कोहलपुर प्रहरीको सफलताः चरीबाघको छालासहित ३ पक्राउ



कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिका, १ कुसुम नजिकैबाट प्रहरीले २ थान चरीबाघको छालासहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीको बिशेष टोलीले आइतबार साँझ चरीबाघको छालासहित तीन जनालाई पक्राउ गरेको
हो ।

अवैध रुपमा वन्यजन्तुको चोरी सिकार तथा बेचबिखन भइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले चरीबाघको छालासहित तीन जनालाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले जानकारी
दिए ।

उनका अनुसार दुर्लभ चरीबाघको छालासहित पक्राउ पर्नेमा कुमाख गाउँपालिका ७ सल्यानका २३ वर्षीय कमल डिसी, सोही ठाउँका २४ वर्षीय हिमेन्द्र ओली र बाघचौर नगरपालिका ३ सल्यानका ३१ वर्षीय जीत बहादुर डिसी रहेका छन् ।

चरीबाघको दुई छालामध्ये एउटा अली ठूलो र अर्को सानो रहेको छ । उनीहरुको साथबाट तीन थान मोबाइल समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षक सुबराज बमले जानकारी दिए ।

उनका अनुसार चरीबाघको छालासहित पक्राउ परेका तीनै जनालाई आज सोमबार आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइने छ ।

भिडिओ

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन १० गते सोमबार