19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कोभिड–१९ का बिरामीमा देखिन थालेको ‘कालो ढुसी’ के हो?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८  

काठमाडौँ ।

नेपालमा पनि म्युकोर्माइकोसिस अर्थात् कालो ढुसीका बिरामी फेला पर्न थालेका छन्। नेपालमा अहिलेसम्म नौ जना कोभिडका बिरामीमा कालो ढुसी देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार वीरगञ्जमा चार, काठमाडौँमा एकजना र नेपालगञ्जमा चारजनामा कालो ढुसी देखिएको थियाे।
जसमध्ये वीरगञ्जमा दुई र नेपालगञ्जमा दुई जना गरि चारजनाको मृत्यु भइसकेको छ।

पछिल्लो केही समय यता भारतमा पनि कोभिडका बिरामीमा यो समस्या बढेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हालसम्म भारतका १९ राज्यमा यो समस्या देखिएको छ।

यो समस्या लिएर अस्पताल पुग्नेहरूको संख्यामा ह्वात्तै वृद्धि भएको भारतीय चिकित्सकले बताएका छन्।

यही समस्याका कारण भारतमा धेरैले ज्यानसमेत गुमाइसकेका उनीहरूले उल्लेख गर्दै आएका छन्।

नेपालमा पनि गत वर्षमा केही व्यक्ति कालो ढुसीको समस्या लिएर अस्पताल पुग्ने गरेका थिए तर याे अहिले यो संख्या बढ्न सक्ने विज्ञहरूले बताएका छन्।

शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएका बेला यस्तो हुने गरेको नाक, कान, घाँटी रोग विशेषज्ञ डा. ढुण्डीराज पौडेलले बताए।

पछिल्लो समय देखिन थालेको कोलो ढुसी के हो? कसरी हुन्छ? कोभिड भएका व्यक्तिमा किन देखिन थालेको छ? यसबारे डा. पौडेलसँग गरिएको कुराकानीको संवादित अंशः

म्युकोर्माइकोसिस अर्थात् कालो ढुसी के हो?

म्युकोर्माइकोसिस अर्थात कालो ढुसी कुहिएका चिजमा बढी पाइन्छ। माटो, धुलो, फोहोरमैला, कुहिएका तरकारी तथा फलफूलमा हुन्छ। किटाणु मानिसमा हावाको माध्यमबाट सर्न सक्छ।

कसरी असर गर्छ?

शरीरमा अक्सिजन कमी भएका बेला स्टेरोइड औषधि विचार गरेर मात्र चलाउनुपर्ने हुन्छ। त्यसमा पनि ग्लुकोजको मात्रा हेरेर इन्सुलिन चलाउनुपर्ने हुन्छ। कोभिड भएका मधुमेहका बिरामी अझ त्यसमा पनि निमोनिया भएको छ भने यस्तो प्रकारको औषधिको प्रयोगका कारण हुन सक्छ।

चाहे वातावरणमा भएको ढुसी होस् वा मानिसभित्रै रहेको ढुसी सक्रिय हुन थाल्छ। त्यही सक्रिय भइसकेपछि ढुसी नाकको पिनास हुँदै आँखा, फोक्सो, दिमागसम्म पुग्छ।

यसले नसा, हड्डीलाई गलाउँदै जान्छ। भित्रभित्रै जब हड्डी र नसा कुहिन थाल्छन्। त्यसपछि कालो ढुसी बन्छ। धेरैजसो अन्तिम अवस्थामा थाहा हुने भएका कारण यसलाई निको बनाउन गाह्रो हुन्छ।

यसका लक्षण कस्ता हुन्छन्?
– नाक बन्द
– ढुसी बढ्न थालेपछि नाकमा दुखाइ बढी
– आँखा धमिलो वा नदेख्ने
– आँखा सुन्निने
– आँखा वरिपरि रातो हुने
– बाक्लो कुहिएको सिँगान झर्ने
– असर गरेको भागको टाउको दुख्ने
– छाला कालो हुने
– छाला लाटो हुने

यो कस्ता मानिसमा देखिन्छ?

मधुमेह, क्यान्सर, अंग प्रत्यारोपण गरेका र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा कालो ढुसी देखिन्छ।

ब्लडमा सुगरको मात्रा उच्च छ भने उनीहरूमा अझ धेरै देखिन सक्छ। अहिले भने कोभिड संक्रमण भएर निको भएका वा कोभिड संक्रमितलाई कालो ढुसी देखिन थालेको छ।

कालो ढुसी देखिनुको कारण के हो?

कोरोना भाइरस संक्रमिण र यसको के छ ठ्याक्कै भन्न सकिँदैन। तर, अहिलेको अवस्था हेर्ने हो भने अक्सिजनको कमी भएका धेरै बिरामीलाई स्टेरोइड औषधि प्रयोग गरिएको छ।

स्टेरोइड औषधि प्रयोग गरेको व्यक्तिमा यो समस्या देखिने सम्भावना धेरै हुन्छ।

संक्रमितलाई लामो समय अक्सिजन दिनुपरेको छ। उनीहरूको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका कारण यो समस्या देखिएको हुनुपर्छ।

उपचार विधि के छ?

मधुमेह थियो। कोभिड भयो र स्टेरोइड औषधि चलाइएको छ भने सतर्क हुन जरुरी हुन्छ। हलका मात्रै केही लक्षण देखिएको छ भने तुरुन्तै चिकित्सकको सल्लाहमा औषधि सेवन गरिहाल्नुपर्छ। त्यस्ता व्यक्तिलाई एम्पोटेरिसन बी औषधि चलाइहाल्नुपर्छ। तर, अहिले यो औषधि अभाव हुन थालेको छ, भारतमा।

नोपलमा आउने भनेकै भारतबाट हो। त्यही कारण यसको अभाव नेपालमा पनि हुन सक्छ कि भन्ने आशंका भइरहेको छ। यस्ता औषधि तुरुन्तै मगाउन आवश्यक छ।

अर्को कुरा मधुमेह भएको व्यक्तिले स्टेरोइड औषधि प्रयोग गर्नुभन्दा अगाडि सोच्न जरुरी छ।

यस्तै कालो ढुसीका कारण आँखाको ज्योति गुम्नुका साथै यो दिमागमा पुगेर मानिसको मृत्युसमेत हुने गरेको छ।

यो समस्या भएका बिरामीलाई बचाउन गाह्रो हुन्छ। ढुसीले दिमागमा छोएको छ भने बिरामीलाई बचाउन कठिन हुन्छ।

ढुसी औषधिले नजाने भएका कारण यसलाई सफा गर्नुपर्ने हुन्छ। अथवा शल्यक्रिया गरेर ढुसी भएको भाग खुर्केर फाल्नुपर्ने हुन्छ।

यसका लागि सरकारले ध्यान दिन जरुरी छ। यसको उपचारका लागि चाहिने सामग्री नहुन सक्छ वा नपुग्न सक्छ। कसरी ल्याउने? कहाँबाट ल्याउने त्यसको जोहो गर्न आवश्यक देखिएको छ।

स्टेरोइड औषधिको प्रयोग गरिएका अधिकांश व्यक्तिमा यो समस्या देखिन सक्छ।

जोगिनका लागि के गर्नुपर्छ?

जथाभावी औषधि प्रयोन गर्नु हुँदैन। चिकित्सकको सिफारिस गरेको बाहेक अन्य औषधि प्रयोग गर्नु हुँदैन। अनावश्यक औषधिको प्रयोगले पनि ढुसी बन्छ।

अझ स्टेरोइड औषधिको प्रयोग गर्नु नै हुँदैन। गर्नै परे पनि चिकित्सको सल्लाह लिएर मात्रै गर्नुपर्छ।
त्यसबाहेक मधुमेहका बिरामीले ख्याल राख्नुपर्छ। सुगर लेभल बढ्न दिनु हुँदैन। सँगसँगै रोग प्रतिरोधात्मक क्षमता बढाउन पोषणयुक्त खानेकुरा खानुपर्छ।

– मास्कको प्रयोग गर्ने
– हात धुने
– धुलो, फोहोरमैला, कुहिएका तरकारी, फलफूल तथा अन्नको प्रयोग गर्दै नगर्ने
– घर बनाइरहेका ठाउँ वा ओसिलो ठाउँमा जाँदा ध्यान पुर्‍याउने

प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८     12:23:38 PM  |