नेपालगन्ज ।
चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमन तिव्र पारिएको छ । अनुगमनकै क्रममा बाँकेका मासु पसलमा कुहिएको माछा बिक्रीका लागि राखिएको पाइएको छ । अनुगमन समितिले उक्त माछा बरामद गरी नष्टसमेत गरेको छ । अनुगमनका क्रममा ४९ वटा खान नमिल्ने गरी कुहिएको र बिग्रिएको अवस्थामा माछा बरामद गरेको छ ।
पसलेहरुलाई यस्ता माछा बिक्री नगर्न चेतावनीसमेत दिइएको छ । यस्तै, कतिपय माछामासु पसल दर्ता बिनौ नै सञ्चालन गरिएको पनि पाइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँके नेपालगन्जको संयोजन तथा सरोकारवालाहरुको सहभागितामा भएको अनुगमन कर्ताले नेपालगन्जका माछा तथा मासु पसलको सुधार गर्न आवश्यक देखिएको औंल्याएका छन् ।
अनुगमनका क्रममा अनुमति नलिएर सञ्चालन गरेका ३ वटा पसललाई दर्ता गरेर मात्र खोल्न भनिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका प्रमुख कृष्णप्रसाद पौड्यालले जानकारी दिए ।
भेटेरिनरी अस्पतालका डा. रुपेन्द्र ओलीले लामो समयसम्म खुला हावामा माछा मासु राख्दा बिग्रिएर खान नमिल्ने भइसकेको र त्यस्ता माछा बिक्री गर्दा उपभोक्ताको स्वास्थ्यमा गम्भीर हानी हुने बताए ।
डा. ओलीले माछा नबिग्रन बेला बेलामा केहि व्यापारिहरुले फर्मालिन प्रयोग गर्ने गरेको गुनासो आइरहने भएकाले यस्तो कार्य नगर्न अनुरोध गरे ।
यदि माछामा फर्मालिन प्रयोग गरेर बिक्री गरेको पुष्टि भएमा कानुन अनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ । पहिलोपटकलाई चेतावनी दिएर छाडिएको छ । आगामी दिनमा फेला परे कडा कारबाही गर्ने भएकाले त्यसो नगर्न सुझाइएको छ ।
नेपालगन्जमा माछा बिक्री गर्नेहरु अधिकांशले बाहिर खुला रुपमा राखेर बिक्री गरेको पाइन्छ । यसरी बिक्री गर्नु मानव स्वास्थ्यका लागि उपयुक्त नहुने अधिकारकर्मी बसन्त गौतमले बताए ।
खान अयोग्य माछा मासुका कारण मानवीय स्वास्थ्यमा असर पुगेको भन्दै संयुक्त अनुगमनलाई तिव्रता दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईले जानकारी दिए । अनुगमनमा मासुजन्य वस्तुको स्वच्छता एवं सरसफाई कायम राख्न समेत निर्देशन दिइएको छ ।








प्रतिक्रिया दिनुहोस्