23 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

कथा: अनुहार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज ९, २०७८  

सुमित्रा न्यौपाने ।

भदौको उखरमाउलो गर्मी । तराईको तापक्रम ह्वात्तै बढेको छ । कोहलपुर पनि निकै तातेको छ यतिबेला । दिउसो बाटोमा बटुवा भेटिदैनन् । रोड पग्लिएर कालो टल्किन्छ । तातो गन्धले हिड्न सकिदैन ।

‘आकाशमा उड्ने चरा खस्छन’् भन्ने सुनेकी थिएँ सायद यस्तै मौसम भएर होला । जीवनका धेरै अध्याय यही तातोले पढाएको छ । अनुहारका पसिना पुछ्दै चप्परगौडीतिर ओरालो झर्दै थिएँ । अटो रिक्सा पनि देखिएनन् ।

हिडुन् पनि किन ? दिउसो मध्यान्हमा बाटोमा हिड्ने मान्छेहरु बिरलै भेटिन्छन् । कालो छाता ओढेकी थिएँ । हतार हतारमा थिएँ । छिटो घर पुगे आराम हुने थियो । पुल तरेर वारि आएँ । पिसपूmल रिभरसाइड होटलको अगाडि पुगेकी थिएँ ।

मेरा खुट्टा रोकिए । कोही तिव्र गतिमा मेरो अगाडि आइरहेको थियो । तर्किने कोशिष गर्दै थिएँ । उसलाई बाटो छोडें तर ऊ मेरै अगाडि आयो । झुत्रे झाम्रे पोषाक लगाएको मानसिक सन्तुलन ठिक नभएको मान्छे थियो ऊ ।

सधैं उसलाई बाटोमा देखिरहेकी हुन्थें । कहिले पिपलचौतारा, कहिले न्यूरोड, गोलपार्क त कहिले चप्परगौडी भेटिन्थ्यो । गुन्गुनाउँथ्यो तर कसैले सुन्दैनथ्यो । फेरि व्यस्त बजारमा उसको बारेमा सुन्ने मान्छे पनि को नै हुन्थ्यो र ? सबै म जस्तै त थिए । सधैंको हतार, सधैंको छट्पटी ।
ऊ नजिक नजिक आयो । ऊ भन्दा पहिले उसको दुर्गन्ध ह्वास्स नाकभित्र पस्यो ।

म तर्कन खोज्दै थिएँ । उसले पच्छाउन थाल्यो । म भाग्ने प्रयत्न गर्दै थिएँ । तर मभन्दा अगाडि भयो । मेरा दुबै हात च्याप्प समात्यो । मेरो अनुहार बिग्रियो । मुटुको चाल रोकियो । मैले भूकम्प गएको महसुस गरें । गतिहीन बनें म । चारैतिर अध्यारो भयो । के गर्ने गर्ने ? मेरो मुटुको गति अनियन्त्रित भयो । लाग्थ्यो अब मुटु फुट्दै छ । जोड जोडले स्वास फेरें ।

उसका हातहरू खस्रा थिए । पारीजात जस्तै । उसका हातहरूले मेरा कोमल हातहरू स्पर्श गरिरहेका थिए । सुम्सुम्याइरहेका थिए । म फुत्कने कोशिषमा थिएँ । ऊ झनै जोडले समात्थ्यो । मैले उसको अनुहारतिर हेरें । ऊ त भयानक देखियो । चिच्याएँ तर आवाज बाहिर निस्किएन । उसको दुर्गन्धले मलाई बोमिट होला जस्तो भयो । बढी त्रसित भएपछि बोमिट पनि बाहिर आउन सक्दो रहेनछ ।

नजिकै डि.बि.यस्. पेट्रोल पम्प थियो । गाडीहरु तेल भर्न लाइनमा थिए । ट्याक्टरवालाले पुलुक्क हे¥यो । मेरो अनुहारले सहयोगको याचना गरिरहेको थियो । खै के सोचे ? देखेर पनि नदेखे जस्तो गरे । ट्याक्टर स्टार्ट गरे । रोहिणी खोलातिर लागे । अन्यले वास्तै गरेनन् ।
सडक वरिपरिका धेरैले उसलाई चिनेका थिए । स्याङ्जा होटलका साहुजी सागर फुत्त निस्किए । मलाई देखे । दौडिदै आए ।

उनलाई देखेर मेरो सास आयो । ‘मलाई छुटाउनुस् न सागरजी प्लीज ।’ म यत्तिमात्र बोल्न सकें । उसले मलाई कब्जा गरेको थियो । म पुरै नियन्त्रणमा थिएँ । सागरले बोल्न खोज्दै थिए । उसले भुँइको ढुँगा टिप्यो । उनीतिरै ताक्यो । उनी पछाडि हटे । ‘हात छोडिदे’ । उनी चिच्याए । उसले वास्ता गरेन । मलाई फनक्क घुमायो । म उभिएको पोजिसन चेन्ज गरायो ।

क्रमशः रमिते बढ्दै थिए । मलाई वाक्क वाक्क हुँदै थियो । मेरो अनुहारमा हे¥यो पुलुक्क । उसका मेरा आँखा जुधे । मैले आँखा बन्द गरें । मेरो हालत नाजुक भैसकेको थियो । अनुहार कालो निलो भएको थियो । आँशु भरिएका थिए मेरा ।

मध्यान्हको रापमा मेरो राप पनि मिसिएको थियो ।

‘नो टच, ओ के । नो टच’ ।

उसले मेरो अनुहार हेरेपछि बोल्यो । हात खुकुलो गरायो ।

‘नो टच बेबी, नो टच’ । ऊ लगातार बोल्दै थियो ।

‘सरी बेबी, सरी’

छोडिदियो मेरा दुबै हात । मैले बाँचेको महसुस गरें । भिडमा रमितेहरु मुखामुख गर्दै थिए । हिजोसम्म ऊ मगज बिग्रिएको मान्छे मात्र थियो तर आज ऊ फरक देखिदै थियो । उसले बोलेका वाक्यहरु मिठा थिए । उसले शुद्ध अंगे्रजी बोलेको थियो ।

हिजो उसलाई दया मानेर खान दिनेहरु आज अनौठो मानिरहेका थिए । होटल अगाडि आउँथ्यो । एकशब्द बोल्दैनथ्यो । एकछिन पर्खन्थ्यो । दिए समात्थ्यो । नदिए अगाडि बढ्थ्यो । एक होटलबाट खाना पाएपछि अर्कोमा जाँदैनथ्यो । कसैको पर्वाह गर्दैनथ्यो । आज त्यही मान्छे अंग्रेजी बोल्दै थियो । ‘सरी बेबी, नो टच बेबी, नो टच भन्दै’ थियो ।

यस पूर्व कहिल्यै यस्तो गरेन । कसैलाई यस्तो गरेको पनि न देखें, न सुनें नै ? उसले तुरुन्तै मेरा हातमा नजर लगायो । मेरा हातहरु पनि मैला भएका थिए उसका जस्तै । आपूmले लगाएको कपडाको छेऊले मेरा हात पुछिदियो । म बिस्तारै पछाडि हट्दै थिएँ । हातखुट्टा लगलग काँपिरहेका थिए । दौडिने हिम्मत थिएन । ऊ मेरो नजिक नजिक बढ्दै थियो । म भागेर भिडमा पस्न खोज्दै थिएँ । च्याप्प समात्यो फेरि । म चिच्याएँ ।

‘नो टच, ओ के । नो टच ।’ फेरि उही शब्द दोहो¥यायो र छोडिदियो । मलाई यतिबेलासम्म कुनै क्षति पु¥याएको थिएन ।
स्याङ्जा होटलका साहुजीले मतिर फर्केर सोधे ‘म्याम यसलाई चिन्नुहुन्छ ?’ भिडको नजर मतिरै थियो । उत्तरको पर्खाइमा थिए सबै । मैले उसको अनुहारतिर हेरें । कहीँकतै चिनेजस्तो लागेन ।

‘अहँ । चिन्दिन ।’ मैले यत्ति के बोलेकी थिएँ

‘ह्वाट् ? यु नो बेबी । यु नो ।’ उसले फेरि बोल्यो ।

हिजोसम्म केही नबोल्ने मान्छे आज क्रमशः बोलेको थियो ।

म शान्त बन्ने प्रयास गरिरहेकी थिएँ । कपडा पसिनाले निथु्रक्कै भिजेका थिए । उसको मानसिक सन्तुलन ठिक थिएन । ऊ ‘कन्फ्युजन’मा थियो । जिन्स पाइन्ट लगाएको थियो । ठाउँ ठाउँमा फाटेको थियो ।

निलो रंग अर्कै बनिसकेको थियो । पकेटमा हात हाल्यो । दुई दाना लिची निकाल्यो । मतिर हात बढायो । म पछि हटें । ‘प्लीज’ भन्यो । ‘लिन्न’ भनें । ‘खाऊ न खाऊ’ भन्यो । ‘खान्न’ भनें । उसले मेरो व्याग तानेर हाल्न खोज्यो । मैले व्याग झट्कारें । मेरो असहमती बुझ्यो उसले । लिची फेरि पकेटमै हाल्यो ।

ऊ को हो ? के चाहन्छ मबाट ? म पूरै अलमलमा थिएँ । रमितेहरू कोही चुपचाप हेर्दै थिए । कोही हाँस्दै थिए । कसैले ‘हेर न यो पागलको हर्कत’ भन्दै थिए । म कसरी फुत्किने भन्ने चिन्तामा थिएँ । उसले छोड्नै मानेको थिएन । फुत्काउन खोज्नेहरूलाई ढुङ्गो ताक्थ्यो । गाली गर्नेप्रति कुनै पर्वाह नै थिएन । ‘यो त खतरा पो हुुन थाल्यो, पिटेर लखेट्नुपर्र्छ’ भन्दै थिए कसैले ।

‘अभद्र व्यवहार राम्रो हुँदैन’ भन्नेहरू पनि थिए । घरमा फोन गर्न खोजें, सकिरहेकी थिइन । संयोगले मेरो फोनको घण्टी बज्यो । उठाउन खोजें उसले उठाउन दिएन । ‘नो बेबी नो ।’ यत्ति बोल्यो । मोबाइल हातबाट भूइमा खस्ला जस्तो भयो । ‘बेबी कलिङ’ देखेकी थिएँ । महेशको फोन थियो । उठाउने हिम्मत गर्न सकिन । त्यसै राखिदिएँ ब्यागमा । ऊ खुशी देखियो ।

भिडबाट एक जनाले भने ‘यो त दिनदिनै खतरा हुँदै गएको छ । अस्तिमात्र एउटा केटीलाई लखेटेकोथ्यो पुल पारिसम्म । दौडिदा लडेर टाउको फुट्यो विचरीको ।’ अर्कोले थप्यो ‘कहिले आधा शरीरमा कपडा लगाउँछ । कहिले सर्वाङ्ग नाङ्गो बसिदिन्छ ।

पुलको वरिपरि हिड्न गाह्रो हुन्छ । एक्लै छोरीहरु कसरी कोहलपुर पठाउने ? पुलिसलाई भनेको टेरपुच्छर लगाएन ।’ भिडबाट एक महिला बोलिन् ‘यो त्यति नजाती पनि छैन । सधंै मेरो होटलमा आउँछ । चुपचाप उभिन्छ । दिए खान्छ नदिए अगाडि बढ्छ । कहिले बद्मासी गर्दैन । बरु पुल नजिकैको शिवको मन्दिरमा एकोहोरो हेरिरहन्छ ।’

म संघर्ष गर्दै थिएँ । मेरो घरसम्म सबै खबर पुगिसकेछ । महेश दौडिएर आए । उनलाई देख्ने बित्तिकै चिच्याएँ । अब भने फुत्किन सक्छु भन्ने लाग्यो । बाँच्छु जस्तो लाग्यो । ‘बचाउनुस् प्लिज ।’ मलाई लागेको थियो उनी सिधै झम्टिने छन् ऊसलाई । भकुर्ने छन् लात्तैलात्ताले । घिसार्ने छन् कपाल समातेर । अनि खेद्ने छन् सधैंको लागि तर मेरो आशा निराशामा परिणत भयो । उनले त्यसो गरेनन् ।

‘धैर्य गर । यो मानसिक रोगी छ । जर्बजस्ती गर्नु हुँदैन । तिमीलाई चोट पु¥याउन सक्छ । मैले निलसागरमा फोन गरिसकें । सायद उहाँहरुको टिम आउदै हुनुहुन्छ । पर्ख एकछिन । हामी छौं नि ।’ भन्दै सान्तवना दिदै थिए । मलाई सान्तवना दिने विद्धानभन्दा छुटकारा दिने बहादुर चाहिएको थियो ।

महेश मेरो सपनाको राजकुमार बन्न सकेनन् । ऊसँग लड्ने आँट देखाउन सकेनन् । ‘हामी छौं नि’ उनले भनेको शब्द डुडुवाको पानीसँगै बगेर गयो । मलाई पर्खिएन । उसले कसैलाई नजिक आउन दिएन । नजिक बढे ढुङ्गा उठाउँथ्यो । ढुङ्गा खोस्ने हिम्मत कसैले गरेनन् । महेश समेत मबाट टाढै बसे भने अरुको के आसा गर्नु ?

उसले मलाई हेरिरह्यो । ऊ अधैर्य थियो । मेरो मुहारमा सायद केही पढिरहेको थियो । खोजिरहेको थियो । कतिबेला मेरा आँखा नजिकै हात बढाउँथ्यो । फेरि नछोइकनै गालातिर बढाउँथ्यो ।

फेरि अनुहारमा पुर्लक्क हेथ्र्यो र भन्थ्यो ‘नो टच बेबी नो टच ।’ उसलाई धेरै शब्द बोल्न आएको थिएन । जति आएको थियो त्यही दोहो¥याउँथ्यो । घरि भावुक हुन्थ्यो । घरि मुस्कुराउथ्यो । उसले मलाई जेपनि गर्न सक्थ्यो तर हात समात्ने बाहेक अभद्र व्यवहार गरेन । मैले अप्ठ्यारो महशुस गर्नासाथ छोड्थ्यो र भन्थ्यो ‘ ‘नो टच बेबी नो टच ।’

मप्रति माया दर्साइरहेको थियो । मेरो अप्ठ्यारो महसुस गर्दथ्यो । उसलाई पटक्कै चिनेजस्तो लागेन । किन यस्तो गरिरहेको थियो उसले ? मैले बुझ्न सकेकी थिइन । मलाई उसङ्गभन्दा अब समाजसङ्ग बढी डर लाग्न थालेको थियो । अगाडि बोल्नेहरूको सामना गर्न गाहे थिएन पछाडि बोल्नेहरूले जुनसुकै बेला पनि अप्ठ्यारो पार्न सक्थे ।

निलसागरको टोली आइपुग्यो । एउटी महिला निस्किइन् । कालो चस्मा टाउकोमा थियो । कपाल मिलाएर काटिएको थियो । उनी नजिक आइन् । अनुहारमा चमक थियो । डर त्रास थिएन । हात समात्न खोजिन् उनले । ‘नो टच, ओके, नो टच’ भन्यो । फेरि हात अगाडि बढाउँदै केही भन्न खोज्दै थिइन् तर उसले हेर्दै हेरेन । ब्याग खोलिन् । क्याटबरी र स्याउ निकालिन् ।

क्याट्वरी खोलेर हातमा दिन खोजिन् र तर उसले लिएन । उनले मलाई दिन लगाइन् । मेरो मनले मानेन । उनले पटक पटक अनुरोध गरिन् । क्याटबरी समातें । उसले मलाई हेरिरहेको थियो । मलाई डर लाग्यो । सोचें ‘मभन्दा सुन्दर यी केटी त डराएकी छैनन् म किन डराउनु ?’ उसले नै मेरो हातबाट क्याटबरी लियो र मुस्कुरायो । भाँच्यो र आधा मतिर बढायो । मैले टाउको हल्लाएर ‘खान्न’ भनें । त्यो आधा पकेटमा राख्यो । आधा क्वाप्प पा¥यो ।

उनले उसको कपाल बिस्तारै मुसारिन् । कपाल लट्टा परेको थियो । दाह्ी मुसारिन् । अनायासै बोलिन् ‘कति राम्रो मान्छे ।’ भिडतिर हेरिन् । मानिसहरू उसलाईभन्दा लतालाई हेरिरहेका थिए । अनुहार र बोलीमा ध्यान दिएका थिए । उनले फोन गरिन् । एकैछिनमा गाडी आयो । उनले गाडीको पछिल्लो सिटमा बस्न इसारा गरिन् । तर ऊ मानेन । ऊ झनै मतिर नजिकिएको थियो ।

महेश नजिकै थिए । महेश र लताको चिनजान रहेछ । खै उनीहरुले केके कुरा गरे । महेशले मलाई गाडीमा बस्न इसारा गरे । मलाई पटक्कै मन थिएन । उसलाई लैजान पनि म गाडीमा चढ्नै पर्ने भयो । ‘हेल्प मी प्लिज’ लताले सहयोग मागिन् । मसँग अरु कुनै बिकल्प थिएन उबाट छुट्कारा लिने । म गाडीमा बसे । उसलाई इसारा गर्नु नै परेन । ऊ मेरो छेवैमा बस्यो ।

लताले गाडी स्टार्ट गरिन् । महेश गाडीमा बस्छन् की लागेको थियो । उनीतिर हेरें । सायद मेरो आशय बुझे होलान् इसाराले भने ‘म बाइकमा आउँछु ।’ उनले गाडी मेडिकल कलेज कोहलपुरभित्र लगिन् । हामी सरासर रुमतिर लाग्यौं ।

यो झन्झटबाट छिटो छुट्न पाए हुन्थ्यो जस्तो भएको थियो । लता स्टाफ बाथरुममा पसिन् । उसलाई पनि बोलाइन् तर मानेन । मलाई बोलाइन् । ऊ मसँगसँगै भित्र पस्यो । उसलाई स्टुलमा बस्न इसारा गरिन्, मानेन । ‘हेल्प मी प्लिज’ लताले सहयोग मागिन् । मैले स्टुल उतिर सारिदिएँ । आज्ञाकारी बनेर थुचुक्क बस्यो । उनले नुहाइदिन खोजिन, मानेन । मतिर हेरिन् मैले कुरा बुझिसकेकी थिएँ । मैले सहयोग गरें ।

उसको अनुहार सफा देखियो । सहयोगीले दाह्ी फाल्ने मेसिन ल्याइदिए । आपैmले दाह्ी फालिदिन थालिन् । उसले मेरो हात च्याप्प समात्यो । मैले थुम्थुमाएँ । महेशले ढोकाबाट हेरिरहेका थिए । कैचि समातिन् र कपाल काटिदिइन् उनैले । कति साहसी । म मुकदर्शक बनिरहे. । उसले भने लगातार मतिरै हेरिरहेको थियो । जवजस्ती गर्न खोेज्थ्यो ।

फुत्किन खोज्थ्यो तर मेरो अनुहार पुलुक्क हेर्दथ्यो र रोकिन्थ्यो । उसका लागि कपडा आइपुग्यो । उनैले फेरिदिन खोजिन् । उसलाई सरम थिएन । मैले उतिर फर्किरहन सकिन । पछाडि फर्किन खोज्दै थिएँ । हात समात्यो । उसका सबै कपडा मेरै अगाडि खोलिए । बरु कपडा लगाउन मैले पनि सहयोग गरिदिएँ । ऊ खुशी भयो ।

म त त्यही केटीलाई हेरिरहेकी थिएँ । यो उमेरमा उनको समाजसेवाको मूल्यांकन गरिरहेकी थिएँ । अदभुत केटी । म डराउँदै थिएँ उनी नजिक हुँदै थिइन् । म भाग्न खोज्दै थिएँ उनी समेट्न खोज्दै थिइन् । उसको मानसिक सन्तुलन सित कुनै पर्वाह थिएन उनलाई । निर्धक्क थिइन् उनी । अनुहार चम्किलो थियो । मुसुक्क हाँसिन् उसको अनुहार हेरेर । तर ऊ हाँसेन कत्तिपनि । मेरो अनुहारतिर हेरिरह्यो । मैले हाँसे जस्तो के गरेकी थिएँ । उसको अनुहारमा हाँसोका किरण देखिए । उसको हाँसो सायद मसँगै थियो । किन थियो खै ? मलाई थाहा थिइन ।

महेशभित्र पसे र भने ‘जाऊँ अब ।’ उसले महेशको अनुहारतिर हेरेर दाह्रा किट्यो । दात कटकट गर्दै बजे । महेश रिसाए । तर पछि हटे । त्यस्तोसङ्ग रिस देखाएर पनि त काम थिएन । म निरुत्तर उभिरहें । मलाई अब कुनै डर लागेको थिएन । लता साथमा थिइन् । फेरि उसले मलाई क्षती पुग्ने काम गर्दैन भन्नेमा ढुक्क भै सकेकी थिएँ ।

उसका कपडा डस्टविनमा फालिए । उसले मलाई तान्दै डस्टविनसम्म पु¥यायो । पकेट खोलेर रुमाल निकाल्यो । रुमालमा केही पोको पारेको थियो । पकेटमा हाल्न खोज्यो । कपडामा पकेट थिएन । बेस्सरी च्यापेर हातमा समातिरह्यो । लताको इसारा बमोजिम हामी डाक्टरको क्याविनतिर लाग्यौं । ऊ बेडमा बस्न मानेन । म बेडमा बसेपछि नजिकै बस्यो । डाक्टरले सुत्न पठाए तर मानेन । लताले मलाई हेरिन् ।

मैले सुत्ने इसारा गरें ऊ लम्पसार प¥यो । मेरै काखमा शिर अड्याउन खोज्यो । मैले सिरानी राखिदिएँ । ऊ सिरानी मै सुत्यो तर उसले आफ्नो दाहिने हात मेरो साप्रामा राखेको थियो । महेशले मलाई हेरिरहेका थिए । म रातीपिरी भएँ । डाक्टले चेक जाँच गर्न थाले ।

उसले मेरो हात च्याप्प समात्यो र मलाई हेरिरह्यो । मैले आँखा बन्द गर्न इसारा गरें । उसले आँखा बन्द ग¥यो । महेशलाई सहिनसक्नु भएको थियो । रिसले आँखा राताराता बनाएका थिए । कतिबेला त जोस्सिदैं अगाडि जान्थें । मलाई हात समातेर तान्न खोज्थे । तर उसको हठका अगाडि पछि हट्न बाध्य हुन्थे ।

यो खबर सन्ध्याकालिन् दैनिकले छापेछ । मेरा केही छिमेकीहरू पनि अस्पतालमा पुगे । पत्रकारहरुको उपस्थिति समेत बाक्लिदै थियो । म लजाएकी पनि थिएँ । मलाई उसले किन पच्छायो भन्ने उत्तर मसङ्गै थिएन । उसको रगत निकालियो । लता नर्स थिइन् । उनैले इन्जेक्सन तयार गरिन्, लगाइदिइन् । ऊ यसपटक ‘बेबी’ भन्दै चिच्यायो अनि लठ्ठ पर्दै गयो । केही समयपछि मेरो समातेको हात छोडिदियो । म बेडबाट हत्पत् गर्दै झरें । कपडाहरु तानतुन गरें र लामो स्वास फेरें ।

‘दिदी हजुरलाई धन्यवाद । निकै ठूलो सहयोग गर्नुभयो । हजुर विना यो कार्य सम्भव थिएन । यति बेर पर्खिनु भयो । यो सबैभन्दा ठूलो धर्म हो ।’ लताले मेरा हात समात्दै भनिन् । म केही बोलिन् । मेरो लामो स्वास रोकिएको थिएन । म सामान्य अवस्थामा आउने प्रयासरत थिएँ ।
उनले भन्दै थिइन् । ‘जीवन सन्तुष्टि हो । कसैले लुटेर सन्तुष्टि लिन्छन् । कसैले धन कमाएर ।

कसैले अर्काको कुरा काटेर खुशी हुन्छन् । तर म यस्तै असहाय र आपूmलाई नचिन्नेहरुको सहयोग गरेर सन्तुष्टि लिन्छु । मर्नु छ एक दिन । केही गरेरै मरौं । मरेपछि समाजले पनि सम्झोस् । बाँचेको सार होस् ।’ महेशले मेरो हात जोडले समाते र ताने । मलाई दुख्यो । महेशलाई यो सब मन परेको रहेनछ भन्ने बुझ्न क्षणभर पनि लागेन ।

म चार घण्टादेखि बन्धक बनेकी थिएँ तर मलाई असह्ैय हुने काम उसले गरेको थिएन । महेशले जानाजान गर्दै थिए । मेरो मोबाइल नम्बर माग्दै भनिन् ‘हजुरको सहयोग केही दिन चाहिन सक्छ । किनकी उसको नजरमा हजुर मात्र परिचित पात्र हो ।’

महेश आनाकानी गर्दै थिए । ‘अब भैहाल्यो नि । किन दिनु मोबाइल नम्बर ? सधै यसको पछि लागेर मात्र कहाँ हुन्छ ?’ महेश टाढिन खाज्दै थिए । लताको नजर मेरो मोवाइलतिर थियो । मोबाइल नम्बर लेखेर उनको हातमा थमाइदिएँ । उनी खुशी भइन् ।

घरमा आएपछि लामो अन्तरवार्ता भयो । मैले उसको बारेमा केही बताउन सकिन । महेश कति बेला मसित रिसाउँथे भने कतिबेला चिन्तित हुन्थे ।

‘तिम्रो स्कुले साथी थियो कि ?’

‘कलेजको साथी थियो कि ?’

‘तिमीलाई मन पराउने मान्छे हो कि ?’

‘माइतीतिरको हो कि ?’

एकपछि अर्को गर्दै प्रश्नहरुका खात लागे । मेरा कुनै उत्तरले उत्तीर्णाङ्क ल्याउन सकेनन् । निदाउनु पूर्व आम्नेसाम्ने भएर सुत्ने हामी आज विपरित दिशातर्पm फर्किएर रात कटायौं । महेश के कति निदाए थाहा भएन मलाई भने पटक्कै निद्रा लागेन । मनमा अनेक कुरा खेले । उसले पटक पटक बोलेको ‘सरी, ओ के, नो टच बेबी’ भन्ने शब्द मात्रै गुन्जिरह्यो कान वरिपरि ।

म समाचार बनेकी थिएँ । पत्रपत्रिकाले पनि अनेक तर्क सहितका समाचार छापेका थिए । ‘होलानी ब्वाय फ्रेन्ड’ महेशले नै सुनेछन् । ममाथि शंका थियो वा थिएन तर घरमा रिसाउन थालेका थिए घरिघरि । बिहान स्कुल जाने तयारी गर्दै थिएँ । लताको फोन आयो ।
‘दिदी, हजुरलाई दुःख दिएँ । एकछिन आइदिनुस् न प्लिज ।’

मैले आनाकानी गरेको देखेर निकै अनुरोध गरिन् । ‘धान छोडर लप्सी’ भने जस्तो हुने भयो । स्कुल हिडेकी म हस्पिटलतिर जाने भएँ । मलाई थाहा थियो महेशलाई यो कुरा मन पर्ने छैन तर ‘आउँछु’ भनेपछि जानु पनि प¥यो । महेशलाई भन्ने आँट पनि आएन । नभनी हिड्दा समस्या झन् खिल बनेर बल्झिन सक्थ्यो ।

लताको अनुरोध महेशले पनि सुनेका थिए । फसाद प¥यो । मभन्दा पहिला महेशनै बोले ‘जानै पर्छ र ? नगए हुन्न ?’ नजाओस् भन्ने आसय प्रष्ट देखिन्थ्यो महेशको ।

‘जानै पर्ने भयो ।’ मेरो निर्णय मन नपरेको प्रष्ट देखियो महेशको ।
‘सधंै अर्काको पछि लागेर कहाँ हुन्छ ? नजाऊ । अस्पतालमा छ उपचार भैहाल्छ नि । तिमी नै पछि लाग्नु पर्ने के छ र ? तिमी मास्टर हौ, डाक्टर हाइनौ ?’

ठाडै ‘नजाऊ’ भनेका थिए । त्यो पनि व्यङ्ग र आक्रोष सहित । मलाई समस्या पर्दा सबै भन्दा बढी पीडा उनैलाई हुन्थ्यो । झेल्नुपर्ने उनै थिए । मलाई अघि बढ्न कठिन भयो । पुनः लताको फोन आयो । म जाने निधो गरें । ‘बरु सँगै जाऊँ न ।’ डराइ डराइ भनें । केही नबोली बाइक स्र्टाट गरे । सधैं काँधमा हात राखेर बाइक चढ्थें । आज जेठाजुले चलाएको बाइकमा बसें जस्तो भयो । छुन पनि डराएँ । यति धेरै यतिका वर्षमा कहिल्यै डराएकी थिइन ।

अस्पताल परिसरको पसलमा जुस किनें । महेशले घुरेर हेर्दै थिए । म अगाडि बढें । उनी पछि पछि लागे । उसलाई बेडमा बाँधिएको थियो । ऊ चिच्यायो । मैले उसका दुबै हात खोलिदिएँ । ऊ जुरुक्क उठ्यो र मेरो पछाडि आएर लुक्यो । म बेडमाथि आएर बसें । ऊ पनि आयो । बेडमा बसाए । उसको अनुहारमा खुसी दौडियो । महेश आँखा तर्दै थिए ।

भिडियो एक्सरे गर्न लैजान नसकेर मलाई बोलाइएको थियो । भाग्न खोज्दा बाँधिएको रहेछ । मैले भनेको उसले खुरुखुरु मान्यो । सबै काम फटाफट भयो । रिपोर्ट अनुसार औषधि सुरु भयो । साइक्याट्रिक डक्टर दमनले प्रविधिको प्रयोग गर्दै थिए ।

औषधि लिएर लता आइन् तर उसले लिन मानेन । औषधि मैले लिएँ । पानीको बोत्तलसँगै उसको हातमा दिएँ । उसले पाँचवटा औषधि एकैपटक मुखमा हाल्यो । पानीले निल्न खोजेको सकेन । थुक्न खोज्दै थियो मैले ‘नो’ भनें उसले वाक्क ग¥यो तर कसो कसो निल्यो । मुस्कुरायो मलाई हेरेर । लता र डाक्टर पनि उज्याला भए ।

महेशले पटकपटक ‘जाँऊ’ भनेर संकेत दिदै थिए । औषधि खाएपछि ऊ निदायो । म बिदा भएँ । हामी दुबै निशब्द थियौं । ममाथि शंकाका पहाड चुलिदैं थिए । महेशले छड्के बोल्न सुरु गरेका थिए । ‘बाहिर निस्कनै नहुने भयो’ महेशले सुनाएको यो शब्दले निकै पीडा दिन थालेको थियो ।

केही दिनपछि फेरि अस्पताल जानै पर्ने भयो । लताले प्रश्न गरिन् ‘दिदी साच्चै हजुरले चिन्नुहुन्न ?’ मैले उनको अनुहार पढें । धेरै प्रश्नहरू थिए उनको अनुहारमा । तर यत्ति मात्र भनें ‘अहँ ।’ उनी मेरो उत्तरले घोरिइन् । मेरै कारण कोही सुध्रदै थियो । बेला बेलामा उसलाई भेट्न गइरहन्थें । यसलाई मैले धर्मसङ्ग जोडें । उसले म नभए पनि औषधि खान थालेको थियो । तर म नगए छट्पटिन्छ भन्ने सुनेकी थिएँ । महेशको पनि चासो बढेको थियो । सोधिरहन्थे । एकदिन त मुखै फोरेर भने ‘सन्चो भएपछि त्यसैसँग जाने त होला’नी ?’

मैले जवाफ दिनु जरुरी ठानिन । तिललाई पहाड बनाएर फाइदा हुनेवाला थिएन । कुनै दिन सम्झलान् भन्ने भयो । धेरै दिन देखि भेटेकी थिइन उसलाई । एकदिन लतासङ्ग निलसागर केन्द्रमा गएँ । ऊ आफ्नै धुनमा थियो । म बोलेको सुनेर पनि फर्किएन । बोलाइन् लताले । जुरुक्क उठ्यो । लतालाई नमस्ते गर्दै बस्नका लागि इसारा ग¥यो ।

लताले मलाई देखाएर ‘चिन्नु हुन्छ ?’ भनेर सोधिन् । एकछिन घोरियो । केही भावुक जस्तो देखियो । ‘चिन्दिन भन्यो ।’ मलाई पीडाबोध भयो । किन चिनेन आज यसले । हिजो चिन्दा पनि म दुखी थिएँ । आज नचिन्दा पनि दुखी भएँ । उनले ‘दिदी’ भनेर चिनाइन् । मलाई नमस्ते ग¥यो । म एकैछिन बसें । ऊ डराएजस्तो गरेर उभियो । केही बेरमा बाहिर निस्कियो । म पनि निस्कें ।

एक दिन निलसागर असहाय केन्द्र कोहलपुरले बोलायो । ऊ त्यहीँ थियो । सोचें ‘फेरि कुनै हर्कत त गर्न थालेन ?’ जाउँ वा नजाउँ निकै बेर दोधारमा भएँ । महेशलाई अनुरोध गरें । हाम्रो सम्बन्ध पातलिदै थियो । हाँसो मजाक त बिल्कुलै बन्द भइसकेको थियो ।

‘नगए हुँदैन ?’

‘होइन जानुपर्छ । एकैछिनमा फर्कौला नि ।’

‘नगए के हुन्छ ?’

‘गएर पनि त केही हुँदैन ।’ कुरा छोट्याएँ ।

चप्परगौडी पुलमा पुगेपछि महेशजी भुन्भुनाउन लागे । यही पुलबाट सुरु भएको थियो यो राम कहानी ।

‘कति त्यसैका पछि लागेर हिड्नु ? सधैं सधंै अर्काको भलो गर्न सकिन्छ र ?’

म बोलिन । मेरो मौनता उनलाई मन परेको थिएन । ‘यस्तै हो भने जिन्दगी काट्न गाहे हुन्छ । म सधैं पछि लागेर हिड्न सक्दिन र रहर पनि छैन ।’ यस पटकको सङ्केत अलिक कडा थियो । मेरो मौनता गम्भिरतामा परिणत हुदै थियो । टाउको चसकचसक र मुटु भटकभटक गर्न थाल्यो । म विवेक शुन्य भएँ । एक शब्द नबोलेरै निलसागर केन्द्रमा पुगें ।

कार्यक्रम सुरु हँुदै रहेछ । एक कुनामा चुपचाप बसें । खादा र मालाले उसलाई स्वागत गरियो । ऊ सुन्दर देखियो । मञ्चमा बोलाइयो र बोल्न लगाइयो । आँखा रसाए उसका । शुरुमा बोल्न सकेन ऊ । स्टेजबाट फर्केर मेरो नजिक आयो । मेरो खुट्टा समात्यो । मैले उसलाई माथि उठाएँ । फर्केर स्टेजमा गयो । ‘म रोसन । गुल्मीमा जन्मे । कलेज पढ्न बुटवल आएँ ।

आइ एस्सी पढ्दै गर्दा ममतासित प्रेम बस्यो । हामी सङ्गै पढ्थ्यौै ।’ ऊ रोकियो । खादाको फुर्कोले आँसु पुछ्यो । उनी स्याङ्जाकी थिइन् । परिवारले हाम्रो बिहेका लागि स्वीकृति दिएको थियो । म अलि मस्ति गर्न मन पराउँथे । सँगै हिड्यो कि उनको हात समात्थें । अंगालोमा हात राखेर हिड्थें । उनले आँखा तरेर हेर्थिन् अनि बुझिहाल्थें ।

‘नो टच बेबी, ओके’ भन्दै म उनको काँध र हात छोडिदिन्थें । कसैले आपूmमाथि औंला नउठाउन् भन्ने उनको चाहना थियो । त्यसैले उनी सधैं सजग हुन्थिन् । उनीसँग जीवन बिताउने सपना पालेको थिएँ ।’ ऊ केही बेर मौन रह्यो । सबै चुपचाप थिए ।

‘एकदिन उनी घर जाने तयारी गर्दै थिइन्् । मलाई पठाउन गाहे भएको थियो ।

‘एक महिना कसरी बस्ने ?’

‘रोएर बस्ने ।’ उनले मुस्कुराउँदै जिस्काएकी थिइन् ।

हामी बसपार्कमा थियांै । मैले उनको हात खेलाउँदै थिएँ । औंठी निकालिन् र ‘राख भनिन् ।‘ हातको रुमाल पनि मलाई नै दिइन् । खै किन लिएँ पत्तै भएन । औंठी रुमालमा पोको पारेर पकेटमा राखें ।

उनको हात जोडले समातें । उनले चारैतिर हेरिन् । धेरैका नजर हामी तिरै थिए । ‘नो टच’ भनिन् । मैले पनि ‘ओके नो टच बेबी’ भन्दै हात छोडिदिएँ । उनको बसले बसपार्क छोड्यो । उनी ब्याग समातेर ‘मिस यु’ भन्दै बसतिर दौडिदै थिइन् । नजिकैबाट एउटा ट्रिपर बौलाहा तालमा आयो । उनलाई ऐया पनि भन्न दिएन । कच्याककुचुक पा¥यो । मेरै अगाडि उनी क्षत विक्षत भइन् । त्यसपछिको मलाई कुनै सम्झना छैन ।’ ऊ घोरियो । एक चोटी जोडले टाउको समात्यो ।

उसले एकोहोरो मलाई हे¥यो । सबैका नजर उतिरै थिए । पुनः बोल्यो । ‘आज म ठीक छु । मलाई पुर्नजन्म दिने निलसागर, लता मिसलाई धन्यवाद दिन चाहन्छु । त्यो भन्दा बढी धन्यवाद आदरणीय स्मारिका दिदीलाई ।’ ऊ मञ्चबाट ओर्लियो । सरासर म भएको स्थानमा आयो । बोल्यो ‘यही अनुहार हो जुन मेरी ममता सङ्ग ठ्याक्कै मिल्छ । यही अनुहारले मलाई ब्युँतायो ।’

गलाका सबै माला र खादा निकाल्यो । मेरो गलामा पहि¥यायो र खुट्टामा ढोग्यो । मैले उसलाई उठाएँ । उसका आँखा रसाएका थिए । मेरा आँखाका आँसु सकिएका थिएनन् । एकोहोरो उसको अनुहारमा हेरें । उसका नजर पनि मेरो अनुहारमा एकोहोरिएका थिए ।

(कथाकार जन ज्ञान ज्योति मा. वि. कौशिलानगर कोहलपुरकी प्रधानाध्यापक पनि हुन् ।)

 

प्रकाशित मितिः शनिबार, अशोज ९, २०७८     5:35:57 PM  |