– नेपालगन्ज कोरोना भाइरस संक्रमणको महामारीको दोस्रो लहर शुरू भएसँगै यतिबेला नेपालको सबैभन्दा बढी कोरोना प्रभावित शहर बाँकेको नेपालगञ्ज हो । नयाँ वर्ष २०७८ लागेसँगै संक्रमण बढेको नेपालगञ्जमा २ हप्तामै कोरोना महामारी नियन्त्रण बाहिर पुगिसकेको छ ।
बाँकेमा कोरोना महामारी देख्दा भारतको जस्तै अवस्था नेपालमा पनि आउने त होइन भन्ने सबैतिर त्रास बढेको छ । त्यही कोरोनाको ‘हटस्पट’मा जनशक्ति र स्रोधसाधनको अभावबीच स्वास्थ्यकर्मी, नर्स र चिकित्सक महामारीबाट बिरामीलाई बचाउन दिनरात जुटेका छन् ।
तिनैमध्ये अग्रमोर्चामा खटिएकी ‘फ्रन्टलाइनर’ हुन् स्टार्फ नर्स सुनिता सहाकारी । संक्रमितलाई बचाउन आफ्नो दुःखलाई ‘साइड’मा राखेर सुनिता सेवामा खटिएकी हुन् । सुनिताको पीडा सुन्दा कसको मन रुँदैन होला ? तर उनै सुनिता आफ्नो मनलाई कठोर पत्थरजस्तो बनाएर महामारीमा जनतालाई बचाउन सेवामा खटिएकी छन् ।
कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका-३ रकुकी २५ वर्षीया सुनितालाई कोरोनाभन्दा ठूलो बज्रपात परेको छ । सुनिताले लाउँलाउँ-खाउँखाउँ भन्ने उमेरमा ब्लड क्यान्सर (रक्त क्यान्सर) बाट गत माघमा पति गुमाउन पुगिन् । सुनिताको विवाह भएको ८ वर्ष मात्र भएको थियो ।
काठमाडौंको पाटन अस्पतालमा उपचारको क्रममा पतिको मृत्युपछि उतै दाहसंस्कार गरेर कोरोनाको ‘इपिसेन्टर’ नेपालगञ्जको भेरी अस्पतालमा साहस जुटाउँदै सेवामा खटिएकी छन् उनी ।
आफ्नो पीडाको आलो घाउलाई भुलेर सुनिता संक्रमितको सेवामा खटिएकी छन् । उनले ६ वर्षको छोरालाई दिदीकी छोरीसँग राखेकी छन् । उनी १३ घण्टासम्म पीपीई लगाएर कोरोनाको ‘हटस्पट’मा संक्रमितको सेवामा खटिएकी छन् । सुनिताले छोरासँग नभेटेको पनि धेरै भइसकेको छ । उनी भन्छिन्, ‘१ हप्ता भयो । मलाई पनि कोभिड देखिएको छ । बिरामी छट्पटाएको देख्दा ‘रेस्ट’ गर्न मनले मान्दैन । बाँच्ने आशा सबैको हुने रहेछ । कोभिड भए पनि म आराम नगरी सेवामै छु ।’
‘मैले आफ्नो काखैमा नसर्ने रोगबाट श्रीमान गुमाए । अहिले मेरो श्रीमानकै उमेरका युवाहरू सर्ने रोग (कोभिड) महामारीबाट धमाधम मरिरहेको दैनिक रूपमा देखिरहेकी छु,’ सुनिताले भनिन् । बिरामीका कुरुवा रुँदा सुनिताको मन थामिँदैन । झल्यास्स आफू स्वास्थ्यकर्मी भएको सम्झन्छिन् अनि मनमा गाँठो पार्छिन् । किनकि उनीहरूकै अगाडि आँसु देखाए बिरामी झन् कमजोर हुन्छ भन्ने उनलाई राम्रोसँग थाहा छ ।
बिरामीलाई औषधि दिन्छिन्, सकिएका अक्सिजन सिलिन्डर ल्याएर बिरामीलाई फेरिदिन्छिन् । रातदिन सेवामै खटिन्छिन् । प्रत्येक बिरामीलाई शय्यामै पुगेर सम्झाउँछिन् । आँखै अगाडि मृत्यु हुँदा छेउमै रहेका अरु बिरामी डराउँछन् । सुनिताले सम्झाउँछिन्, नडराउनुहोस् भन्छिन् । ‘मृत्यु हुनेहरू कोरोनासँग हारेर गए पनि तपाईंहरूले जित्नुहुन्छ’ भनेर बिरामीको आत्मबल बढाउँदैरसम्झाउँदै सेवामा खटिन्छिन् उनी ।
सुनितासहित भेरी अस्पतालका ७० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा उपचारमा खटिँदा-खटिँदै कोभिड-१९ देखिएको छ । केही संक्रमित स्वास्थ्यकर्मीले ‘बेड रेस्ट’ गरे पनि सुनिताले १ दिन पनि आराम गरेकी छैनन् । सुनितालाई ६ महिनाअघि पनि कोरोना पोजेटिभ देखिएको थियो । kanchulikhaba