कोहलपुर/ नेशनल प्याब्सन बाँकेले विद्यालय तहको पठनपाठन रेडियोबाट सञ्चालन गर्ने भएको छ । कोरोनाको महामारीपछि लागू गरिएको लकडानका कारण अवरुद्ध विद्यालय तहको पठनपाठनलाई निरन्तरता दिन यही असार ३ गतेदेखि रेडियो मिसन ९०.६ मेगाहर्जबाट कक्षा सञ्चालन गर्न लागिएको हो ।
कोहलपुर क्षेत्रका दुई वटा रेडियोबाट असार ३ गते बुधबारबाट औपचारिक रुपमा रेडियो कक्षा सञ्चालन गरिने नेशनल प्याब्सन बाँकेका अध्यक्ष श्याम कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयसम्मको लकडाउनका कारण विद्यार्थीहरुको अवरुद्ध पठनपाठनमा सहजिकरण गर्न वैकल्पिक माध्यमका रुपमा रेडियो कक्षा सञ्चालन गर्न लागिएको हो । अनलाइन र टेलिभिजन भन्दा सरल र सहज रुपमा सबैको पहुँचमा रेडियो हुने भएकाले रेडियोको माध्यमबाट विद्यालय तहको कक्षा सञ्चालन गर्न लागिएको उहाँको भनाई छ ।
यस्तै नेशनल प्याब्सन बाँकेका कार्यवहाक सचिव झलक वलीले करिव तीन महिना लामो लकडाउनका विद्यार्थीहरुले पहिले पढेका सबै कुराहरु बिर्सिसक्ने भएकाले उनीहरुको सिकाईलाई ताजा बनाई राख्न रेडियोबाट कक्षा सञ्चालन गर्न लागिएको बताउनु भयो । उहाँका अनुसार रेडियो सञ्चारको सबैभन्दा सरल र सहज रुपमा सबैको पहुँचमा हुने र कम खर्चमा पनि सुन्न सकिने भएकाले विद्यार्थीहरुका लागि रेडियो कक्षा सुरु गर्न लागिएको उहाँले बताउनु भयो ।
शनिबार बाहेक हरेक हप्ताको ६ दिन रेडियो मिसनबाट कक्षा ८, ९ र १० को लागि रेडियो तथा अनलाइन कार्यक्रम सञ्चालन गरिने छ । जसअन्तर्गत अंग्रेजी, गणित, नेपाली, विज्ञान र सामाजिक विषयको कक्षा पढाई हुने छन् । कक्षा ४ देखि ७ सम्मको रेडियो कक्षा भने कोहलपुर एफ.एमबाट सञ्चालन गरिने जनाइएको छ । नेशनल प्याब्सन बाँकेको प्रयोजनमा सञ्चालन हुने कार्यक्रमको संयोजन तक्षशिला एकेडेमीका प्रिन्सीलप चिरायूमान विश्वकर्माले गर्ने बताइएको छ । कोरोनाको महामारीपछि सृजित लकडाउनका कारण ठप्प रहेको विद्यालय तहको पठनमाठन वैकल्पिक माध्यमबाट अगाडि बढाउनका लागि रेडियो कक्षा सञ्चालनमा ल्याउन लागिएको नेशनल प्याब्सन बाँकेले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्