16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

‘बंगुर पालनको सम्भावना छ,तर बजार अभाव समस्या हो’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन १, २०७८  

नेपालको प्रमुख समस्या मध्ये एक हो, बेजरोजगारी । देशमा भरपर्दो रोजगारीको अवसर सिर्जना नभएका कारण वर्षेनि लाखौँ युवा रोजगारीका लागि विदेशिने गरेका छन् । हाम्रो देशको अर्थतन्त्र अहिले पनि विदेशमा गएका नेपालीहरुले पठाउने विप्रेषणले धानिरहेको छ । नेपालको अर्थतन्त्रको प्रमुख स्रोत विप्रेक्षण र भन्सार हो । नेपाललाई कृषि प्रदान देश भनिएपनि सरकारले कृषि क्षेत्रको विकास राम्रोसँग गर्न नसकेका कारण कृषि क्षेत्रबाट रोजगारी सिर्जना हुन सकेको छैन । देश विकासको मेरुदण्ड मानिएको युवा शक्ति विदेशिने समस्याका कारण यहाँको खेतियोग्य जमिन बाँझो बन्दै छ ।देशको राजनीतिक अस्थिरताका कारण पनि युवा शक्ति देशविकासमा सक्रिय हुन सकिरहेको छैन । फलत ःनेपालको समग्र विकासमा यहाँको अस्थिर राजनीतिले भूमिका खेलेको छ । देशमा रोजगारीको सम्भावना कम भएपनि देशमा भविश्य खोज्ने युवाहरु समेत छन् । उनीहरु कोही विदेशबाट फर्किएर व्यवसायमा लागेका छन् भने कोही आफ्नै लगानीमा व्यवसायमा जोडिएका छन् । उनीहरुले कौडीको लगानीमा समेत मोहर कमाइरहेका छन् । उनीहरुले देशभित्रै व्यवसाय गर्न समेत सरकारले प्रोत्साहन गर्न सकेको छ । यस्तै यसका प्रत्यक्ष उदाहरण बाँकेको कोहलपुरका बंगुर पालक युवा कृषक समेत छन् । कोहलपुरमा बगुंर पालनको सम्भावना, यहाँको बजार र स्थानीय सरकारको सहयोगका साथै युवाहरुलाई व्यवसायमा कसरी आर्कषित गर्न सकिन्छ भन्ने विषयमा कोहलपुर बंगुर पालक कृषक उपभोक्ता समितिका सचिव गौरव रेग्मीसँग मिसन टुडे दैनिकका शुभाकर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश :

१. सर्वप्रथम बंगुर पालक व्यवसायसँग कसरी जोडिनुभयो बताइदिनुन ?

बंगुर पालन व्यवसाय मेरो बुबाले शुरु गर्नु भएको हो । यो व्यवसाय आजभन्दा आठ वर्ष अघि २०७० सालमा शुरु भएको थियो । त्यतिबेला म अध्ययन गरिरहेको थिए । यो व्यवसायसँग प्रत्यक्ष जोडिएको भने दुई वर्ष भयो । पहिला बुबाले सामान्य जिविकोपार्जनको लागि शुरु गर्नु भएको थियो । अहिलेभने व्यवसायिक बनेको छ । पहिला यहाँ यो व्यवसायको त्यति माग थिएन ।पछिल्लो समय भने व्यवसायीहरु बढ्दै गएको देखिरहेको छु । पछिल्लो समय सरकारले पनि यस क्षेत्रमा सहयोग गर्न थालेको छ । भारतीय बजारबाट आयात हुने कुखुरा लगायतका मासुजन्य वस्तुको आयातमा रोक लगाइएकोले हामीलाई व्यवसाय गर्न सजिलो भएको छ । पहिला त बहुत समस्या थियो । बंगुर खरिद्को मूल्य समेत फाइदा हुदैनथियो । स्थानीय सरकारले भने यस्ता व्यवसायलाई फस्टाउन सहयोग गर्नुपर्ने देख्छु । मेरो व्यवसाय भने निरन्तर चलिरहेको छ ।

२. अहिले कति छन् बंगुर,यो व्यवसाय गर्न कत्तिको सहज छ नी ?

अब हेर्नुहोस सहज त कुनै काम र व्यवसाय कतैपनि छैन । सबैमा दुःखै छ । मेरोमा अहिले ५० वटा बंगुर छन् । मैले मासु बिक्रि गर्दिन । मैले पाठापाठी उत्पादन र बिक्रि गर्छु । शुरुवातमा चाही हामीले मासु बिक्रि गर्न कै लागि व्यवसाय थालेको हो ।२०७२ सालको भुकम्पका बेलामा हाम्रो व्यवसायमा धेरै समस्या निम्तियो । मासुको बिक्रिवितरण बन्द भएपछि लगानी पनि डुब्यो ।धेरै घाटा व्यहोर्नु पर्यो हामी । त्यतिबेला ५ सय बंगुर थिए ।मासु बेच्ने कुरामा घाटा भएपछि व्यवसायबाट धेरै जना पलायन समेत हुनुभयो । बाँकेमा त्यतिबेला झण्डै दुई दर्जन भन्दा बढी व्यवसायी थिए । धेरैले छोड्नुभयो । हामी ७ जनासम्म मात्रै बच्यौ । अहिले फेरि बढिरहेका छन् । पछि मैले पनि बिक्रि भन्दा पनि उत्पादनमा हात हाले । पछिल्लो समय व्यवसाय राम्रै चलिरहेको छ । सरकारले भने ध्यान दिनुपर्छ । मार्केटको लागि सोचेको भए धेरै राम्रो हुनेथियो ।

३. कोहलपुर बंगुर पालक कृषक उपभोक्ता समिति गठन गर्नुको मूख्य उद्देश्य के हो ?

कोहलपुर बंगुर पालक कृषक उपभोक्ता समिति स्थापनाको मूल उद्देश्य भनेको यहाँका व्यवसायीहरुलाई एकै ठाउँमा जोडन्ने र व्यवसायीहरुको हक र हितका लागि बोल्ने हो । सबै किसानलाई समेटेर उनीहरुको समस्या के छ, समस्या समाधानको लागि एकमुष्ट रुपमा कसरी जान सकिन्छ । पहिलो चरणमा हामीले समूह गठन गरेका छौँ । यसले किसानहरुलाई राहत मिलेको हामीले महशुस गरेका छौ । शुरुवातमै कोहलपुर नगरपालिकाले हामीले अनुदानमा सहयोग समेत गरेको छ । अहिले पनि बजारको समस्या छ । यो समाधानको लागि हाम्रो खवरदारी जारी रहन्छ । सरकारले हाम्रो लगानी नडुब्नको लागि कर्जा सिस्टम ल्याउनुपर्छ । बजार अभाव छ हाम्रो उत्पादनलाई सरकारले यस विषयमा चोतर्फी जोड दिनुपर्छ ।

४. युवा पुस्ता व्यवसायमा किन जोडिन सकेको छैन र विदेशिन थालेका यसको कारण के देख्नुहुन्छ नी ?

बेरोजगारी यहाँको प्रमुख समस्या हो । देशको अर्थतन्त्रलाई अहिले पनि उत्पादनसँग जोड्न सकिएको छैन । त्यसमा युवाहरुलाई उत्पादनशिल क्षेत्रमा सरकारले प्रयोग गर्न सकेको छैन । विदेश जान प्रोत्साहित गरिरहेको छ । अर्को कुरा भनेको विदेश नगएका तर देश मै काम गर्छु भन्ने युवालाई कतैबाट प्रोत्साहन र सहयोग छैन । त्यसैले पनि समस्या भइरहेको छ । जस्तो यहाँको बंगुर पालन व्यवसाय कै कुरा गरौँ । हामीलाई कतैबाट पनि सहयोग छैन । अहिलेसम्म जे जति गरिरहेका छौँ । आफ्नै बलबुतामा गरिरहेका छौँ । हामीलाई बजार सबैभन्दा ठूलो समस्या छ । सरकारले यसको वातावरण मिलाइदिएको भए हामीले विदेशिनु पर्ने, पेसा परिवर्तन गर्नुपर्ने अवस्था नै आउने थिएन । यो कुरामा सरकारले ध्यान नदिएका कारण समस्या देखिरहेको छु । यस्तै व्यवसायको लागि लगानीको वातावरण मात्रै पनि बन्यो भने व्यवसायीहरु व्यवसायकाक लागि आर्कषित हुन्छन् । सरकारले सहयोग नगरेकै कारण व्यवसायीहरुले बजार नपाएर निराश हुँदा दुध बाटो मै पोख्नेदेखि तरकारी समेत फाल्ने गरेको घटना हाम्रै देशमा हुने गरेको छ । एक त व्यवसायको लागि प्रेरित गर्न सरकारले सकेको छैन । अर्कातिर मार्केटको सबैभन्दा ठूलो समस्या छ । यस्तै व्यवसाय गर्न व्यहोर्नुपर्ने झन्झटका कारण पनि यस्तो समस्या देखिएको हो । तर पहिलाको भन्दा विस्तारै सुधार हुँदै आएकोले आगामी दिनमा युवाहरु देशको विकासमा अधिकतम रुपमा संलग्न हुन्छन् भन्ने कुरामा मैले विश्वास लिएको छु ।

५. बंगुर पालन व्यवसायको लागि स्थानीय सरकारबाट कत्तिको सहयोग प्राप्त गर्नुभएको छ ?

व्यवसायी र स्थानीय सरकारको भूमिका कृषि तथा पशु क्षेत्रको प्रवद्र्धनको लागि आवश्यक देख्छु । यी दुवै क्षेत्र एकअर्काका परिपुरक जस्ता छन् । जहाँसम्म स्थानीय सरकारको सहयोगको कुरा छ । कोहलपुर नगरपालिकाले हामीलाई सहयोग गरिरहेको अवस्था छ । यो वर्ष कोहलपुर नगरपालिकाले हाम्रो समूहलाई व्यवसाय प्रवद्र्धनको लागि भन्दै सहयोग गरेको थियो । यसअघि पनि सहयोग भइरहेको थियो । गत सालको कोभिडको बेलामा पनि हामीलाई नगरपालिकाले सहयोग गरेको थियो । कोभिड राहत भनेर सम्पूर्ण व्यवसायीहरुलाई सहयोग आएकै हो । कोभिडको बेला बंगुरहरुलाई दाना पानीको लागि सहयोग गरेको थियो । यस्तै हामीलाई खोर सुधारको लागि पनि सहयोग प्राप्त भएको छ । यस्तै तपाईँले सोध्नु भएजस्तै कोहलपुरमा मासु उत्पादनको सम्भावना राम्रो छ ।तर समस्या बजार कै हो । चाहेको बेला मासु बिक्रि हुदैन । बेच्ने ठाउँ नै नभएका कारण समस्या भइरहेको छ । यसको लागि सरकारले सिधै मार्ट नै बनाईदिनुपर्छ । यसमा स्थानीय निकायले पनि ध्यान दिएको छैन । कहाँ बेच्ने भन्ने समस्या हामीले भोगिरहेका छौ ।बाँके जिल्लालाई पुग्ने मासु त अहिले उत्पादन भइरहेको छ ।

६. व्यवसाय प्रवद्र्धनका लागि कृषि, पशु शाखाहरुबाट अनुदान प्राप्त गर्नु भएको छ की छैन ?

शाखाहरुबाट हामीले स्वाइन फ्लु र खुरेतको खोप प्रत्येक ५ महिनामा पाइरहेका छौँ । कुनै पनि समस्या परेमा हामी सिधै शाखाहरुमा गएर भन्छौँ । उहाँहरुले हामीलाई राम्रै सहयोग गरिरहनु भएको अवस्था छ । यस्तै शाखाबाट हाम्रो व्यवसायको अनुगमन पनि हुने गरेको छ । तर हामीलाई प्रमुख समस्या भनेको बंगुर बिरामी हुँदा हुने गरेको छ । त्यसैले हाम्रो माग छ । प्रत्येक स्थानीय तहमा बंगुर विज्ञलाई नियुक्त गरिनुपर्छ भन्ने हाम्रो माग छ । धेरै ठाउँमा बुझ्दा अहिले पनि बंगुर सम्बन्धिमा विज्ञता हासिल गरेका व्यक्ति, डाक्टरहरु भेटिएका छैनन् । समस्या पर्दा पशु चिकित्सक आउनुहुन्छ । यही रोग लागेको छ भनेर भन्न सक्नुहुन्न खोप लगाउनुहुन्छ । हिडिहाल्नुहुन्छ । कतिपय अवस्थामा खोप लगाउन वित्तिकै बंगुरहरु गरेको पनि घटना छ । त्यसैले त्यो घाटा सम्पूर्ण रुपमा हाम्रो व्यवसायमा पर्छ । उपचार गरेपनि ५० प्रतिशत सन्चो हुन्छ । अरु हुदैन । यसमा फेरि पनि भन्छु सरकारले ध्यान दिनुपर्छ । हामी उपचारमा सन्तुष्ट छैनौ । हाम्रो समूह भर्खर स्थापना भएको हो । आठ दश जना साथीहरुले यो निर्माण गरेको हो । नगरपालिकाले यस वर्ष हामीलाई ९ लाख ५३ हजारको सहयोग दिएको थियो । यसमा हामीले पाठापाठी खरिद् र स्वास्थ्य सामग्रीहरु वितरण गरेका छौँ ।

७. बंगुर पालन व्यवसायलाई व्यवसायिकरण बनाउनको लागि स्थानीय सरकारलाई तपाईहरुका मुख्य माग के–के हुन् ?

हाम्रा मागहरु धेरै छन् । ती मध्ये १ नम्बरको माग हो, बंगुर पालन व्यवसाय प्रवद्र्धनका लागि सहज बजारीकरणको व्यवस्था चाहियो । अर्को माग भनेको कुनै पनि स्थानीय तहमा बंगुर विज्ञ नियुक्त हुुनुपर्छ । बेलामा खोप चाहिन्छ । त्यो सहज रुपमा उपलब्ध गराएमा व्यवसाय गर्न सजिलो हुन्छ । बंंगुरमा विभिन्न रोग लाग्ने भएकोले नियमित हेरचाह आवश्यक हुन्छ । यी तीन वटा हाम्रा मुख्य मागहरु हुन् । यस्ता कुरामा ध्यान दिएको भए हामीलाई निकै ठूलो राहत हुने थियो । अन्त्यमा सम्पूर्ण युवाहरुलाई व्यवसायमा जोडिन आग्रह गर्दछु । विदेश भन्दा पनि स्वदेशमा भविश्य छ । विदेशमा धेरै पेसा कमाइन्छ होला तर परिवार, आफन्त र देश हुँदैन । कमाई थोरै भएपनि यहाँ कमाइ राम्रो छ । यसै बसेर केही न केही व्यवसाय गर्न म सम्पूर्ण युवाहरुलाई हार्दिक अनुरोध गर्न चाहन्छु । देश विकासको लागि हाम्रो आवश्यकता छ । सबै मिलेर देशको विकास गरौँ भन्न चाहन्छु ।

 

प्रकाशित मितिः शुक्रबार, साउन १, २०७८     6:14:45 AM  |