25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

जुम्लाको रावतबाडामा कोरोना महामारी : गाउँ नै एक साताका लागि शिल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८  

शुभाकर विश्वकर्मा, कोहलपुर : कोरोना संक्रमणको भयावह स्थिति सिर्जना भएपछि जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ६ को रावतबाडालाई शिल गरिएको छ । विगत एकसातादेखि गाउँमा कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएपछि गाउँपालिकाको सक्रियतामा उच्च सतर्कता अपनाएको हो ।

मंगलबार पहिलो चरणमा २७ जनामा गरिएको परिक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई वडा नम्बर ५ स्थित श्री दुर्गा माविको अस्थाई कोभिल अस्पतालमा रहेको आइसोसनमा राखिएको स्वास्थ्य शाखा प्रमुख गुरु प्रसाद चौलागाईले जानकारी दिए ।

एकैपटक ठूलो संख्यामा कोरोना पुष्टि भएपछि बुधबार उक्त गाउँका थप १ सय ९ जनाको कोरोना परिक्षण गरिएको छ । उनीहरुको रिपोर्ट आउन बाँकि रहेको उनले बताएका छन् ।

यता गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले तातोपानी गाउँपालिकाकाको कोभिड १९ नियन्त्रण तथा व्यवस्थापन समिति को बैठकले वडा नम्बर ६ रावतबाडा र खड्काबाडा बीचको आवातजावत बन्द गर्ने निर्णय गरिएको बताएका छन् । उनका अनुसार बैठकले जेष्ठ १९ गते देखि जेष्ठ २८ गते सम्म बन्द गरिएको जानकारी दिए । यस्तै गाउँपालिकाले आइसोलेसन थप्ने पनि निर्णय गरेको छ ।

यस अघि उक्त गाउँमा विवाह लगायतका सामूहिक गतिविधि भएका थिए । सम्बन्धित निकायले समय मै ध्यान नदिदाँ गाउँमा महामारी फैलिएको छ ।

ढिलो भएपनि गाउँपालिकाले गाउँलाई प्राथमिकतामा राखेर कोरोना चेक गराउनुका साथै आइसोलेसनको व्यवस्था गरेको भन्दै स्थानीयले गाउँपालिकालाई धन्यावाद प्रकट गरेका छन् । यस्तै खड्काबाडा र रावतबाडामा पाँचपाँच जना स्वयमसेवक समेत खटाइएको छ ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८     5:55:20 PM  |