27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

कांग्रेसका मन्त्रीले लिए शपथ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ २४, २०७८  

सुर्खेत ।

२०७४ को निर्वाचनपछि नेपाली कांग्रेस पहिलोपटक सरकारमा गएको छ । निर्वाचनपछि पहिलोपटक आइतबार काँग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएको हो । पार्टीको तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीले शपथ लिएका हुन् । प्रदेश सरकारमा जलस्रोत तथा उर्जा विकासमन्त्रीमा दिनबन्धु श्रेष्ठ र सामाजिक विकासमन्त्रीमा यज्ञबहादुर बिसीले शपथ लिएका थिए ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुखले शनिबार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । अब कर्णाली सरकारमा माओवादी केन्द्रका मुख्यमन्त्रीसहित ३ जना, कांग्रेसका २ जना र एमालेबाट ‘फ्लोर क्रस’ गरेका ३ जनाको सहभागिता रहेको छ । वैशाख ३ गते मुख्यमन्त्री शाहीले प्रस्तुत गरेको विश्वासको प्रस्तावमा कांग्रेसले समर्थन गरेको थियो । एमालेका समेत ४ जनाले ‘फ्लोर क्रस’ गर्दै विश्वासको मत दिएपछि शाही नेतृत्वको सरकार जोगिएको थियो ।

विश्वासको मत लिएको भोलिपल्ट मुख्यमन्त्री शाहीले फ्लोर क्रस गर्नेमध्ये ३ जनालाई मन्त्री नियुक्त गरे पनि कांग्रेस सरकारमा गएको थिएन । मन्त्रीद्वयलाई बधाई दिँदै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले २०७४ को निर्वाचनपछि कर्णालीबाट कांग्रेसले सत्तारोहण सुरु गरेको बताए । ‘नेपाली कांग्रेस सरकारमा गएपछि पार्टीपंक्तिमात्र होइन, आमजनतामा पनि खुसी छाएको छ,’ उनले भने, ‘पार्टीको नीति, निर्देशनअनुसार जनताको पक्षमा काम गर्नुहोला ।’

पछिल्लो समय राष्ट्रिय राजनीतिमा देखिएको कांग्रेस–माओवादी केन्द्रको निकटताले कांग्रेसलाई कर्णाली सरकारमा जाने वातावरण बनेको थियो । मुख्यमन्त्रीलाई विश्वासको मत दिएको डेढ महिनासम्म कांग्रेस सरकारमा नजानुको मूलकारण मन्त्रालयको भागवण्डा नमिल्नु बताइएको थियो । तर राष्ट्रिय राजनीतिक समीकरणले ठोस आकार नलिँदा कांग्रेसको केन्द्रीय नेतृत्वले कांग्रेसले सत्तामा जान निर्देशन दिएको थिएन ।

सत्ता साझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कर्णालीमा माओवादी–कांग्रेस सत्ता समीकरण सम्भव भएको थियो । त्यसपछि कांग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिए लगत्तै सरकारमा जाने सहमति भएको भए पनि मन्त्रालयको संख्या ७ पु¥याएर कांग्रेसलाई एउटामात्र दिन खोज्दा कांग्रेस सत्तामा गएको थिएन ।

त्यसपछि माओवादी केन्द्रले मन्त्रीमा सिफारिस भइसकेका बिन्दमान बिष्टलाई ‘ब्याक’ गर्दै कांग्रेसको लागि दुइटा मन्त्रालय दिने निर्णय गरेको थियो । दुई मन्त्रालय पाए पनि कांग्र्रेसले सामाजिक विकास मन्त्रालयबाट अलग्याएर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गाभिएको युवा तथा खेलकुद कार्यक्षेत्रलाई सामाजिकमै ल्याउनुपर्ने सर्त राखेको थियो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको कार्यक्षेत्र हेरफेरको निर्णय गरेपछि कांग्रेसले सरकारमा जाने औपचारिक निर्णय गरेको
थियो । हाल ३५ सदस्य रहेको प्रदेश सभामा एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद रहेका छन् ।

प्रकाशित मितिः सोमवार, जेष्ठ २४, २०७८     8:02:42 AM  |