कोरोना भाइरसको कहर अझै पनि विद्यमान छ । चीनको वुहान शहरबाट सुरु भएको भाइरस विश्वभर महामारीका रुपमा फैलिएको थियो । नेपाल लगायतका ठूला राष्ट्रहरुले समेत विगत चार महिनायता कोरोना कहरको सामना गर्दै आएको छन् । यसबाट समाजका हरेक वर्ग प्रभावित बन्न पुगे । लकडाउनमा बढी प्रभावित महिला, बालबालिका समेत बने । यो बेला पनि उनीहरु हराउने, बेचबिखनमा पर्ने, हिंसामा पर्ने क्रम रोकिएन् । विभिन्न तथ्यांकहरुले यो कुराको पुष्टि समेत गर्दछ । लकडाउनले महिला तथा बालबालिकामा पारेको असर लगायतका विषयमा माइती नेपाल नेपालगञ्जका क्षेत्रीय प्रमुख केशव कोइरालासँग मिसन टुडे राष्ट्रिय दैनिकका डिल्ली शाहीले गरेको कुराकानीको सम्पादित अंश ।
१. लकडाउनको समयमा माइती नेपालको भूमिका कस्ताे रह्यो ?
विश्व नै कोरोनाका कारण आक्रान्त भैरहेको बेलामा पनि माइती नेपालले निरन्तर काम गरिरहेको थियो । अहिले पनि निरन्तर काम गरिरहेको छ । लकडाउनको समयमा महिला तथा बालबालिकाहरु कुनै हिंसामा नपरुन भनेर हामीले कानूनी सहायताको लागि भनेर केही नम्बरहरु सार्वजनिक गरेका थियौं । जुन नम्बरहरुमा समस्यामा परेका जुनसुकै नागरिकले सम्पर्क गर्न सक्छन् । ती नम्बरहरुमा केही केसहरु पनि आए । सोही नम्बरहरु मार्फत उनीहरुको समस्याको समाधान गर्नका लागि सम्बन्धित निकायमा फोन गर्ने कामहरु पनि ग¥यौं । कुनै केसहरु नेपाल प्रहरीसँग समन्वय गरी समस्याको समाधान ग¥यौं । अति जघन्य किसिमका केसहरुलाई परामर्श सेवाहरु राखी महिला, बालबालिकाहरुको समस्या समाधान गर्ने कार्यहरु ग¥यौं ।
२. लकडाउनको समयमा महिला तथा बालबालिका कत्तिको प्रभावित भए नी ?
हामीले लकडाउनको समयमा निकै चूनौतीको सामना गर्दै आफ्नो कामहरु जारी राखेका छौं । लकडाउनको समयमा घरबाहिर नआउने हो तर अहिले पनि घटनाहरु घटिरहेका छन् । यो भनेको दुःखत पक्ष हो । यति बेला आफ्नो घरपरिवारसँग हाँस्ने, खेल्ने र घुलमिलमा निकै उपयोगी समय हो । पहिला आफ्नो परिवारका सदस्य कहाँ गएका छन् । सबैले ख्याल गर्नुपर्छ । लकडाउनका कारणले घरभित्र बस्नुपर्ने अवस्था आयो । यस्तो विषम परिस्थितिमा पनि मानव बेचविखनका घटना आउनुले भविष्यमा अझै ठुलो संकट निम्त्याउने डर देखिन्छ । अहिले लकडाउन अवधीमा ७ वटा खोज तलासको निवेदन परेको छ । जसमा दुई जना खोजतलास भैसकेको र अन्यको खोजी कार्यहरु निरन्तर रुपमा जारी राखेका छौं । ती सबै खोजतलासका घटनाहरु रहेका छन् तर विगतमा भने महिनामा ४० वटा भन्दा बढि घटनाहरु आउने गर्दथे । पहिलेको तुलनामा कम घटनाहरु आएका छन् ।
३. माइती नेपालले महिला तथा बालबालिकासँग जोडिन कस्ता प्रयास गरेको छ ?
माइती नेपालले विगतदेखि नै विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । अहिले पनि लकडाउनको समयमा पनि पौष्टिक एक छाक खाने खुवाउने कार्य जारी राखेको छ । अहिलेको विद्यमान अवस्थालाई केही सहज बनाउन तथा खासगरी महिला र बालबालिकालाई पौष्टिक एक छाक खानाले उनीहरुको दैनिक जीवनयापनलाई थोरै भएपनि सहयोग पुगोस् भनेर अभियान सुरु गरिएको हो । यसलाई पहिला नेपालगञ्ज उप–महानगरपालिकामा सुरु गरेका थियौं । अहिले कोहलपुर नगरपालिकामा एक छाक खाना खुवाउने अभियान चलिरहेको छ । यो अभियानमा १४ हजार बढि महिला, बालकालिहरुलाई खाना खुवाउने लक्ष्य राखेका छौं । विगतमा हामीले साढे सात हजारलाई खाना खुवाएका थियौं ।
४. महिला तथा बालबालिकाहरु लकडाउनको समयमा सबैभन्दा बढी कुन माध्यमबाट हिंसामा परेका थिए ?
घटनाको प्रकार एउटै हो फरक भने छैन । तर पहिले भारतको बाटो भएर अवैध रुपमा विदेश जाने क्रम भने अहिले रोकिएको छ । अहिले सबैभन्दा बढि बेरोजगारीको समस्याले मानिस बेचबिखनमा पर्ने गरेको छ । यति बेला गरिब निम्न वर्ग लगायतका व्यक्तिहरुको महिला बालकालिकाहरुलाई रोजगारीको प्रलोभवनमा पारी बेचखिनमा परिरहेका हुन्छन् । कोही भने साथीभाइहरुको लहलहीमा लागेर मानव हिंसा तथा बेचबिखनमा परिरहेका हुन्छन् ।
६. अत्यमा के भन्न चाहानुहुन्छ ?
अत्यमा, यस मिसन टुडे राष्ट्रिय दैनिक पत्रिकालाई धन्यवाद दिन चाहन्छु । आफ्नो घरको सदस्य कहाँ गएको छ । त्यसको जानकारी अर्को परिवारको सदस्यलाई जानकारी दिन अनुरोध गर्न चाहन्छु । लकडाउनको समयमा पनि बालबालिका हराउनु, बेचिनु नराम्रो कुरा हो । कुनै साथीहरु कहाँ जाने क्रममा आफ्नो बालबालिकालाई अभिभावकलाई के कामको लागि जान लागेको भनी जानकारी विना बाहिर अनावश्यक नपठाउन आम नागरिक आग्रह गर्दछु ।








प्रतिक्रिया दिनुहोस्