27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

दैलेखमा सिँचाई आयोजनामा कार्यरत मजदुर बाढीमा बेपत्ता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ २८, २०७८  

दैलेख ।

दैलेखको भैरवी २ मा बाढीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। बिहीबार बिहान भैरवी–२ का ४० वर्षीय केशव थापालाई बाढीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ।

स्थानीइ पोडीघाट सिँचाइ आयोजना निर्माणकार्यमा संलग्न थापालाई एक्कासी आएको बाढीले बगाएको हो।

सिँचाइ योजनाको जाली भर्न लागिरहेका बेला एक्कासी खोलामा बाढी आएर उनलाई बगाएको सँगै रहेका उनका भाइ गणेश थापाले जानकारी दिए। ‘योजनाको काम नियमित भइरहेको थियो। जाली भरिरहेको अवस्थामा एक्कासी बाढी आयो, जाली छोप्न खोज्दा बाढीले बगाएर बेपत्ता बनायो,’ थापाले भने।

स्थानीय योजनामा कार्यरत मजदुर र गाउँलेले उनको खोजी गरिरहे पनि फेला पारेका छैनन्। बिहीबार बिहान ११ बजे देखि नै उनको खोजीकार्य जारी राखिएको प्रहरीले जनाएको छ। उक्त खोला मिसिएको छामघाट खोलामासमेत आज बिहानैदेखि खोजी भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुपम श्रेष्ठका अनुसार घटना घटेको खबरपछि इलाका प्रहरी कार्यालय दुल्लुबाट दुई प्रहरी घटनास्थलमा खटाइएको छ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २८, २०७८     1:52:22 PM  |