29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

अपराध नियन्त्रणमा जोड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८  

काठमाडौँ,  जेठ (रासस)  मुलुकमा अपराध अनुसन्धान नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न आधुनिक प्रविधिको अधिकतम उपयोगमा जोड दिइएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार आव २०७७÷७८ को फागुनसम्ममा प्रविधिको अधिकतम उपयोग गर्ने लक्षअनुरूप झण्डै ११ हजार सार्वजनिक स्थानमा सिसी टिभी जडान गरी सुरक्षाको निगरानी थालिएको छ । दोस्रो चरणको त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजनाअनुरूप तीन हजारभन्दा बढी जनशक्तिलाई तालिम प्रदान गरिएको समेत जनाइएको छ ।

सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ट्राफिक सञ्चार एप्स निर्माण गरी १९ सुरक्षा चौकीमा प्रयोग गरिएको छ । घटना दुर्घटनाको भौतिक सवुद प्रमाणको परीक्षण, विशेषज्ञबाट बकपत्र, पोलिग्राफ परीक्षण, औँठा छापको अभिलेख राख्दै जाने योजनाअनुसार उक्त आवको फागुनसम्म ८५७ पोलिग्राफ परीक्षण गरिएको र साइबर ब्यूरोबाट विद्युतीय कारोबारसम्बन्धी ५० मुद्दाको अनुसन्धान सम्पन्न भएको छ ।

सवारी दुर्घटना न्यूनीकरण तथा सडक सभ्यता अभिवृद्धिमा चेतनामूलक कार्यक्रममा समेत जोड दिइएको छ । उक्त अवधिमा झण्डै १६ लाखलाई प्रशिक्षित गराइएको छ । लैङ्गिक हिंसासम्बन्धी दुई हजार २८३ मुद्दा दर्ता भएकामा एक हजार ८१४ मुद्दा फछ्र्योट गरिएको सर्वेक्षणमा उल्लेख छ ।

नेपाल भित्रिने र बाहिरिने सबै विदेशीको जैविक सूचनासहितको विवरण राख्ने गरी नेपाली पोर्ट नामक अध्यागमन सूचना प्रणाली कार्यान्वयनमा ल्याइएको छ । विदेशस्थित ३९ नेपाली नियोगबाट समेत नेपाली पोर्टमार्फत भिसा जारी गर्न शुरु गरिएको जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने विदेशी पर्यटकका लागि अध्यागमन प्रक्रिया सहजीकरण गर्न सुरक्षा गार्ड तथा प्रशिक्षार्थी विद्यार्थीसमेत परिचालन गरी व्यवस्थित गरिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा लागु औषध प्रयोगकर्ताको सर्वेक्षण सम्पन्न गरिएको र वार्षिक औसत ५.०६ प्रतिशतले प्रयोगकर्ताको सङ्ख्या वृद्धि भई कूल एक लाख ३० हजार ४२४ पुगेको जनाइएको छ । तीमध्ये ९३ प्रतिशतभन्दा बढी पुरुष छन् । विपद् व्यवस्थापनका लागि नेपालका सबै जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद् व्यवस्थापन प्रतिकार्ययोजना तयार भएको र ६६ जिल्लामा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको सर्वेक्षणमा उल्लेख छ ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८     11:15:02 AM  |