सुर्खेत ।
ठूलो परिमाणको लागु औषध ब्राउनसुगरसहित सुर्खेतमा दुई जना पक्राउ परेका छन् । लागु औषधको कारोबार भइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१ सोलीघोप्टेबाट दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको बिशेष प्रहरी टोलिले दुई जनाको साथबाट ठूलो परिमाणमा लागु औषध ब्राउनसुगर बरामद गरेको थियो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका, १ सोलीघोप्टेका २० वर्षीय हिमाल थापा र वडा नम्बर २ भुरेली बस्ने २० वर्षीय मानबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रामप्रसाद घर्ती जानकारी दिए ।
‘लागु औषधको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा पुगेको प्रहरी टोलिले सुरुमा थापालाई नियन्त्रणमा लिएको थियो’ उनले भने, ‘उनकै सूचनाको आधारमा बुढालाई समेत नियन्त्रणमा लिएका हौं ।’ पक्राउ परेका थापाको शरिर खानतलासी गर्दा प्रहरीले हात समातेको अवस्थामा २ पुडिया र उनको घरबाट ४२ पुडिया ब्राउनसुगर बरामद गरेको थियो ।
सबै बरामद गरिएको लागु औषध ब्राउनसुगरको तौल २२ ग्राम ६ सय ९० मिलिग्राम रहेको प्रवक्ता डिएसपी घर्तीले बताए । लागु औषध ब्राउनसुगरको कारोबार भइरहेको सूचना पाएपछि कारोबारीलाई नियन्त्रणमा लिनको लागि कर्णाली प्रदेश प्रहरी, जिल्ला प्रहरी सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरो प्रहरी छुट्टाछुट्टै टोलि बनाएर खटिएका थिए ।
पक्राउ परेका थापाको साथबाट प्रहरीले भे ७ प ५५७५ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ । ‘सुर्खेतमा लागु औषध ब्राउनसुगरका कारोबारी र प्रयोगकर्ता बढेसँगै हामीले निगरानी बढाएका छौं’ डिएसपी घर्तीले भने, ‘सोही क्रममा लागु औषध कारोबारी पक्राउ गर्न सफल भएका हौं ।’ पक्राउ परेकाहरुले ठूलो परिमाणको लागु औषध ब्राउनसुगर कहाँबाट ल्याए भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्