पूर्व र वर्तमान पार्टी अध्यक्ष, पार्टी विभाजन अघिको गुट परिवर्तन गरेर मुलधारमै फर्किएकादेखि प्रतिनिधिसभा चुनावमा पराजित नेतासम्म रहेका छन् । केन्द्रीय सदस्यमा आकांक्षा देखाउनेहरुमा देवराज भार, सूर्य ढकाल, बसन्ती अधिकारी, विजया धिताल, निरक गुरुङ, हलिम शाह, अशोक कर्माचार्य, मोहम्मद हारुन र पुजन विश्वकर्मा रहेका छन् ।

संविधान सभा सदस्य भइसकेका बाँकेमा पुराना नेता भारले केन्द्रीय कमिटीको सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ । उनले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै भूगोलबाट उम्मेदवारी दिने भएका हुन् । यस्तै बाँकेमा लामो समयदेखि सहकारी अभियान्ताका रुपमा परिचित एमाले बाँकेकी नेतृ विजया धितालले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् ।

अनेरास्वियूबाट राजनीति सुरु गरेकी उनी लामो समयदेखि पार्टी राजनीतिमा समेत सक्रिय छिन् । उनले अहिले सामाजिक सञ्जाल फेसबुकमार्फत केन्द्रीय सदस्यमा जिताउन अपील समेत गरिरहेकी छन् । निर्वाचन क्षेत्र नम्बर २ बाट महिला कोटाबाट महाधिवेशन प्रतिनिधि छनौट भएकी धिताल नेपाली काँग्रेसका स्वर्गीय सभापति एवंम् पूर्वप्रधानमन्त्री बाँके निवासी सुशिल कोइरालासँग दोस्रो संविधान सभाको निर्वाचनमा प्रतिस्पर्धा समेत गरेकी महिला हुन् ।

यस्तै खुल्ला केन्द्रीय सदस्यमा महिला नेतृ बसन्ती अधिकारीले समेत उम्मेदवारी घोषणा गरेकी छन् । नेकपा हुँदा कोहलपुर नगरपालिकाको अध्यक्ष रहेकी उनले लामो समयको क्रियाशिलता तथा महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गर्नको लागि उम्मेदवारी दिएको बताइन् । हाल प्रदेश सदस्य समेत रहेकी उनले आफूलाई अमूल्य भोट दिएर जिताउनेमा विस्वास व्यक्त गरेकी छन् ।

यस्तै बाँके एमालेका पूर्व अध्यक्ष सूर्य ढकालले समेत खुल्ला केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् । नेकपा एमाले विभाजन पूर्व संक्रमणकालीन अवस्थामा बाँके जिल्ला अध्यक्षको जिम्मेवारी पाएका ढकालले पार्टी कमिटी विस्तार गर्ने लगायतका थुप्रै काम गरेका थिए ।

उनी बाँकेमा लोकप्रिय नेताका रुपमा परिचित छन् । यसैगरी अहिले नेकपा बाँकेका अध्यक्ष समेत रहेका निरक गुरुङ जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने भएका छन् । उनीसँगै बाँके एमालेका नेता अशोक कर्माचार्य समेत आकांक्षी छन् ।

केन्द्रिय कमिटीमा मुस्लिम कोटाबाट बाँकेकै हलिम शाहले समेत केन्द्रीय सदस्यमा आफ्नो उम्मेवारी घोषणा गरिसकेका छन् । नेपाल मुस्लिम इत्तेहाद संगठन कन्द्रिय सचिवालय सदस्य र पार्टी प्रदेश सदस्य समेत रहेका शाह बाँकेमा मुस्लिम समुदायका अग्रणी नेता मानिन्छन् । उनले नेकपा एमालेलाई थप शसक्त रुपमा अघि बढाउनको लागि उम्मेदवारी दिएका जानकारी दिए ।

यसैगरी दलित समावेशी कोटाका पुजन विश्वकर्मा पनि केन्द्रीय सदस्यका आकांक्षी हुन् । यस्तै हाल बैकल्पिक केन्द्रीय सदस्य रहेका मोहम्मद हारुनले समेत केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् । मुस्लिम कोटाबाट केन्द्रिय सदस्य बनेका उनी फेरी दोहोरिन चाहन्छन् । पत्रकार पृष्ठभुमि भएका उनी हाल नेकपा एमाले बाँकेका जिल्ला सह–ईन्चार्ज समेत हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर १० गते शुक्रबार