19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

कर्णाली प्रदेश अस्पतालले भन्यो, ‘जटिल बिरामी रिफर गर्नु’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २, २०७८  

सुर्खेत ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतले जटिल अवस्थाका बिरामीलाई मात्र रिफर गर्न आग्रह गरेको छ ।

अक्सिजन अभाव देखाउँदै थप बिरामी भर्ना नलिने बताएको अस्पतालले शनिबार अर्को विज्ञप्ति जारी गर्दै जटिल प्रकारका बिरामी भए मात्र अस्पतालमा रिफर गर्न आग्रह गरेको हो । कोरोना संकट व्यवस्थापन समितिको बैठकले सामान्य संक्रमितलाई स्थानीय तहमै उपचार गर्ने र जटिल प्रकृतिका संक्रमितलाई मात्रै अस्पतालमा रिफर गर्ने सहमतिपछि अस्पताल थप संक्रमितलाई भर्ना लिन सहमत भएको थियो ।

‘स्थानीय स्वास्थ्य संस्थाहरुबाट सम्भव हुनेसम्मको उपचार त्यहींबाट गर्नुहुन र त्यहाँ सम्भव नहुने अवस्थामा मात्र यस अस्पतालमा रिफर गरी पठाउनु हुन सबैमा अनुरोध गर्दछु,’ अस्पताल निर्देशक डा. डम्बर खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ । शुक्रबार साँझ अस्पतालले एक विज्ञप्ति जारी गर्दै शनिबारबाट थप बिरामीलाई भर्ना लिन नसक्ने बताएको थियो ।

उक्त सूचना जारी गरेपछि सर्वसाधारणले अस्पताल प्रशासन र प्रदेश सरकारप्रति सामाजिक सञ्जालमा चर्को आक्रोश पोखेका थिए । अस्पतालले भने नेपालगञ्जबाट अक्सिजन आपूर्ति बन्द भएको भन्दै थप संक्रमितलाई भर्ना लिन नसक्ने जनाएको थियो । तर, अस्पताललाई कम्पनीहरुले कर्णालीमा अक्सिजन आपूर्ति नरोकेको एचओ अक्सिजन इण्डष्ट्रिज प्रालि नेपालगञ्जका सञ्चालक रामु खड्काले जानकारी दिए ।

‘बिहीबार र शुक्रबार गरी ११० वटा सिलिण्डर पठाएका थियौं, हामीले अवरोध गरेका छैनौं, पालो आउन समय लागेको मात्र हो,’ खड्काले भने । तर कर्णाली प्रदेश अस्पताल सुर्खेतले शुक्रबार बेलुका एक सूचना जारी गर्दै अक्सिजनको अभाव हुँदा शनिबारदेखि कारोनाका थप नयाँ बिरामी भर्ना लिन नसकिने बताएको थियो ।

नेपालगञ्जबाट अक्सिजनको आपूर्ति हुने गरेको र अक्सिजन आउन छाडेका कारण कोरोनाका नयाँ बिरामी अस्पतालले भर्ना लिन नसक्ने प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताएका थिए । प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आए पनि यहाँ रहेको कोरोना संक्रमित बिरामीलाई हाइफ्लो अक्सिजन दिनुपर्ने भएकाले अक्सिजन सिलिन्डर आवश्यक रहेको उनले दाबी गरेका थिए ।

‘अक्सिजन प्लान्ट सञ्चालनमा आए पनि हाइफ्लो अक्सिजन दिन सक्दैन, नेपालगञ्जबाट अक्सिजन आउन छाडेको छ, जसले गर्दा यो स्थिति आयो,’ उनले जारी गरेको सूचनामा भनिएको थियो । अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट भए पनि त्यसबाट उत्पादन हुने अक्सिजनले बिरामीलाई थेग्न सक्ने अवस्था छैन । अहिले हाल करिब १०० सिलिन्डर अक्सिजन उत्पादन हुँदै आएको छ ।

तर, अस्पतालमा दैनिक ३०० बढी अक्सिजन आवश्यक पर्छ । हाल अस्पतालमा ९२ जना जटिल प्रकृतिका कोरोना संक्रमित उपचाररत रहेको बताइएको छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २, २०७८     9:00:11 AM  |