बाँके
बाँके जिल्लालाई ‘पूर्ण खोप’ युक्त जिल्ला घोषणा गरिएको छ । जिल्लाका ८ वटै पालिकाका सम्पूर्ण बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चितता भएपछि जिल्लालाई नै पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।
बाँकेमा एक उप–महानगर, एक नगर र ६ पालिका रहेका छन् । जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले शुक्रबार नेपालगन्जमा आयोजित घोषणा सभा मार्फत बाँके पूर्ण खोप जिल्ला भएको घोषणा गरेका थिए ।
उक्त अवसरमा उनले जिल्ला स्वास्थ्य कार्यालय बाँकेलाई खोप सुनिश्चितता भएको प्रमाणपत्र प्रदान गरेका हुन् । बाँके पूर्ण खोप सुनिश्चितता भएको प्रमाणित गर्दै जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जिल्ला समन्वय समितिलाई प्रमाणपत्र प्रदान गरेको थियो ।
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले जिल्ला स्वास्थ्य कार्यालय बाँकेलाई प्रमाणपत्रसहित बधाइ दिएका थिए ।कार्यक्रममा ८ वटै पालिकाका प्रमुख, स्वास्थ्य कार्यालयका खोप अधिकृत, स्वास्थ्य चौकीका प्रमुख, स्वयंसेविकालगायतको सहभागिता रहेको थियो ।