कर्णालीमा अक्सिजन माग्दै युवाहरु धर्नामा



सुर्खेत ।

कर्णाली प्रदेश अस्पतालका लागि अक्सिजन माग्दै सुर्खेतका युवाहरु धर्नामा बसेका छन्। प्रदेश अस्पतालमा आवश्यक अक्सिजन आपूर्ति नभएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि सोमबारदेखि धर्नामा बसेका हुन्।

आवश्यकताभन्दा आधा अक्सिजन आपूर्ति भईरहेको अस्पतालमा प्रदेश सरकारले तत्काल अक्सिजन आपूर्तिको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ।

अक्सिजन अभावमा कर्णालीका नागरिकको अकालमा ज्यान गईरहेको भएपनि प्रदेश सरकार सत्ताको खिचातानीमा मन्त्रालय बागबण्डामा तल्लिन भएपछि युवाहरुले प्रदेश अस्पतालका लागि साढे दुई सय सिलिण्डर अक्सिजन माग गर्दै शान्तिपूर्ण धर्नामा बसेका हुन्।

‘यस्तो महामारीमा कर्णालीको जनताले अक्सिजन अभाव हुदाँ अकालमै ज्यान गुमाउनु परिरहेको छ,’ युवा कपिलनाथ योगी भन्छन्, ‘जनताले नै बनाईदिएका नेताहरु अहिले जनताको ज्यू, ज्यान रक्षामा उदासिन छन्, कुनै वास्तै छैन।’

महामारीकै विच मुख्यमन्त्री शाहीले तीनपटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन्। जसले गर्दा पनि युवाहरु आक्रोशित हुदैँ तत्काल नागरिकको रक्षाका लागि लाग्नुपर्ने उनीहरुको भनाई छ।

‘नागरिक उपचार नपाएर छटपटाईरहेका छन्, संघीय सरकारले उपेक्षा त गर्यो, गर्यो तर, प्रदेश सरकार पनि राजनीतिक भागबण्डामा लागेको छ,’ उनी भन्छन्, ‘प्रदेश अस्पतालमा अहिले तत्काल दैनिक २५० सिलिण्डर अक्सिजन उपलब्ध गराएर नागरिकको ज्यान बचाउँनुपर्छ, यदि हाम्रो शान्तिपूर्ण धर्ना कार्यक्रमको कुनै सुनुवाई गरिएनभने, थप हामी कडा संघर्षमा उत्रिन्छौँ।’

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १२ गते बुधबार