20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

स्थानीय तहको नीति निर्माण प्रक्रिया सहभागितामुलक बनाउनुपर्नेमा जोड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज १०, २०७८  

सल्यान । स्थानीय तहको कानून निर्माण प्रक्रियालाई व्यवस्थित, पारदर्शी र सहभागितामूलक बनाउनुपर्ने विषयमा सल्यानको कपुरकोटमा छलफल भएको छ । छललफलमा सहभागी नागरिकहरुले कानून निर्माण प्रक्रियामा आफुहरुललाई सहभागी नबनाइएको भन्दै गुनासो गरेका छन् ।

सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत शुक्रबार कपुरकोट गाउँपालिकामा आयोजित स्थानीय सरकार र नागरिक समाजविच स्थानीय तहको नीति निर्माण प्रक्रिया सम्बन्धी छलफल कार्यक्रममा सहभागिहरुले गाउँपालिकाले ऐन, नियमावली वा निर्देशिका बनाउदा नागरिकहरुसंग सुझाव संकलन गर्नुपर्नेमा जोड दिएका हुन् । सामुदायीक समुहको तर्फबाट बोल्दै सुरेन्द्र वलीले नीति निर्माण र विकास निर्माण कार्यमा स्थानीय जनताहरूलाई सहभागी बनाउन जनप्रतिनिधी तथा कर्मचारीहरुलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले नीति निर्माण प्रक्रियामा नागरिकहरुको उल्लेख्यीय सहभागिता हुन नसक्नुमा आफुहरुको पनि केही कमजोरी रहेको स्वीकार्दै आगामी दिनमा यसलाइ सुधार गर्दै जाने बताइन् । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष हरिराल पुन, निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर शाही लगाएतले मन्तव्य राखेका थिए ।

सुशासनमा नागरिक सहभागिता कार्यक्रमका जिल्ला संयोजक गुमानसिंह नेपालीले स्थानीय सरकार सञ्चालन ऐनको अधीनमा रही कार्यपालिकाले आवश्यकता अनुसार नियम, निर्देशिका, कार्यविधि र मापदण्ड बनाउन सक्ने भन्दै कानुन निर्माण प्रक्रियाका चरणहरुको बारे अभिमुखिकरण गरेका थिए । छलफल कार्यक्रममा गाउँपालिका उपाध्यक्ष संगै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु, दलित विकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपाली, विषयगत शाखा कार्यालयका प्रमुखहरु र सामुदायीक समूह तथा युवा मञ्चका सदस्यहरुको सहभागिता थियो । कार्यक्रमको सञ्चालन सामुदायीक सहजकर्ता विष्णु प्रसाद गौतमले गरेका थिए ।

प्रकाशित मितिः आइतवार, अशोज १०, २०७८     7:11:29 AM  |