25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

फेरि थपियो इलाममा निषेधाज्ञा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८  

इलाम,  जेठ (रासस) इलाममा निषेधाज्ञाको समयावधि फेरि थप गरिएको छ । उच्चदरमा फैलिँदै गइरहेको कोरोनाको सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि जिल्ला कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञाको समयावधि जेठ २२ गतेदेखि जेठ ३१ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।

यसअघि जेठ १२ गतेदेखि जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काद्वारा जारी सूचनाअनुसार निषेधाज्ञाको समयावधिमा औषधि उपचारलगायतको अत्यावश्यक कामका लागिबाहेक घरबाहिर निस्कन र हिँडडुल गर्न निषेध गरिएको छ ।

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङपुल, सपिङमल, मनोरञ्जन स्थल, सैलुन, ब्युटीपार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय आदि सञ्चालन गर्न पाइने छैन । बजारमा बिक्री हुने तरकारी तथा फलफूलका हकमा स्थायीरूपमा निर्माण भएका स्थान वा पसलबाट स्वास्थ्य मापदण्डको पालना गरी बिक्री गर्न सकिने भएको छ । विकास निर्माणका कामहरू तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै कार्यस्थलमा श्रमिकहरूका लागि आवासीय व्यवस्था गरेर सञ्चालन गर्न सकिनेछ ।

खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्द्यजन्य पदार्थ, मासु तथा मासुजन्य पदार्थ, पशुपक्षीको दाना, अण्डा वा चल्ला बोकेको र कृषिजन्य उपज बोकेको सवारीसाधन गन्तव्यस्थल बाहेक अन्यत्र रोक्न नपाइने भएको छ । नेपाल सरकारबाट खुला गरिएको अन्तर्राष्ट्रिय प्रवेशविन्दु पशुपतिनगर नाकाबाट आवतजावत गर्न सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्नेछ । अन्य नाका वा गौँडाबाट आवतजावत निषेध गरिएको छ ।

आदेशको अवज्ञा गरेको खण्डमा कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम दण्ड सजाय हुने जनाइएको छ । जिल्लामा हाल सङ्क्रमितको सङ्ख्या एक हजार २०० नाघेको छ ।

प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८     8:21:30 AM  |