शुभाकर विश्वकर्मा, कोहलपुर
बाँकेको कोहलपुर नगरपालिका क्षेत्रका तीन ठाउँमा आकाशे पुल निर्माण गरिने भएको छ । कोहलपुरको मुख्य सडक क्षेत्रमा दुर्घटना न्यूनिकरण र पैदलयात्रीहरुको व्यवस्थापनका लागि आकाशे पुल निर्माण गरिने भएको हो । आगामी आर्थिक वर्षबाट निर्माण कार्य सुरु गर्ने लक्ष्य सहित करिब १२ लाख लागतमा डिपीआर समेत तयार भइसकेको कोहलपुर नगरपालिकाले जानकारी दिएको छ ।
कोहलपुर–नेपालगन्ज सडकखण्ड अन्तर्गत न्यूरोड, साझा चोक र हाईस्कूल चोकमा आकाशे पुल निर्माण गरिनेछ । यी क्षेत्र धेरै दुर्घटना र मानिसहरुको भीडभाड हुने क्षेत्र हुन् । नगरपालिकाले न्यूरोड र हाईस्कूल चोकको डिपीआर पुरा भइसकेको जनाएको छ । साझा चोकको डिपीआर पनि सम्पन्न हुने चरणमा रहेको कोहलपुर नगरपालिकाका इन्जिनियर बालकृष्ण महताराले बताए ।
बाँके जिल्ला मै पहिलोपटक कोहलपुरमा तीनै वटा पुल निर्माणका लागि एउटा पुलको लागि न्युनतम १ करोड ७५ लाखदेखि २ करोडसम्म लागत लाग्ने अनुमान छ । महताराले तीन वटा आकाशे पुल निर्माणको लागि कुल ६ करोड लागत लाग्ने बताए । उनका अनुसार न्युरोड चोकमा निर्माण गरिने आकाशे पुल ६२ मिटर लम्बाईको हुनेछ । साझा चोकमा निर्माण गरिने पुल ५० मिटर र हाईस्कूल चोक क्षेत्रमा निर्माण गरिने पुलको ५२ मिटर लम्बाईको हुनेछन् ।
‘नगरपालिकाको तर्फबाट डिपीआर सम्पन्न भइसकेको छ ।आगामी आर्थिक वर्षबाट बजेट विनियोजन तथा निर्माणको काम सुरु हुन्छ । गौरवको आयोजनाको रुपमा कोहलपुरमा आकाशे पुल निर्माण हुँदैछ ।’इन्जिनियर महताराले भने ।
उनले आकाशे पुलमा पिलर आरसिसीवाला हुने जानकारी दिएका छन् । यस्तै समग्रमा पुल निर्माणको लागि स्टिल र आरसीसीको मिश्रण हुने उनले अवगत गराए ।आकाशे पुल निर्माण हुनु सबैको लागि खुसीको कुरा भएको पनि बताए । यता कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत कोहलपुरको गौरवको आयोजनाको रुपमा आकाशे पुल निर्माण गर्न लागिएको बताउँछन् ।
आकाशे पुल निर्माणका लागि कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेर आवश्यक बजेट पनि विनियोजन गरिने उनले बताए । प्रमुख रावतका अनुसार आकाशे पुल निर्माणको लागि प्रदेश सरकार पूर्वाधार विकास तथा भौतिक योजना मन्त्रालयसँग बजेट माग पनि गरिएको छ ।
आगामी आर्थिक वर्षमा बजेट विनियोजनको आग्रह सहित करिब ९ करोड बजेट माग गरिएको रावतले बताए ।‘दुर्घटना न्यूनिकरणको उत्तम विकल्पको रुपमा हामीले आकाशे पुललाई मानेका छौ ।सोही अनुसार डिपीआर समेत भइसकेको छ । प्रदेशसँग पनि बजेट माग भइरहेको छ ।आगामी आर्थिक वर्षबाट सुरु हुन्छ ।’ रावतले भने । लुम्बिनी,सुदूरपश्चिम र कर्णाली प्रदेशको मुल प्रवेशद्धारको रुपमा रहेको कोहलपुरको लागि महत्वकांक्षी आयोजनाको रुपमा रहेको उनको भनाइ थियो ।
यस्तै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले कोहलपुरको अर्को पहिचानका रुपमा आकाशे पुल निर्माणका लागि पूर्वतयारी भइरहेको बताए । उनका अनुसार आकाशे पुल निर्माण भएमा बढ्दो जनसंख्या तथा सहरीकरणका कारण पनि देखिएको सडक दुर्घटनामा निकै ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । कोहलपुरमा अहिले करिब आधा दर्जन जति गौरवका आयोजनाहरु सञ्चालनमा भइरहेका छन् ।
कोहलपुरमा अहिले २७ करोड ठेक्का सम्झौतामा लामोदुरीको बसपार्क निर्माण कार्य सुरु हुने अन्तिम चरणमा छ । यस्तै १० तले भ्यूटावरको काम भइरहेको छ । प्रमुख प्रशासकीय अधिकृत नेपालीले भ्यूटावर निर्माणको करिब ५० प्रतिशत काम सकिएको जानकारी दिए । यस्तै कबर्ड हल समेत निर्माणको तयारीमा रहेको छ । अन्य थुप्रै साना तथा मझौला आयोजनाहरु निर्माण भइरहेको पनि नगरपालिकाले जनाएको छ ।