12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

‘व्यवसायी बीचको सम्बन्धलाई शत्रुतापूर्ण रहन दिन्न’:चण्डी प्रसाद गैरे

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७७  

बाँकेको कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि भोली शनिवार निर्वाचन हुँदैछ । संघको नयाँ नेतृत्वको लागि व्यवसायीका दुई प्यानलहरु चुनावी मैदानमा उत्रिएका छन् । लक्ष्मणराज पौडेल नेतृत्वको लोकतान्त्रिक समावेशी व्यवसायी समूहबाट उद्योग उपाध्यक्ष तर्फ व्यवसायी चण्डी प्रसाद गैरे उम्मेदवारी दिएका छन् । कोहलपुरमा उद्योग क्षेत्रमा लागिरहेका उद्योग तर्फका उपाध्यक्ष पदका उम्मेदवार उनै गैरेसँग मिसनटुडेन्युज ले गरेको संक्षित कुराकानी ।

………………………………………………………………………..

१. कोहलपुर उद्योग बाणिज्य संघमा तपाईको उम्मेदवारी किन ?

आफु उद्योगी भएको र आफुले पनि केही व्यक्तिहरुलाई रोजगार दिएको तथा उद्योगसँग कोहलपुर उद्योग बाणिज्य संघको समन्वय गाढा, दिगो र सहरकारीयुक्त तरिकाले चल्ने वातावरण सिर्जना गर्नको लागि नै मैले उद्योग तर्फको उपाध्यक्षको उम्मेदवारी दिएको हो ।

२. तपाई आफै उद्योगी भएको नाताले कोहलपुर क्षेत्रका उद्योगीहरुको समस्या के देख्नुहुन्छ ? ती समस्याहरुलाई हल गर्नको लागि योजना के छन् ?

सबैभन्दा धेरै उद्योगीहरुका समस्या केछ भने प्राविधिक कठिनाईहरु धेरै छ । सरकारका नीतिगत समस्याहरु समेत उस्तै छन् । तालिमप्राप्त जनशक्ति हामीले पाउन ग्राहो छ । जस्तै म अपसेट प्रेस व्यवसायमा रहेकोले मेशिन अपरेटर, कम्प्युटर अपरेटर देखिन्छ ।

यी र यस्ता समस्याहरुलाई पूर्ण रुपमा समाधान गर्नको लागि उम्मेदवारी दिएको हुँ । संघमा आफु आइसकेपछि यो प्राविधिक तालिमहरु सुचारु गर्ने, उद्योगीहरुलाई आइपरेका समस्याहरु समाधान गर्ने नै मेरो मुख्य लक्ष्य रहेको छ ।

३. तपाईलाई मतदाताहरुले किन भोट दिने ?

एउटा उद्योगी हो । उद्योग तर्फको उपाध्यक्ष लडेको छ । एउटा उद्योगीले उद्योग तर्फबाट चुनाव लड्दै गर्दा १० वर्ष उद्योग क्षेत्रमा नै रहेको चण्डी गैरेलाई नै मत दिउ भन्ने मेरो अभिप्राय हो, मेरो आग्रह हो र मेरो अपिल हो ।

आम कोहलपुर नगरपालिका भित्र रहेका उद्योगी, व्यापारी, बुद्धिजिवी, पत्रकार सबै साथिहरुसँग मेरो उम्मेदवारी नै व्यापारीको हकहितका लागि नै मेरो उम्मेदवारी हो ।

४. यहाँका साना तथा घरेलु उद्यमीहरुको समस्या धेरै रहेको बताइन्छ ? संघले यसतर्फ खासै चासो नदिएको आरोप लाग्ने गरेको छ ? तपाईले जितेमा समस्या हल गर्न सक्नुहुन्छ ?

विगतको कोहलपुर उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य म रहिरहदा कोहलपुरमा रहेका लघु, घरेलु तथा साना उद्योगीसँग संघको सम्बन्ध एकदम शत्रुतापूर्ण रह्यो ।

शत्रुतापूर्ण रहेको त्यो सम्बन्धलाई म आइसकेपछि त्यो वातावरण बनाउँने छैन भन्ने विश्वास दिलाउन चाहान्छु । लघु, घरेलु तथा साना उद्योगीसँग सहकार्य गरेर सल्लाह सुझाव लिएर अगाडि बढ्ने वातावरण बनाउनेछु ।

५. अन्त्यमा आम मतदाताहरुलाई के भन्न चाहानुहुन्छ ?

आम मतदाताहरुलाई सक्षम र सवल व्यक्ति चुन्नुहोला भन्न चाहान्छु । आफ्नो मत खसाल्न पाउने अधिकारको सही ठाउँमा सदुपयोग
गर्नुहोला । एउटा मतले नै कोहलपुर उद्योग बाणिज्य संघको भविष्य निर्धारण गर्न सक्नेछ । त्यस्ता व्यक्तिहरुलाई छनौट गरेर आफ्ना मतको सदुपयोग गर्नुहोला भन्ने अपिल गर्दछु । धन्यवाद ।

प्रस्तुतीः कृष्ण ओली

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७७     12:24:22 PM  |