आरडीटीकै भरमा घर पठाउँदा जोखिम



सुदीप अधिकारी । बर्दिया ।

सर्वोच्च अदालतको जेठ १८ गतेको फैसलामा क्वारेन्टिनमा रहेका सम्पूर्ण व्यक्तिहरुको अविलम्ब पीसीआर विधिबाट निशुल्क स्वास्थ्य परीक्षण गर्नु भनी सरकारलाई आदेश दिएको थियो । तर यो आदेशको पालना कतै पनि भएको पाइएको छैन । भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुलाई १४ दिनपछि धमाधम घर पठाउन थालिएको छ । क्वारेन्टिनमा १० देखि १४ दिनको अवधी पुरा गरेकाहरुलाई आरडीटी परीक्षण मात्र गर्ने गरिएको छ ।

क्वारेन्टिनबाट फर्कर्दै गरेका मानिसहरु ।

बर्दिया जिल्लाका विभिन्न पालिकाको क्वारेन्टिनमा बसेका मध्ये आरडीटी विधिबाट गरिएको परीक्षणमा रिर्पोट नेगेटिभ देखिएकाहरुलाई क्वारेन्टिनबाट सिधै घर पठाउन थालिएको हो । रिर्पोट पोजेटिभ देखिएका र उनको सम्पर्कमा रहेकालाई मात्र स्वाब संकलनका लागि राख्ने गरिएको छ । परीक्षणको सुरुवातदेखि नै मुलुकभर आरडीटी परीक्षणको रिर्पोट भरपर्दो मानिएको छैन । तैपनि आरडीटी रिर्पोटकै भरमा क्वारेन्टिनमा बसेकाहरुलाई घर पठाउन थालिएको छ । जसका कारण स्थानियबासीमा त्रास छाउन थालेको छ । सरकारले समुदायका जनताको स्वास्थ्यमा खेलवाड गरेको भन्दै स्थानियबासी आक्रोश पोख्न थालेका छन् । आरडीटी परीक्षणको रिर्पोट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्केनेहरु पनि ढुक्क देखिएका छैनन् । जिल्लाका ८ वटै स्थानिय तहमा गरि बिहिबार साँझसम्म १ सय ६२ वटा क्वारेन्टिन छन् ।

जसमा ४ हजार ९८४ जना मानिसहरु बसिरहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क अनुसार हालसम्म ४ हजार ४४१ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । भने पीसीआर विधीबाट १ हजार ४६८ जनाको मात्र परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार पीसीआर परीक्षणका लागि ४ वटा दायरा कायम गरिएको छ । उनका अनुसार आरडीटी पोजेटिभ देखिएका, आइसोलेसनमा रहेका, संक्रमित व्यक्तिको सम्र्पकमा रहेका र आइसोलेसनमा रहेको व्यक्तिको अन्तिम परीक्षणका लागि पीसीआर गरिने व्यवस्था छ । क्वारेन्टिनमा बसेकाहरुको पीसीआर परीक्षण गर्ने कुनै व्यवस्था छैन ।

क्वारेन्टिनमा बसेकाहरुको पीसीआर विधिबाट स्वास्थ्य परीक्षण नगरि घर पठाउदा समुदायमा जोखिम बढ्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । आरडीटी नेगेटिभ भएकाहरुलाई घरमा केही दिन सेल्फ क्वारेन्टाइनमा बस्न भनिएपनि सबैले यो नियम पालन नगर्ने स्थानियहरु बताउँछन् । स्थानिय शिक्षक जीवराज पौडेल भन्छन्, ‘क्वारेन्टिनमा बस्दा नै स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण गरेको भए व्यक्ति, परिवार र समुदाय सबै सुरक्षित हुने थिए । आरडीटी विधिबाट मात्र परीक्षण गर्दा शंक रहिरहने भयो ।’ आरडीटी रिर्पोट नेगेटिभ आएपछि घर फर्कनेहरुमा पनि खुशी देखिदैन । उनीहरु पीसीआर परीक्षण भइ दिएको भए ढुक्क हुने बताउँछन् । क्वारेन्टाइनबाट घर फर्कर्दै गरेका ठाकुरबाबा ९ का मुक्तराज खड्काले भने, ‘यतिका दिन क्वारेन्टिनमा बस्यौ । तै पनि ढुक्क भएर घर जान सकिएको छैन । पीसीआर परीक्षण भइ दिएको भए ढुक्क हुन्थ्यो ।’

पीसीआर विधीबाट आफुहरुको स्वास्थ्य परीक्षण नहुँदा झनै चिन्ता थपिएको क्वारेन्टिनबाट घर फर्कर्नेहरु बताउँछन् । ‘ठूलो जोखिम मोलेर लामो समय पछि भारतबाट आइयो । यहाँ आएर नियम अनुसार क्वारेन्टिनमा बसियो । आरडीटी मात्र परीक्षण गरेर घर जादैछौँ । पीसीआर विधिबाट परीक्षण नहँदा घर फर्कने बेला पनि मन खुशी छैन,’ क्वारेन्टिनबाट फर्कदैँ गरेका दिपेश थारुले भने । पछिल्लो समयमा क्वारेन्टिनमा रहेकाहरु प्रायः सबै भारतबाट आएका फर्केका हुन् । भारतको कोरोना ग्रसित शहर दिल्ली, मुम्बइजस्ता शहरबाट मानिसहरु घर आएका छन् । भारतबाट घर फर्केकाहरुमा कोरोना भाइरसको जोखिम उच्च रहेको मानिन्छ ।

केहिदिन यता भारतबाट घर फर्कनेहरुको लर्को छ । दिनहँ सयौँ मानिसहरु जिल्ला भित्रिरहेका छन् । तर जिल्लामा पिसिआर परीक्षणको दायर भने बढाइएको छैन । परीक्षणको दायर नबढाउँदा संक्रमणको जोखिम बढ्दै गएको छ । नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उपशाखाका सभापती यज्ञ नेपालले यो जिल्ला भारतीय सीमावर्ती जिल्ला हुनुका साथै रेड जोनको जिल्ला भएकाले यहाँ पीसीआरको दायर बढाउँनुका साथै पीसीआर ल्याब स्थापना गरिनु पर्ने र क्वारेन्टिनमा बसेकाहरुलाई अनिवार्य पीसीआर परीक्षण गरेर मात्र घर पठाउनु पर्ने बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २३ गते शुक्रबार