कोहलपुर ।
बाँकेको नेपालगञ्जस्थित कारागारका एक कैदीबन्दी र एक सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ । कारागारको सुरक्षामा खटिएका एक प्रहरी जवान र भित्र रहेका एक कैदीबन्दीलाई बिहीवार कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । संक्रमित कैदीबन्दी नेपालगञ्ज उप–महानगरपालिका, ६ का २८ वर्षिय पुरुष र नेपाल प्रहरीका जवान सुर्खेत गुर्भाकोटका ३० वर्षिय पुरुष हुन् । उनीहरु दुवै जनालाई भेरी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा बिहीवार कोरोना पुष्टि भएको थियो । उनीहरुको पछिल्लो ट्राभल हिस्ट्री भनेको कारागारदेखि भेरी अस्पतालसम्मको मात्र रहेको छ ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले संक्रमित कैदीबन्दी उपचारका लागि भेरी अस्पताल गएको भेटिएको बताए । उपचारका लागि अस्पताल जाँदा उनको सुरक्षामा प्रहरी जवान नै खटिएका थिए । सोही कारण दुवै जनालाई अस्पतालबाट कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । ‘कैदीबन्दी बिरामी भएपछि उपचारका लागि केही दिनअघि भेरी अस्पतालमा लगिएको रहेछ’ कोरोना स्रोत व्यक्ति श्रेष्ठले भने, ‘त्यहाँ कैदीबन्दी अन्य बिरामीहरुसँग समेत सम्पर्कमा आएको देखिन्छ ।’
अस्पताल जाँदा उनीमा ज्वरो र रुघाखोकि देखिएकाले अस्पतालको आइसोलेसन कक्षमा राखिएको थियो । उक्त आइसोलसन कक्षमा सुर्खेतका एक कोरोना संक्रमित बिरामी समेत राखिएका थिए । अस्पतालमा उपचारपछि कारागार फर्किएका २८ वर्षिय कैदीबन्दी कोरोना हुनसक्ने आशंकामा छुट्टै कोठामा बसेका थिए । ‘संक्रमित कैदीबन्दीले कारागारभित्र अन्यसँग सम्पर्क राखेको देखिएन’ कोरोना स्रोत व्यक्ति श्रेष्ठले भने, ‘अस्पतालबाट आएलगत्तै कारागार प्रशासनले छुट्टै कोठाको व्यवस्था गरेर राखेको रहेछ । त्यसैले अन्यमा संक्रमण फैलिनसक्ने सम्भावना न्यून देखिन्छ ।’ प्रहरी जवानलाई भने कैदीबन्दीबाट नै सरेको हुनसक्ने उनले बताए ।
‘कैदीबन्दीको सुरक्षामा संक्रमित प्रहरी खटिनुभएको रहेछ’ उनले भने, ‘त्यसैले सुरुमा कैदीलाई त्यसपछि प्रहरी जवानलाई संक्रमण भएको हुनसक्छ ।’ संक्रमित प्रहरी जवानसँग सम्पर्कमा आएका अन्य एक प्रहरीको भने शुक्रबार पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । स्वास्थ्य कार्यालय बाँकेको टिमले कारागारका संक्रमित दुई जनाको सम्पर्कमा आएका व्यक्तिहरुको ट्रेसिङ गरेको थियो । ‘दुवै संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको शुक्रबार नाम ठेगाना संकलन गरेका छौं’ उनले भने, ‘शनिबार उनीहरुको स्वाब संकलन गर्नेछौं ।’
कोरोना स्रोत व्यक्ति श्रेष्ठले कैदीबन्दीको सम्पर्कमा परिवार केही सदस्यहरु समेत आएको पाइएको बताए । उपचार गर्न अस्पताल पुगेका बेला परिवारका चार सदस्यहरुले उनलाई भेटेका थिए । संक्रमित कैदीबन्दी चोरी मुद्दामा सजाय भोगिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिए । ‘पहिलेदेखि नै हामी कारागारको सुरक्षामा सर्तक थियौं’ उनले भने, ‘हाम्रो प्रहरी जवान पनि अस्पतालबाट फर्र्किएपछि सेल्फ आइसोलेसनमा बसेको थियो । पछि कोरोना पुष्टि हुन पुग्यो ।’
अहिले खजुरास्थित कोरोना बिशेष अस्पतालमा समेत संक्रमित प्रहरी जवानले नै संक्रमित कैदीबन्दीको सुरक्षा गरिरहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । ‘दुवै जनालाई खजुराको अस्पतालमा राखिएको छ’ उनले भने, ‘संक्रमित कैदीबन्दी रहेकाले संक्रमित प्रहरीलाई सुरक्षाको जिम्मेवारी दिएका छौं ।’ नेपालगञ्ज कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेका छन् । बाँकेको कारागारमा पहिलोपटक सुरक्षाकर्मी र कैदीबन्दीमा कोरोना पुष्टि भएको हो ।









प्रतिक्रिया दिनुहोस्