23 September 2021  |   बिहिबार, अशोज ७, २०७८

बलात्कारको मुद्दा लगाउने धम्कीपछि असईले गरे उच्च अदालतकी कर्मचारीको हत्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २९, २०७८  

इलाम ।

उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत कार्यालय सहयोगीको हत्यामा अदालतका मुख्य न्यायाधीशका सुरक्षा गार्ड रहेको खुलेको छ ।

मुख्य न्यायाधीशका सुरक्षा गार्डले व्यक्तिगत सम्बन्धकै कारण हत्या गरेको खुलेको छ । प्रहरी सहायक निरीक्षक युवराज बानियाँले हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

अदालतमा कार्यरत कार्यालय सहयोगी बिमला पराजुलीको हत्या गरी मुख्य न्यायाधीशकै क्वार्टरनजिक फालेको प्रहरीसँग बानियाँले स्वीकारेका छन् ।

मुख्य न्यायाधीसको क्वाटरमा बानियाँले पराजुलीको हत्या गरेको स्वीकारेको इलामका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए ।

आइतबार साँझ क्वाटरमा हत्या गरेर हिँडेका बानियाँले राति आएर शव बाहिर फ्याँकेका थिए । धनकुटा होली खर्क– ५ घर भएका बानियाँ दुई वर्षदेखि मुख्य न्यायाधीसको सुरक्षा गार्डका रुपमा खटिएका थिए ।

प्रसनि बानियाँ र मृतक पराजुलीबीच लामो समयदेखि सम्बन्ध रहेको र आर्थिक लेनदेनको विषयमा झगडा हुँदा हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी श्रेष्ठले बताए ।

मुख्य न्यायाधीश बिदामा रहेकोले क्वाटरको तालाचाबी बानियाँसँगै थियो । पराजुलीले बलात्कारको मुद्दा लगाउने चेतावनी दिएपछि बानियाँले उनको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीको नियन्त्रणमा रहेका बानियाँले घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् ।

 

प्रकाशित मितिः मङ्लबार, असार २९, २०७८     4:49:53 PM  |