जसले ‘कान्छो प्रदेश’ जन्माए



सुर्खेत ।

क्रमशः सुर्खेतका याम बहादुर विसी, टिकाराम गौतम, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुँवर ।

२०७२ साल साउन २५ गते । ‘अखण्ड मध्यपश्चिम’को आन्दोलनमा चार जना सहिद भएको दिन । उक्त आन्दोलनमा सुर्खेतका तीन जना र जुम्लाका एक जना सहिद भएका थिए । प्रत्येक वर्ष साउन २५ गते आउँदा सहिद यामबहादुर बिसीका बुबाआमालाई स्वार्गीय छोराको यादले सताउँछ । उनीहरु भन्छन् ‘मेरो छोरासहित अन्य तीन जनाको बलिदानले ‘कान्छो प्रदेश’ बन्यो । धेरै मान्छे सत्तामा पुगे । अहिले अवस्था हेर्दा शान्तिको श्वास फेर्ने अवस्था छैन ।’ साउन २१ गते नेपाल सरकारले संघीयता निर्माणका लागि प्रदेशहरुको नक्सांकन गरेको थियो ।

उक्त सिमांकनमा साविकका भेरी र कर्णाली अञ्चललाई सुदुरपश्चिम प्रदेशमा पार्ने केन्द्रीय सरकारले निर्णय जारी ग¥यो । सरकारको निर्णयले साविक भेरी र कर्णाली अञ्चलका नागरिकलाई उपयुक्त भएन । उक्त निर्णय विरोधमा अहिलेको कर्णाली प्रदेशका केही बुद्धिजीवी, शिक्षक तथा विद्यार्थीले आन्दोलनको घोषणा गरेका थिए । बाँके, बर्दिया सहित साविक ‘अखण्ड मध्यपश्चिम’का लागि सिंगो भेरी, कर्णाली सडकमा ओर्लियो । अखण्ड मध्यपश्चिम नै हुनुपर्छ, हामीलाई सिरदेखी पाउँ सम्मको भुगोल चाहिन्छ भन्दै आन्दोलन चर्कियो । अखण्ड मध्यपश्चिम र प्रादेशिक राजधानीको मुद्दामा केन्द्रित भयो । अखण्ड मध्यपश्चिम र प्रादेशिक राजधानीको मुद्दालाई सुर्खेती जनता लगायत कर्णालीबासीले एकमतले अनुमोदन गरे ।

नागरिक समाजका तर्फबाट तेजविक्रम बस्नेतको संयोजकत्वमा संघर्ष समितीको गठन भयो । सुर्खेत जिल्लामा उर्लिएको आन्दोलनले जिल्ला प्रशासन कार्यालयमा क्षती समेत हुन पुग्यो । सोही दिन नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काकोे घरमा तोडफोड गर्न थालेपछि प्रहरीले भीड नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो । यतिबेलासम्म अखण्ड मध्यपश्चिम र प्रादेशिक राजधानीको मुद्दाको शुरुवात गर्ने तेजविक्रम बस्नेत भने भूमिगत भइसकेका थिए । आन्दोलनमा एकैदिन अर्थात साउन २५ गते तीन जनाको मृत्यु भयो । उक्त आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर सुर्खेतका टीकाराम गौतमको घटनास्थलमै ज्यान गएको थियो । सुर्खेतका यामबहादुर बिसी धमलाचोक नजिकै रहेको अवस्थामा प्रहरीले चलाएको गोली लागेर ढले । सुर्खेतको मंगलगढीचोकमा आएको आन्दोलनले गोपालसिंह रजवार भाग्ने क्रममा प्रहरीले प्रहार गरेको गोली लागेर सदाका लागि बिदा भए ।

त्यस्तै साविक कर्णालीका पाँचै जिल्लामा आन्दोलन चर्किएको थियो । त्यस्तै जुम्लामा पनि प्रहरीले आन्दोलनकारीलाई दमन गरी चलाएको गोली लागेर हरिबहादुर कुँवर घाइते भए । घाइते कुँवरलाई उपचारको लागि काठमाडौं पु¥याइयो । तर पनि गम्भीर घाइते भएका कुँवरले साउन २६ गते शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा ज्यान गयो । उक्त आन्दोलनमा जुम्लाबासीले ‘बरु रोटी खादैनौ हामी डोटी जादैनौ’ भन्ने नारा लगाएका थिए । भदौ ४ गते नेपाल सरकारले भेरी र कर्णालीका १० जिल्लालाई नयाँ सिमांकन गर्दै ६ नम्बर प्रदेशको घोषणा गर्न बाध्य भयो । पछि सरकारले चारै जनालाई सहिद घोषणा गरेको हो । नेपालमा भएका विभिन्न चरणका आन्दोलनहरुमा शहादत प्राप्त गरेकाहरुको लाइनमा तत्कालीन ६ नम्बर प्रदेशका चार जनाको नाम समेत थपियो । उनीहरुको बलिदानीका कारण अहिले कर्णाली प्रदेश प्राप्त भएको हो ।

यता नयाँ प्रदेशको लागि ज्यान गुमाउनेहरु प्रति कर्णाली सरकाले कुनै चासो नदेखाएको सहिद परिवारहरुले गुनासो गरेका छन् । पीडित परिवाहरुले आफ्नो परिवारको सदस्य गुमाउनेहरुको घाउमा अझैसम्म पनि मल्हम् लाग्न नसकेको बताउँछन् । आइतबार सहिद दिवसको अवसर पारेर सहिदको सम्झनामा वृक्षारोपण गरिएको थियो । सहिद याम बिसी स्मृति प्रतिष्ठानको आयोजनामा देउती बज्यै सामुदायिक वनको चौखेढुङ्गामा भएको वृक्षारोपणमा सहिद यामबहादुर बिसीका बुबा शेरबहादुर बुढाले बर र आमा बाली बुढाले पिपल रोपेका हुन् । सहिदहरुको आत्माले शान्ति पाओस् भन्ने आशाले बर पिपल रोपिएको सहिद यामबहादुर बिसीका बुबा शेरबहादुर बुढा बताउँछन् । उनले भने ‘छोराले प्रदेश स्थापनाका लागि ज्यान दियो ।

तर प्रदेश सरकारले उनीहरुको सम्मानमा चासो नदेखाएकोले साह्रै दुःख लागेको छ ।’ उनका अनुसार सरकारले सहिदको सम्मान र सहिद परिवारका लागि केही पनि गर्न सकेको छैन । उक्त वृक्षारोपण सहभागी वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष नन्दलाल शर्माले सहिदले रगत बगाएर प्रदेशको स्थापना भएको बताए । उनका अनुसार चारै जना सहिदको सपना साकार गर्न समृद्ध प्रदेशका लागि एकजुट हुनुपर्छ । ‘केवल वर्षको एकदिन यस्तो गर्छौ, उस्तो गर्छौ भनेर केही पनि हुँदैन । उनीहरुको बलिदानको रक्षा गर्नुपर्छ । समृद्ध प्रदेशका लागि प्रदेश सरकारले सोच्नैपर्छ । तत्कालिन समयमा गरिएका निर्णयहरु कार्यान्वयन गर्न कञ्जुस्याइं गर्न पनि हुँदैन ।’ उनले भने । कर्णाली प्रदेश सरकारको तर्फबाट भने कुनै पनि औपचारिक कार्यक्रम भएन ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन २६ गते सोमबार