20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

‘पशु र कृषि क्षेत्र मार्फत स्वरोजगार सिर्जना भएको छ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार २१, २०७८  

देश संघीय संरचनामा गएर स्थानीय तह लागू भएको वर्ष पुरा भएको छ । निर्वाचनबाट जनताद्धारा निर्वाचित भएर आएका जनप्रतिनिधिहरुको कार्यकाल अब एक वर्ष मात्रै बाँकी छ । यसैवीच स्थानीय सरकारमा १ वर्ष मात्रै कार्यकाल बाँकी रहेका जनप्रतिनिधिहरुले अन्तिम पटक नीति तथा कार्यक्रम र बजेट घोषणा गरेका छन् । केन्द्रीत राज्य सत्ता विकेन्द्रीत भएर सिंहदरबारको अधिकार गाउँगाउँमा आएको भनिएको स्थानीय सरकारले व्यवस्थाको जग बसाल्ने काम भने गरेका छन् । स्थानीय सरकारलाई संविधानले २२ वटा अधिकार दिएको छ । एक प्रकारले स्थानीय सरकार स्वयत्त सरकार हो । उसले गाउँ तथा नगरको विकासका लागि स्वनिर्णय गर्न पाउँछ । स्थानीय तहले पहिलो वर्ष नीति निर्माण र अनुभव मै विताए । दोस्रो वर्ष विकास निर्माणको लागि आधार तयार गर्न लागे । तेस्रो वर्षमा जनतामा अभावका बीच नयाँ काम गर्न खोजे । चौँथो वर्ष उनीहरुले अघिल्ला वर्षमा आएका कामहरुलाई निरन्तरता दिन खोजिरहेको अवस्था छ । समग्रमा स्थानीय सरकारले विकासको जग चाँही बसाएका छन् । यसै शिलशिलामा हामीले कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा आर्थिक समितिका संयोजक दिलबहादुर परियारसँग कुराकानी गरेका छौँ, प्रस्तुत छ, परियारसँग स्थानीय सरकारकाक चार वर्षे यात्रा, कृषि तथा पशुपालन क्षेत्रमा भएका काम र आर्थिक वर्ष २०७८/०७९ को लागि ल्याएको नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा गरिएको कुराकानीको सम्पादित अंश :

१. चालू आ.व. सकिदैछ, नगरपालिकाको महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ, दैनिकी कसरी बितिरहेको छ ?

अवश्य पनि चालू आ.व. अन्तिम चरणमा छ । अर्कोे आ.व.का. नीति तथा कार्यक्रम बजेट समेत प्रस्तुत गरिसकेको अवस्था छ । स्वभाविक रुपमा यो समयमा वर्षेनी निकै चाप हुने गर्दछ । जनप्रतिनिधि र कर्मचारी निकै बिजी हुने समय हो । वर्षभरी गरेका कामको सम्पूर्ण प्रक्रिया पुरा गर्ने, नयाँ काम गर्ने तथा अन्य काम पनि गर्ने भएकोले समय निकै प्याकट भएको अवस्था हो । यद्यपी हामीले विभिन्न रुपमा जनतालाई सेवा प्रवाह गरिरहेका छौँ ।सम्पूर्ण शाखा अन्तर्गतका कामहरुको अन्तिम चरणमा रहेका छन् । नगरपालिकाले पनि सोही अनुसार काम गरिरहेको छ । समग्रमा ठिकै चलिरहेको छ, दैनिकी ।

२. बितेको चार वर्षमा कोहलपुरमा पशु सेवा अन्तर्गत खास के–के काम भएका छन् बताइदिनुन ?

हामी निर्वाचित भएर आएदेखि हालसम्म पशुपंक्षी विकास क्षेत्रमा धेरै काम भएका छन् । हामीले यसका लागि धेरे कामको लागि अभ्यास पनि गरेका छौँ । कोहलपुर नगरपालिकाले संघीय तथा प्रदेश सरकारले लिएका लक्ष्य र उद्देश्य तथा जनताको आवश्यकता अनुसार काम गर्दै आइरहेको अवस्था छ । कोहलपुर नगरपालिकाले दुध उत्पादन क्षेत्रमा गाई र भैसीलाई सुत्केरी भत्ताको कार्यक्रम लागू गरेको छ । हामीले प्रति गाई र भैसीको दुई हजारका दरले प्रोत्साहन भत्ता उपलब्ध गराइरहेका छौँ । जुन निकै प्रभावकारी देखिएको छ । यस्तै पशु बीमा कार्यक्रमलाई पनि अघि सारिएको छ । यस्तै पशुपंक्षीमा लाग्ने खोप विरुद्ध वर्षेनी खोप अभियान शुरु गरेका छौँ । यो अभियान सबै वडामा संचालन हुन्छ । यस्तै सबै वडामा पशु स्वास्थ्य शिविर समेत हुने गरेको छ । कोहलपुर नगरपालिकाको वन क्षेत्रलाई समेटेर वडा नम्बर १,२,१२,१०,१३,७,८ र १४ मा रहेका झण्डै २ हजार साना किसानलाई समूहमा आवद्ध गरेर बाखा्र पकेट यरियाका रुपमा विकास गरिएको छ । यस्तै बोयर बाख्राको स्रोत केन्द्रको रुपमा पनि संचालन गरिरहेका छौँ, वडा नम्बर ८ मा । यस्तै बंगुर विशेष, खोर गोठ सुधार, घाँस विकास, बीउ विजन कार्यक्रम पनि लागू गरिएको छ । जसले गर्दा पशु पालन तथा अन्य कामा आकर्षण बढ्दै गइरहेको अवस्था छ । यसैगरि हामीले महिलालाई पशु पालन मार्फत सशक्तिकरणको लागि समूहमा आवद्ध गरिरहेका छौ । करिब २ हजार जना यसमा प्रत्यक्ष रुपमा जोडिएका छन् । ३५ सय परिवार लाभान्वित हुनेगरि कार्यक्रम ल्याइएको छ । पशु सेवासँग सम्बन्धित कृषकलाई व्यवसायिक बनाउनको लागि साना, मझौला र ठूला किसानलाई सम्बोधन गर्न खोजिरहेका छौँ । हामीले स्थानीय सरकार हाम्रो पक्षमा छ है भन्ने अनुभूत गराउनको लागि हामीले काम गरिरहेका छौँ । आउने वर्षमा दुध र खसी बोकाको सामुहिक बजारीकरणका लागि उत्पादनमा आधारित अनुदान दिने भनेका छौँ ।

३. आउँदो आ.व.को लागि नीति तथा कार्यक्रम र बजेटमा पशु सेवालाई कसरी सम्बोधन गरिएको छ ?

हामीले कोहलपुरका आर्थिक समृद्धि र यहाँको क्रियाकलापलाई हेर्दा तीन वटा क्षेत्र महत्वपूर्ण रहेका छन् । पशु र कृषि, उद्योग तथा पर्यटन यहाँको प्रमुख आर्थिक क्षेत्र हुन् । यहाँको करिब ६५ प्रतिशत जनसंख्या कृषि र पशु सेवामा जोडिएको छ । त्यसैले यस क्षेत्रको विकासको लागि हामीले केही काम अघि बढाउन खोजेका छौँ । कोहलपुरलाई अबको दुई वर्षमा आलू, तीन वर्षमा धान चामल र गहुँ र मकैमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य रहेको छ । यो आर्थिक वर्षदेखि हिउँदे मकै खेतीलाई प्रोत्साहन गर्दैछौँ । यस्तै च्याउ खेतीलाई प्राथमिकता दिइएको छ । अहिलेको तत्कालीन समयको प्राथमिकता स्वास्थ्य क्षेत्र रहेको छ । पशु र कृषि क्षेत्रको विकासका लागि पनि उल्लेख्य मात्रामा बजेट विनियोजन भइरहेको छ । यस्तै भौतिक पूर्वाधार निर्माणलाई पनि बजेट बढी नै विनियोजन गरिएको छ । हामीले थोरै बजेटमा धेरै किसानलाई लाभ हुने खालका कार्यक्रम र बजेट पनि त्यहिँ अनुसार छुट्याइएको छ । पशु क्षेत्रलाई समेटेर अनुदानका कार्यक्रम पनि ल्याइएको छ ।

४. चार वर्षको समयावधिलाई हेर्दा कोहलपुरमा कृषि क्षेत्रको विकासका लागि भएका मूख्य मूख्य कामका बारेमा बताइदिनुन ?

कृषि क्षेत्रको कुरा गर्दा कोहलपुरमा विगत र वर्तमानमा धेरै कुराको भिन्नता छ । यहाँ तरकारी, दुध,माछा, अण्डामा आत्मनिर्भर बनाउनको लागि प्रयास गरिरहेका छौँ ।दीर्घकालीन सोचका साथ हामीले भविश्यलाई हेरेर कार्यक्रमहरु ल्याइरहेका छौँ । अहिले हामी दुधमा आत्मनिर्भर छौँ । अहिले यहाँको उत्पादन माग भन्दा धेरै छ र हामीले बाहिर पनि निर्यात गरिरहेको अवस्था छ । दैनिक ६ हजार ५ सय लिटर दुध उत्पादन हुन्छ । माछा उत्पादनमा पनि यहाँको ५० प्रतिशत धानेको छ । माछा पालनलाई प्रोत्साहन गर्दैछौँ । यस्तै खसी बोकेको उत्पादनलाई नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ । भारतको आयात प्रतिस्थापन गर्ने हिसाबले हामीले तयारी गरिरहेका छौँ । यसमा अन्य पालिकाले पनि यस्ता कुरामा ध्यान दिनुपर्ने देखिन्छ । कम्तिमा ३० प्रतिशत आयात प्रतिस्थापन गर्न सकियो भने यहाँका धेरै मानिसले रोजगारी पाउँछन् र माग धान्न सजिलो हुन्छ । खाद्यान्नको कुरा गर्दा तरकारी पनि भारतमा अत्यधिक रुपमा आइरहेको छ । त्यस तर्फ नगरपालिकाले ध्यान दिइरहेको छ । यहाँको उत्पादनलाई सहज बजार भयो भने तरकारी आयातलाई कम गर्न सकिन्छ । नगरपालिका भने खाद्यान्नका दृष्टिकोणले आत्मनिर्भर छ । तर हाम्रो खाने शैली खाद्यमैत्री छैन । यस्ता कुरामा बेला मै सोच्नुपर्ने देखिन्छ । अब पोषण शिक्षालाई पनि जोडेर लैजानुपर्छ भन्ने हो । यस्तै कृषि क्षेत्रको विकासका लागि यहाँको जमिन खण्डिकरणले ठूलो चूनौती खडा गरेको छ । अबको १० वर्षमा जमिन खाली रहने की नरहने भन्ने कुरा रहेको छ । कोहलपुर नगरपालिकाले भू उपभोग नीति ल्याउने प्रयास गरिरहेको छ । यसमा सर्वसहमति हुन सकेको छैन । अहिलेको आवश्यकता खेतीयोग्य जमिन संरक्षण नै हो । यस्तै बैदेशिक रोजगारी गुमाएर आएकाहरुलाई पनि रोजगारीमा जोड्नको लागि नीति तथा कार्यक्रम र बजेट पनि ल्याइएको छ । यो आर्थिक वर्षमा कृषि क्षेत्रको विकासको लागि धेरै काम हुने हामीले विस्वास गरेका छौ ।

५. हालसम्म कोहलपुर नगरपालिकाले गरेका मुख्य उपलब्धीहरु के के हुन् ?

देशमा शासकीय स्वरुप फेरिएसँगै हामी जनप्रतिनिधि आयौँ । जनप्रतिनिधिमुलक संस्थाको रुपमा हामी आएको हो । कोहलपुर नगरपालिकामा विकासका आधारशिला खडा भएका छन् । करिब आधा दर्जन क्षेत्रमा उल्लेख्य काम भएका छन् । सोही अनुसार हामीले विकासको जग बसालेका छौँ । पहिलो कुरा हामीले पूर्वाधार निर्माणमा सफलता हासिल गरेका छौँ । १५ वटै वडा निर्माण गरेर त्यहाँबाट सहज सेवा प्रवाह भइरहेको छ । सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरि निःशुल्क स्वास्थ्य सेवा प्रदान भइरहेको छ । यस्तै जनशक्ति समेत परिचालन गरिएको छ । आगामी आर्थिक वर्षको साउन महिनादेखि आधारभूत अस्पताल सञ्चालनमा आउनेछ । त्यहाँबाट ओपिडी सेवा सञ्चालनमा आउनेछ । स्थानीय सरकार सञ्चालनका लागि ९७ वटा कानुन निर्माण भएका छन् । कोहलपुर नगर गौरवका योजनाहरु पनि सञ्चालनमा रहेका छन् । चक्रपद निर्माण, डुडुवा करिडोर, ढल निर्माण, सिटी हल, कवर्ड हल,फोहोर मैला व्यवस्थापन लगायतका काम शुरु भएका छन् ।साक्षर, पूर्ण खोपयूक्त, मानव सहयोगापेक्षी नगरपालिका घोषणा गरिएको छ । समग्रमा कोहलपुर समृद्धिको यात्रामा छ । हामी गइसकेपछि आउने नयाँ टिमलाई काम गर्न हामीले धेरै सहज हुने काम गरेका छौँ ।

प्रकाशित मितिः सोमवार, असार २१, २०७८     8:15:56 AM  |