पूर्व सभामुख महराले भने, ‘एमसीसीले देशमा अस्थिरता निम्त्यायो’



कोहलपुर ।

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले देशमा देखिएको पछिल्लो राजनीतिक अस्थिरताको कारण एमसीसी नै भएको दावी गरेका छन् । पूर्व सभामुख तथा पार्टीका प्रवक्तासमेत रहेका नेता महराले एमसीसी विकास र आर्थिक सहयोग मात्रै नभएको बताएका हुन् ।

नेपाललाई अस्थिरतातर्फ धकेल्ने कारणहरुमध्ये एमसीसी पनि एक भएको उनको भनाइ छ । बाँकेको कोहलपुरमा आइतबार वाईसिएल बाँकेले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता महराले हाल सत्ता समीकरणमा रहेको पाँच दलीय गठबन्धन कमजोर बनाउने चलखेलसँग पनि एमसीसी जोडिएको बताए ।

‘नेपालको राजनीतिक भविष्यका विषयमा विदेशी शक्तिहरुको समेत चासो छ । अहिलेको आवश्यकता राष्ट्रिय हित हो । हामी कम्युनिष्टहरुका निम्ति राष्ट्रिय स्वाधीनता अनिवार्य शर्त हो,’ पूर्व सभामुख समेत रहेका महराले भने, ‘विदेशी शक्ति चलखेल गरिरहेका छन् । यसैसँग जोडिएको एमसीसी एक कार्यक्रम हो । यो विकास निर्माण र आर्थिक सहयोग मात्रै सम्बन्धित कार्य होइन ।’

नेपाल सरकारका अर्थमन्त्री समेत भइसकेका महराका अनुसार देशको हितको लागि ५५ अर्ब ठूलो कुरा होइन, ५५ खर्ब भए पनि अर्थ मन्त्रालयले स्वीकार गर्नु हुँदैन । विभिन्न बाहनामा विदेशी शक्तिले नेपाललाई अखडा बनाउन चाहेको उनको भनाइ छ ।

राजनीतिक रुपमा संक्रमणकालको अवस्थामा सतर्क हुन सकिएन भने हाम्रो अस्तित्व मेटिने खतरा रहेको उनले औल्याए । एमसीसीलाई लिएर ठूलौ विवाद सिर्जना गर्नुपर्ने कारण नै नरहेको उनले बताएका छन् ।

सत्ता साझेदार दलभित्र पनि यस विषयमा स्पष्ट धारणा बाहिर आउन नसकेको उनको भनाइ थियो । फरक प्रसंगमा नेपालमा माओवादी आन्दोलन कमजोर देखिएको भन्दै बृहत कम्युनिष्ट एकताको लागि पहल भइरहेको बताए ।

शनिबार मात्रै दाङमा विप्लवसँग बृहत् कम्युनिष्ट एकताका विषयमा छलफल भएको उनले जानकारी दिए । यस्तै आफूले देशभरका माओवादी शक्तिलाई एकताबद्ध बनाउन पूर्व सहमकर्मीहरुसँग निरन्तर छलफलमा भएको महराले बताएका छन् ।

आफूले अहिलेसम्म मोहन बैद्य, बाबुराम भट्टराई र मोहन विक्रम सिंह लगायतका नेताहरुलाई आफूले भेटेर कम्युनिष्ट एकताको पहल भइरहेको उनको भनाइ छ । सशस्त्र द्वन्द्वपछिदेखि अहिलेसम्मको अवस्थालाई हेर्दा माओबादी आन्दोलन कमजोर देखिएपनि अझै सुदृढ रुपमा अघि बढ्नुपर्ने अवस्था रहेको उनले बताए । त्यसको लागि बृहत कम्युनिष्ट एकता एकमात्र विकल्प रहेको बताएका छन् ।

‘चुनावसम्मै पाँच दलीय गठबन्धन’

वाइसिएल बाँकेद्वारा आयोजित शुभ दिपावली, छठ पर्व, २०७८ को पावन अवसरमा आयोजित शुभकामना तथा परीक्षण कार्यक्रम बोल्दै महराले असंवैधानिक कदमको विरुद्धमा, राष्ट्रिय हितको विपरित कार्य गर्ने प्रतिक्रियावादी पार्टी विरुद्ध पाँच दलीय गठबन्धन निर्माण भएको बताएका थिए । पाँच दललाई फुटाएर व्यवस्था कमजोर पार्ने खेल अहिले पनि जारी रहेको उनले जानकारी दिए ।

पाँच दलीय गठबन्धन निरन्तरताको आवश्यक रहेको भन्दै उनी भन्छन्, ‘यस्ता विरोधी शक्ति देशभित्र पनि छन्, देश बाहिर समेत छन् । यस्ता गलत कदमका विरुद्ध एकजुट हुनुपर्छ ।’ यस्तै उनले अहिलेको पाँच दलीय गठबन्धन तिनै तहको निर्वाचनसम्म रहने पनि बताए । पाँच दलीय गठबन्धन देशमा अहिलेसम्म प्राप्त उपलब्धिहरुको रक्षा गर्नको लागि जन्मिएको समेत उनको दावी छ ।

‘प्रतिक्रियावादीलाई कमजोर बनाउन हामी एकजुट हुनुको विकल्प छैन । यसमा युवाहरुको भूमिका समेत शसक्त रहन्छ । व्यवस्थाको रक्षाको लागि पनि गठबन्धन चुनावसम्म जानैपर्छ’, महराले भने ।

पछिल्लो एक वर्षमा नेपालको राजनीतिमा डरलाग्दा परिदृष्य देखा परेको भन्दै सबै सहज भएर अघि बढ्नुपर्ने बेला आएको उनको भनाइ छ । पूर्ववर्ती सरकारले देश र जनताको हित विपरीत कार्य गरेका कारण नयाँ सरकार बनाउनुपर्ने बाध्यता आइपरेको पनि महराको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक १५ गते सोमबार